coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

क्याप्सन : ब्रसेल्समा भएको ब्रेक्जिटबारेको छलफलमा बेलायती प्रधानमन्त्री थेरेसा मे (बायाँ) र युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड जन्कर। तस्बिर  : बिबिसी

लन्डन – युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे यसअघि भएको सम्झौतालाई परिवर्तन गर्नेबारे बेलायती प्रधानमन्त्री थेरेसा मे र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ। 

वार्तापछि मे र जन्करले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा छलफल गहिरो भए पनि रचनात्मक भएको उल्लेख गरिएको छ। 

बेलायती प्रधानमन्त्री मेले चाहेजस्तो ब्रेक्जिट सम्झौता परिवर्तन नहुने वार्तामा युरोपेली आयोगका अध्यक्षले जोड दिएको बिबिसीले उल्लेख गरेको छ। यद्यपि उनले बेलायत र युरोपेली संघबीच भविष्यमा हुने सम्बन्धबारेको डकुमेन्टमा थप विषय थप्न भने युरोपेली संघ तयार रहेको बताए। 

‘बेलायती संसद्मा भएको घटनाविवरण प्रधानमन्त्री मेले सुनाउनु भयो। उहाँले बेलायती संसद् हाउस अफ कमन्समा  भएको मतदान पछाडिको उद्देश्य र संसद्ले ब्रेक्जिट सम्झौतामा परिवर्तन गर्नेबारे आफूलाई दिएको सुझावबारे पनि कुरा राख्नुभयो,’ युरोपेली संघको मुख्यालय ब्रसेल्समा भएको मे र जन्करबीचको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई नेताले भनेका छन्। 

प्रधानमन्त्री मेले देशको संसद्समक्ष प्रतिबद्धा गरेअनुसारको नयाँ सम्झौताबारे विभिन्न विकल्पसमेत पेश गरेको बताइएको छ। जन्करले भने युरोपेली संघका २७ राष्ट्रले  बहिर्गमन सम्झौता पुनः नखोल्ने विषयमा जोड दिए पनि बेलायतसँग युरोपेली संघको भविष्यमा हुने सम्बन्धबारेको बैठकका लागि भने सदैव तयार रहेको बताएको संयुक्त विज्ञप्ति उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

जन्करपछि बेलायती प्रधानमन्त्री मेले अब युरोपेली संसद्का अध्यक्ष एन्टोनियो ताजानी र युरोपेली संसद्कै ब्रेक्जिट कोअर्डिनेटर गाइ भेरहोफस्टाडटसँग पनि भेट गर्दै छिन्। 

त्यसपछि उनले युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कसँग पनि भेट गर्ने कार्यतालिका रहेको बिबिसीले उल्लेख गरेको छ। टस्कले बुधबार सुरक्षित तरिकाले ब्रेक्जिट दिनुको सट्टा अन्य अभियान चलाउनेका लागि ‘नर्कमा ठाउँ’ रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। सन् २०१६ मा भएको जनमतसंग्रहबमोजिम नै युरोपेली संघ छोड्नुपर्ने तर्क गर्दै आएका बेलायती सांसदले भने टस्को अभिव्यक्ति घमण्डीपनको पराकाष्ठा भएको आरोप लगाएका छन्। 

युरोपेली संघबाट बेलायतको बहिर्गमनपछि ब्रसेल्स र लन्डनबीच के कस्तो सम्बन्ध हुनेलगायतका अन्य विषयमा छलफल गर्न फेब्रुअरी महिनाको अन्त्यमा पुन भेट गर्नेबारे दुई नेताबीच सहमति भएको बिबिसीले उल्लेख गरेको छ। 
यसैबीच युरोपेली संघ र बेलायतको ब्रेक्जिट वार्ता टोलीबीचको बैठक पनि सुरु हुने बताइएको छ। बेलायती संसद्ले स्वीकार गर्न सक्ने र युरापेली काउन्सिलले दिएको मार्गदर्शनलाई पनि सम्मान गर्ने खालको बृहत् सहमतिको खाका तयार पार्नका लागि दुई टोलीबीचको छलफललाई निरन्तरता दिनेबारे तयारी भइरहेको छ। ब्रेक्जिट सम्झौताबारे बेलायतका ब्रेक्जिटमन्त्री स्टिभ बाक्र्ले र युरोपेली संघका वार्ताकार मिचेल बार्निएरबीच आउँदो सोमबार स्टार्सबर्गमा छलफल हुने तयारी भइरहेको बताइएको छ। 

बेलायत र युरोपेली संघबीचको व्यापार सम्झौतामा जे भए पनि आइरिस सीमाजाँचलाई रोक्नेबारेको योजनामा बेलायत नफस्ने प्रधानमन्त्री मेले जिकिर  गरेकी छन्। उनले बेलायती संसद्को समर्थन जित्ने हो भने ब्रेक्जिट योजनामा परिवर्तन गर्नुपर्ने समेत बताएकी छन्। 

यसअघि मे र युरोपेली संघबीच भएको बे्रक्जिट सम्झौता बेलायतको संसद्ले अस्वीकार गरेको थियो। संसद्ले सो सम्झौता अस्वीकार गर्दै प्रधानमन्त्री मेलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरेको छ।

प्रकाशित: २५ माघ २०७५ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App