coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाजुरामा पुनः हिमपात, जनजीवन कष्टकर

बडिमालिका नगरपालिका ७ स्थित सरस्वती माविका विद्यार्थी हिउँमाथि प्रार्थना गर्दै। तस्बिर : धर्मराज पाध्याय

बाजुरा - सातादिन पछि केहीदिन घाम लागेपनि फेरि बाजुरामा हिमपात सुरु भएको छ। हिमपात र बर्षासँगै बढेको चिसोले जनजीवन कष्टकर बनाएको छ। बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको हो। यस्तै जिल्लाको दक्षिणी भेगमा पानी पर्न थालेको छ।

हिमपातकै कारण पोरखे लेकमा बाटो बन्द भएको छ। जसका कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टाढिएको छ। हिमपात सुरु भएपछि कोल्टी एयरपोर्ट बन्द भएको छ। मौसम बिग्रिएसँगै कोल्टी र आसपासका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ।

मौसममा खराबी आउँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जीप सुचारू हुन नसकेको बाजुरा प्रहरी प्रमुख उद्ववसिंह भाटले बताए।

पुन: सञ्चार सेवा अनियमित
कोल्टी क्षेत्रमा पुनः सञ्चार सेवा अवरुद्ध बनेको छ। घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चार विहीन हुने गरेको छ। जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले बताएको छ। कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्। 

प्रकाशित: २४ माघ २०७५ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App