७ वैशाख २०८१ शुक्रबार
समाज

इलाम नगरले हटायो इन्धनको शुल्क

इलाम नगरपालिका कार्यालय। तस्बिर : भीम/नागरिक

इलाम – इलाम नगरपालिकाले पेट्रोलियम पदार्थमा लगाएको प्रदूषण शुल्क खारेज गरेको छ। संघीय सरकारले दुई दिनअघि स्थानीय तहलाई दिएको ३१ बुँदे सुझावपछि नगरले ६ महिनाअघि लिन थालेको शुल्क आउँदो फागुन १ देखि नलिने निर्णय गरेको हो।

‘गत भदौयता कार्यान्वयन भएको प्रदूषण शुल्क संघीय सरकारको सुझावअनुसार अब हटाउने नगर कार्यापालिका बैठकले निर्णय गरेको छ,’ बुधबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले भने, ‘हामीले यो शुल्क संघीय सरकारले नै भनेकाले लगाएका थियौं।’ नगरले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको थियो। इलाम नगरपालिकाका २ पेट्रोलपम्पमा उपभोक्ताले पेट्रोलियम किन्दा प्रतिलिटर ५० पैसा बढी तिर्नुपथ्र्याे। ‘नगरले लिने ५० पैसामध्ये १९ पैसा संघीय सरकारलाई दिने र ३१ पैसा मात्र नगरले राख्ने गरेको थियो,’ मेयर बस्नेतले भने।

भदौयता यो शुल्कवापत् ५ लाख रुपैयाँ संकलन भएको उनले बताए। नगरले प्रदूषण शुल्कबाट उठेको रकम वातावरण संरक्षण र प्रदूषण नियन्त्रणकै क्षेत्रमा खर्च गर्ने योजना बनाएको थियो। बुधबारको कार्यापालिका बैठकले घरबहाल कर पनि १० प्रतिशत तोकेको छ। यसअघि ७ प्रतिशत रहेको यो कर त्यसअघि १२ प्रतिशत थियो। ‘हामीले घरबहाल कर १२ प्रतिशतबाट ७ प्रतिशतमा झारेका थियौं तर नगरको आय घट्दै गएपछि पुनः यसलाई परिमार्जन गर्नुपरेको हो,’ मेयर बस्नेतले भने।

सरकारले मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिमार्फत् खर्च गर्न भनी नगरमा पठाएको ८० लाख रुपैयाँ प्रदेश सरकारतिर गएकाले नगरको बजेट पनि घटेको बताए। ‘नगरको कुल बजेट अब ८० लाख रुपैयाँ घटेको छ,’ उनले भने, ‘मेची पहाडीको बजेट नगरबाट प्रदेशमा गएर प्रदेश सरकारबाट मेची पहाडीमा आएको छ।’ कार्यपालिका बैठकले अपांगता परिचयपत्रसम्बन्धी कार्यविधि पास गरेको छ।

इलाममा मेडिकल कलेज खोल्न सरकारी कार्यदलले पनि यसअघि उपयुक्त भएको सिफारिस गरेपछि त्यसका लागि जग्गा व्यवस्थापनमा नगरपालिका जुटेको छ। बुधबारको बैठकले मेडिकल कलेजका लागि जग्गा व्यवस्थापन गर्न वडा ९ का वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा जग्गा व्यवस्थापन कार्यदल गठन गरेको छ। केही साताअघि इलाममा सरकारी मेडिकल कलेज खोल्न संघीय सरकारले सम्भाव्यता अध्ययन गरिसकेको छ। जिल्लाका सरोकारवालाको बैठकले पनि इलाममा सरकारी मेडिकल कलेज खोल्न सिफारिससहितको पत्र सरकारलाई पठाइसकेका छन्।

नगरले नगर सडक गुरुयोजना तयार गरेको छ। ‘नगर प्रोफाइल र जग्गा उपयोग प्रोफाइल पनि तयार गरिसकेका छौं,’ मेयर बस्नेतले भने, ‘अब आवधिक योजना मात्रै बनाउन बाँकी छ।’ उनले इलामलाई सघन सहरी विकास कार्यक्रमअन्तर्गत पर्यटकीय सहर बनाउने योजना आएपनि सरकारले बजेट नपठाएको बताए। कार्यक्रममा ‘एक सहर, एक पहिचान’ अवधारणाअनुसार इलामलाई पर्यटकीय बनाउने योजना उल्लेख छ।

प्रकाशित: २४ माघ २०७५ ०५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App