coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सहायता सामग्री सेनाको अवरोध

कोलम्बिया र भेनेजुएला जोड्ने टिएनडिटास पुलमा अवरोध सिर्जना गर्न सेनाले राखेको ट्यांकर ट्रक । तस्बिर : एजेन्सी

कराकस – भेनेजुएली नागरिकका लागि सहायता सामग्री बोकेर आएको कन्टेनरलाई सेनाले कोलम्बियासँगको सीमामा रहेको पुलमै रोकिदिएको विपक्षीहरुले बताएका छन्। 

आफूले आफैंलाई गत महिना भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले सो सहायता सामग्रीको व्यवस्थापन गरेका थिए। सहायता सामग्रीको व्यवस्थापन गरिए पनि ती सामग्री कसरी वितरण गरिन्छ भन्नेबारे भने प्रष्ट नभएको बिबिसीले उल्लेख गरेको छ। 

देशको सेनाको समर्थन पाएका राष्ट्रपति निकोलास मादुरोले ती सहायता सामग्री भेनेजुएलामा ल्याउन नदिएको बिबिसीले उल्लेख गरेको छ। लामो राजनीतिक गत्यावरोध र आर्थिक संकटका कारण दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा हाल मानवीय संकट उत्पन्न भएको छ। 

कोलम्बिया र भेनेजुएला जोड्ने टिएनडिटास पुलमा सेनाले ट्यांकर ट्रक र कार्गो कन्टेनर राखेर अवरोध सिर्जना गरेको विपक्षी राजनीतिज्ञ फ्र्यांकलीन डुआर्टेलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 
‘सशस्त्र फौजका सेनाले पुल बन्द गरेका छन्,’ उनले बताए। 

अन्य विपक्षी नेताहरुले भने सेनालाई सहायता बोकेर आएको ट्रकलाई सीमा पार गर्न दिन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ। ‘औषधी, खाद्यान्न र चिकित्सकीय सामग्री बोकेर ल्याएको ट्रकलाई अवरोध सिर्जना नगर्नुहोस् किनभने हामी सबैलाई थाहा छ देशका यी सबै सामान निश्चित मात्रामा मात्रै रहेका छन्,’ विपक्षी सांसद मिगेल पिज्जारोलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। 

कोलम्बिया र भेनेजुएलाको सीमामा पर्ने युरेना क्षेत्रमा स्थानीयावासीले सहायता सामग्री रोक्ने सेनासँग आमनेसामने भएका तस्बिर सामाजिक सञ्जालमार्फत् बाहिरिएका छन्। राष्ट्रपति मादुरोले मानवीय सहायता लिनु भनेको अमेरिकी नेतृत्वको हमलाको सुरु हुनु हो भन्दै कोही पनि भेनेजुएला छिर्न नसक्ने बताएका छन्। 

विपक्षी नेता गुआइडोले भेनेजुएलाको कुनै पनि भूभागमा नियन्त्रण गर्दैनन्, त्यसैले उनले आर्थिक संकट र विविध अभावका कारण देश छोडेर छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताइरहेका भेनेजुएली नागरिकलाई लक्षित गरेर सहायता सामग्री वितरण गर्ने योजना बनाइरहेको उनी निकट स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। 

नेता गुआइडोले भेनेजुएला वरपर तीनवटा केन्द्र बनाएर सहायता सामग्री संकलन गर्न आफूले अन्तर्राष्ट्रिय गठबन्धन बनाउने योजना पनि अघि सारेका छन्। उनले देशको सेनालाई त्यसो गर्न दिन पनि माग गरेको बिबिसीले उल्लेख गरेको छ। उनले यदि सहायता सामग्री वितरण गर्न नपाइए तीनलाख मानिसले अकालमा मृत्यु वरण गर्नुपर्ने अवस्था आउने भन्दै सेनालाई सहयोग गर्न आग्रह गरेका छन्। 

भेनेजुएलामा गत वर्ष राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको थियो। विपक्षीले बहिष्कार गरेको सो निर्वाचनमा मादुरोले जित निकालेका थिए। उनले त्यही जितको आधारमा दोस्रो कार्यकालका लागि जनवरी महिनाको सुरुमा शपथ लिएपछि भेनेजुएलाको राजनीतिक संकट थप गहिरिँदै गएको हो। दुई साताअघि राजधानी कराकसमा मादुरो नेतृत्वको सरकारको विरोधमा विपक्षीले गरेको प्रदर्शनमा विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। उनले देशको संविधान उद्धृत गर्दै राष्ट्रपति अवैधानिक भएका बेला राष्ट्रिय सभाका अध्यक्ष कार्यवाहक राष्ट्रपति हुने भन्दै आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। 

गुआइडोले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेलगत्तै संयुक्त राज्य अमेरिकाले उनलाई मान्यता दिएको थियो। अमेरिकाकै बाटो पछ्याउँदै क्यानडा र अधिकांश युरोपेली राष्ट्रले पनि विपक्षी नेता गुआइडोलाई नै भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएका छन्। विपक्षी नेताले हालसम्म प्रष्ट रूपमा ४० राष्ट्रको समर्थन पाएका छन्। 
राष्ट्रपति मादुरोलाई भने टर्की, चीन, रुस, मेक्सिकोलगायतका राष्ट्रले समर्थन गरेका छन्।

 

प्रकाशित: २४ माघ २०७५ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App