coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

संस्कृत विश्वविद्यायल ठप्प, तीन महिनादेखि तलब पाएनन् कर्मचारीले

काठमाडौं – चरम राजनीतिक हस्तक्षेपका कारण नेपाल संस्कृत विश्वविद्यालय लथालिङ्ग बनेको छ। विश्वविद्यालयका प्रध्यापक तथा कर्मचारीहरुले तीन महिनादेखिको तलब पाएका छैनन्। विश्वविद्यालयको शैक्षिक, प्रशासिनक तथा आर्थिक कार्यक्रमहरु ठप्प बनेका छन् भने साउनमै विश्वविद्यालय सभा बसेर टुंग्याउनुपर्ने विश्वविद्यालयको बजेट, शैक्षिक कार्यक्रम, शैक्षिक क्यालेन्डर निर्माण, रणनीति तयलगायतका काम पनि हुन सकेका छैनन्।

गत असारमा विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला क्यानाडामा भएको विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा उनलाई विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिनास्वीकृति भ्रमणमा जान लागेको आरोपमा एयरपोर्टबाटै फर्काए। त्यसपछि सुरु भएको उपकुलपति र कुलपतिबीचको जुँगाको लडाइँले विश्वविद्यालयका गतिविधि ठप्प भएको कर्मचारीहरु बताउँछन्।

एयरपोर्टबाटै फर्काइएपछि अन्तर्राष्ट्रिय स्तरमै अपमान भएको भन्दै कुलपति कोइरालाले कुलपतिलाई चेतावनी दिए। उनको चेतावनीपछि कुलपति ओलीसँग उनको भेट भएको छैन। उनीहरुबीचको शीत युद्धले विश्वविद्यालयको सभा बस्न सकेको छैन। असार साउनमा बस्नुपर्ने विश्वविद्यालयको ७२ औं सभा अझ बस्न सकेको छैन।

नेपाल संस्कृत विश्वविद्यालय प्रध्यापक संघका सभापछि शम्भु गौतमका अनुसार उपकुलपतिले कुलपतिसँग सभाका लागि समय माग गर्दा कुलपतिले भेटै नदिनु र उपकुलपतिले पनि सभाका लागि वातावरण बनाउन नसक्दा विश्वविद्यालय सबै गतिविधि ठप्प भएका छन्। ‘हामीले कार्यतालिका अनुसार आआप्mना जिम्मेवारी निर्वाह गरिरहेकै छौं,’ सभापति गौतमले नागरिकसँग भने, ‘विश्वविद्यालयमा आवश्यकता भन्दा बढी राजनीति हुन थालेको छ। मंसिरदेखि हामी शिक्षक कर्मचारीले तालब पाएका छैनौं। यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ ...’ उनका अनुसार विश्वविद्यालयका १ हजार १ सय ९१ शिक्षककर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्।

मंसिरदेखि हामी शिक्षक कर्मचारीले तालब पाएका छैनौं। यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ।

विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीले नेपाल संस्कृत विश्वविद्यालयको शिक्षक कर्मचारीहरुको बजेट विनियोजन भइसकेको भए पनि विश्वविद्यालयले बजेट पास गराउन नसक्दा कर्मचारीले तलब पाउन नसकेका हुन्। ‘नेपाल संस्कृत विश्वविद्यालयले विश्वविद्यालय सभाबाट बजेट पास गराउन सकेको छैन,’ सदस्यसचिव अधिकारीले नागरिकसँग भने, ‘विश्वविद्यालय सभाले बजेट पास नगरेसम्म आयोगले कुनै रकम निकासा गर्न सक्दैन।’

विश्वविद्यालयका रजिष्ट्रार कत्र्तिक्य झाले विश्वविद्यालयको उपकुलपति कुलप्रसाद कोइरालाले तीन पटकसम्म कुलपतिलाई विश्वविद्यालय सभाका लागि पत्र लेख्दा पनि कुलपतिले बेवास्ता गरेको बताए। ‘उपकुलपति कोइराला दुई पटक प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नुभयो। उहाँलाई केहीबेर कुराइयो र बिनाभेट फर्काइयो,’ रजिष्ट्रार झाले भने, ‘सहकुलपति शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई मैले नै भेटेर सभा बसाउने वातावरण मिलाउन अनुरोध गरें तर केही सुनुवाइ हुन सकेन।’ उनले थपे, ‘यो वर्षको कुनै पनि शैक्षिक कार्यक्रम समेत पास हुन सकेको छैन। एक वर्ष त कुलपति र उपकुलपति विवादले नै बित्यो। यस्तो अवस्थामा विश्वविद्यालयको प्राज्ञिक उन्नयन कसरी हुन्छ ...’ उनले कुलपति एवं प्रधानमन्त्रीले नेपाल संस्कृत विश्वविद्याललाई बेवास्ता गर्दै आएको बताउँदै सभाका लागि अझैसम्म पनि समय नदिएको स्पष्ट पारे।

विश्वविद्यालयका सहप्रध्यापक एवं नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका कोषाध्यक्ष नारायण बराल पदाधिकारी र सरकारबीचको राजनीति लडाइँले विश्वविद्यालयको हित नहुने बताउँछन्। ‘शिक्षक कर्मचारीको तलब शिघ्र निकासा गराउन सभा बसाउने वातावरण सरकार र पदाधिरी दुवैले गर्नुपर्छ,’ सहप्रध्यापक बरालले भने, ‘हाम्रा लागि विश्वविद्यालयको पदाधिकारी र सरकार दुवै सरकार हुन्।’

प्रकाशित: २४ माघ २०७५ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App