७ वैशाख २०८१ शुक्रबार
समाज

तेस्रोपटक म्याद गुज्रिँदा पनि पुल अधुरै

निर्माणका लागि पटकपटक म्याद थपिएको साप्सु खोलाको पुल। तस्बिर : दमन/नागरिक

खोटाङ – तेस्रो पल्ट थप भएको म्याद गुजिँरदा समेत खोटाङको रेग्मीटारस्थित साप्सु खोला पुल निर्माण सम्पन्न हुन सकेको छैन। सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने उक्त पुलको तेस्रो पल्ट थपिएको म्याद गत मंसिरमै सकिएको छ। ६५ मिटर लम्बाइको सो पुलले हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे जोड्छ।

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिएको भए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन। लगभग पुल तयार भए पनि पुलको वारि र पारि सडकसँग जोड्ने लिंक नहुँदा दिक्तेल–गाईघाट ओहोरदोहोर गर्ने सवारीसाधन जोखिम मोलेर खोला तर्न बाध्य छन्। पुल निर्माणको काम करिब दुई प्रतिशतमात्र बाँकी रहेकाले चाँडै पुल सञ्चालनमा आउने निर्माण कम्पनी देवसायर एन्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए। ‘पुल रङरोगन र साइडमा क्लियरेन्सको काममात्र बाँकी छ’, खत्रीले भने, ‘पुल सञ्चालनमा आउन अब धेरै समय लाग्दैन।’

दिक्तेलबाट गाईघाट पुग्ने सबैभन्दा छोटो दूरीको सडक खण्डमा पर्ने पुलको ढलान गत कात्तिकमै गरिएको भए पनि पुल र सडकलाई जोड्ने ग्याबिन पर्खाल हालसम्म बनाइएको छैन।

ठेकेदारको ढिलासुस्ती छँदैथियो, त्यसमाथि ढलानका लागि जडान गरिएको फलामे टसल (टेको) २०७४ वैशाख ६ गते र २०७५ वैसाख ४ गते आएको बाढीले बगाउँदा पुलको काम पछाडि धकेलिएको हो। ६ करोडमा १८ महिनाभित्र पूरा गर्नेगरी २०७१ सालमा सम्झौता भएको पुलको पटकपटक म्याद गुज्रिँदा पनि निर्माणको काम पूरा नहुँदा जिल्लावासी आक्रोशित छन्। निर्माण कम्पनीले आर्थिक वर्ष २०७४–७५ को असार मसान्तभित्रमा पुल निर्माणको काम पूरा गर्ने बताउँदै आएको थियो। ढिलै भए पनि पछिल्लो समय पुलले आशा जगाएको स्थानीयको भनाइ छ।

सुरुमा भएको सम्झौताअनुसार साप्सु पुल निर्माणको काम नभएपछि दोस्रोपल्ट थप भएको म्याद पनि २०७४ साल वैशाखमै सकिएको थियो। २०७३ साल कात्तिकमा थप भएको दोस्रो म्याद गुज्रिएपछि २०७५ साल मंसिरसम्मका लागि तेस्रो पल्ट म्याद थप पाएको निर्माण कम्पनीले जनाएको छ।

समयमा पुल निर्माण नहुँदा वर्षा याममा दिक्तेलबाट फोक्सिङटार हुँदै गाईघाट जाने र आउने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। दिक्तेलबाट उदयपुर पुग्ने सबैभन्दा छोटो मार्गका रुपमा रहेको पुल सम्झौता अवधिमा निर्माण नहुँदा जिल्लामा हुने सार्वजनिक कार्यक्रममै आवाज उठ्ने गरेको छ। पुल निर्माणको काममा ठेकेदार कम्पनीको चरम ढिलासुस्ती देखिएको स्थानीयको गुनासो छ। पुल निर्माण नहुँदा हिँउदभर सञ्चालन हुने दिक्तेल–रसुवाघाट सडक वर्षा लागेसँगै बन्द हुने गरेको छ। ठेकेदारले नियतवश पुल निर्माणमा ढिलाइ गरिरहेको राजापानीका स्थानीय पुण्य रेग्मीले बताए।

प्रकाशित: २४ माघ २०७५ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App