७ वैशाख २०८१ शुक्रबार
समाज

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : असारमा परीक्षण उडान

गौतम बुद्ध विमानस्थलको निर्माणाधीन कन्ट्रोल टावर। तस्बिर : मोहम्मद/नागरिक

भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो।

‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ।

उनका अनुसार मुख्य धावनमार्गको काम धमाधम भइरहेको छ। तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा कालोपत्रे गर्नुपर्छ। अहिले धावनमार्गको दुई तहको कालोपत्रे पूरा गरेर तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम सकिएको छ। धावनमार्गमा एक फिट मोटाइ कालोपत्रे गर्नुपर्छ। त्यसमा कठिन मानिने पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। अधिकारीले भने, ‘अबको १० दिनमा तेस्रो तहको कालोपत्रे सम्पन्न गरी अन्तिम तहको कालोपत्रे १५ कार्य दिनभित्र सम्पन्न हुन्छ।’

‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’

ट्याक्सी वेको काम रात्रिकालीन समयमा पनि भइरहेको छ। धावनमार्गको कालोपत्रे सकिँदासम्म ट्याक्सी वे पनि पिच भइसक्ने उनले बताए। विमानस्थलको एपरोन (विमान पर्किङ) को काम सम्पन्न भइसकेको छ। टर्मिनल भवन र प्रशासनिक भवनको प्लास्टर गरी टायल–मार्बल बिछ्याउने काम भइरहेको छ। यस्तै कन्ट्रोल टावरको अन्तिम तलाको काम भइरहेको आयोजनाले जनाएको छ।

प्रस्थानतर्फको ढलानको काम सकिएको छ। विद्युत् सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानीट्यांकी, सुरक्षाकर्मी आवासगृह निर्माण भइरहेको छ। एयर ट्राफिक कन्ट्रोलको उपकरण उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रिया सुरु भएको छ।

विमानस्थलमा कार्गो भवनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। करिब एक अर्ब रुपैयाँ लागतमा उक्त भवन बन्दैछ। मन्त्रालयले पनि विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाएको छ। ‘नियमित रूपमा प्रगति विवरण पठाइरहेका छौं। आएको समस्या समाधान गर्न सबै सरोकारवाला निकाय सक्रिय छन्’, अधिकारीले भने।

१० हजार रोपनीमा फैलिएको विमानस्थलमा राडर, सुरक्षा, ह्यांगर, आयल निगम डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनाउन बाँकी छ। विमानस्थलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता छ।

त्रिभुवन विमानस्थलमा आउने एयर बस ३३०, बोइङ ७७७ लगायतका जहाज यहाँ अवतरण गर्न सकिन्छ। त्रिभुवन विमानस्थलभन्दा यहाँको टर्मिनल भवन केही सानो भए पनि अन्य भौतिक संरचना स्तरीय छन्। टर्मिनल अत्याधुनिक प्रविधिको भए पनि एरोब्रिजको कन्सेपट नभएकाले जहाजसम्म गाडी चडेर वा हिँडेर जानुपर्ने हुन्छ। ‘विमानस्थलको कालोपत्रेको आयु १५ वर्षको छ। निर्माण काममा प्रयोगशाला परीक्षण गरिएका सामग्री मात्र प्रयोग गरेका छाैं’, उनले भने।

छ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई काम सुरु भएको आयोजनाको लागत अहिलेसम्म ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार आठ सय ८४ रुपैयाँ ३२ पैसा पुगेको छ। केही काम थप भएकाले लागत बढेको आयोजनाले जनाएको छ।

सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ। सन् २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपिएको थियो। सो अवधिमा काम सम्पन्न हुन नसक्दा सन् २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थपिएको थियो।

विमानस्थल निर्माण भएपछि सरकारले लक्ष्य लिएको पर्यटन वर्ष २०२० लाई सघाउनेछ। यस अतिरिक्त गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सोझै आउन सक्ने वातावरण बन्नेछ भने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हुने विमानको चाप घटाउन सकिनेछ।

जिटुजी कि पिपिपी मोडल

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि निर्माणपछि विमानस्थल सञ्चालन कुन मोडालिटीमा गर्ने भन्ने विषयमा अन्योल छ। विमानस्थल जिटुजी अथवा पिपिपी कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसके पनि विमानस्थल सञ्चालन विदेशी कम्पनीलाई दिने निश्चित भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी (पब्लिक प्राइभेट पाटनरसिप) मा सञ्चालन गर्ने योजना बनाइरहेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरण (गभर्मेट टु गभर्मेट) जिटुजी मोडलमा सञ्चालनमा ल्याउने तयारीमा छ। मन्त्री अधिकारीका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि कतार, साउदी अरब, जर्मनीलगायत विमानस्थलबाट चासो देखाइएको छ।

प्रकाशित: २४ माघ २०७५ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App