७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिसका दिनेशलाई सफलता

काठमाडौं – राष्ट्रिय टिमका पूर्वसदस्यसमेत रहेका नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा वसन्तपुरको डबलीमा भएको च्याम्पियनसिपअन्तर्गत पुरुष ६० केजी तौलसमूहको खेलमा दिनेशले गण्डकी प्रदेशका जिनेश गुरुङलाई स्कोरको आधारमा हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन्। दिनेशले फाइनल प्रवेशका लागि एपिएफका प्रकाश लिम्बुविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। प्रकाशले पनि प्रदेश–७ का भरत चन्दलाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरे।

सोहि तौलसमूहको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र प्रदेश–५ का गणेश थापामगर भिड्ने भएका छन्। बुधबारको खेलमा एकबहादुरले प्रदेश–३ का सनील शाहीलाई हराए भने गणेशले प्रदेश–२ का सुदीप घिसिङलाई हराएका थिए। पुरुष ५६ केजी तौलसमूहमा एपिएफका पुरन राईले प्रदेश–१ का सुरेन्द्र राईलाई र प्रदेश–२ का गणेश थापाले प्रदेश–५ का नवीन घर्तीलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे।

सोही तौलसमूहमा प्रदेश–७ का महेन्द्र चन्दले पुलिसका शम्भु राजवंशीलाई र आर्मीका विमल रोकाले प्रदेश–६ का प्रशान्त लामाको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाए। पुरुष ५२ केजीमा आर्मीका प्रेम चौधरी, प्रदेश–१ का सुलभराज तुलाधार, पुलिसका चन्द्रबहादुर थापा र एपिएफका विक्रम परियारले पनि अन्तिम चारमा स्थान बनाए।

सेमिफाइनलको यात्रा तय गर्न आर्मीका प्रेमले प्रदेश–५ का समीर चौधरी, प्रदेश–१ का सुलभराजले कर्णाली प्रदेशका जीवन पुनमगर, पुलिसका चन्द्रबहादुरले प्रदेश–७ का सागर मल्ल र एपिएफका विक्रमले प्रदेश–३ का मिङमार ग्याल्जेन शेर्पालाई हराए। पुरुष ४९ केजीमा एपिएफका प्रदीप महर्जनले प्रदेश २ का पवन श्रेष्ठ तथा आर्मीका सुशील थापाले प्रदेश–३ का मदनकृष्ण डंगोललाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाए।

सोही तौलमा प्रदेश–७ का भानु विष्टले प्रदेश–५ का सुरज ओलीलाई नकआउट गर्दा कर्णाली प्रदेशका मोहन गुरुङले पुलिसका दीपेश राईलाई स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाए। महिलातर्फ ४६–४८ केजी तौलसमूहमा पुलिसका दिवाना शेर्मा, आर्मीकी ललिता महर्जन, प्रदेश–३ की सुष्मा तामाङ र प्रदेश–५ की सुशीला थापाले सेमिफाइनलमा स्थान बनाए।

सेमिफाइनलको यात्रा तय गर्न पुलिसकी दिवानाले एपिएफकी नाङ्जा बुढामगर, आर्मीकी ललिताले प्रदेश–१ की मञ्जिता माखिम, प्रदेश–३ की सुष्माले कर्णाली प्रदेशकी जानकी थापा तथा प्रदेश–५ की सुशीला थापाले प्रदेश–७ की प्रतिभा शाहीलाई स्तब्ध बनाए। महिलाकै ४८–५१ केजी तौलसमूहमा आर्मीकी विमला श्रेष्ठले प्रदेश–२ की मनीषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन्।

गण्डकी प्रदेशकी मीना घले, प्रदेश–३ की रोशनी राई र एपिएफकी माला राई पनि सेमिफाइनलमा पुगेका छन्। मीनाले कर्णाली प्रदेशकी सुष्मा पुनमगर, रोशनीले प्रदेश–५ की विमला थापामगर र मालाले प्रदेश–१ की अरुणा योञ्जनलाई हराए। महिला ५१–५४ केजी तौलसमूहमा एपिएफकी सञ्जुमाया थिङ, प्रदेश–२ की तेजी गुरुङ र पुलिसकी निशा तामाङ पनि सेमिफाइनलमा पुगेका छन्।

तेजीले प्रदेश–३ की शिवानी श्रेष्ठ, निशाले प्रदेश–१ की चन्द्रकला रार्ई र सञ्जुमायाले प्रदेश–७ की हरिना ऐयरलाई स्तब्ध बनाए्। महिला ६०–६४ केजी तौलसमूहमा आर्मीकी पुनम रावलले प्रदेश १ की त्रिशा जबेगुलाई, कर्णाली प्रदेशकी अश्मिता चन्दले प्रदेश–५ की माया चौधरीलाई र एपिएफकी सरस्वती रानाले प्रदेश–३ की अम्बिका विकलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए।

माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा तौलसमूहगत स्वर्ण विजेताले २५ हजार, रजतले १५ हजार तथा कांस्य पदक प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउनेछन्। उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमशः स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन्।

प्रकाशित: २४ माघ २०७५ ००:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App