coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टाइब्रेकरबाट मनाङ सेमिफाइनलमा

मनाङका कप्तान सुजल श्रेष्ठ (हरियो) को हेडिङ प्रहार रोक्ने प्रयास गर्दै। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – टाइब्रेकरबाट दश खेलाडीमा सीमित ब्रिगेड ब्वाइजलाई ५–४ ले पाखा लगाउँदै लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बुधबार मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित र थपिएको समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाइब्रेकरमा पुगेको थियो।

पेनाल्टी सुटआउटमा ब्रिगेड ब्वाइजका पदम भट्टराईको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरेपछि टोलीको सेमिफाइनल प्रवेश सहज बन्यो। मनाङका लागि अन्तिम तथा पाँचाैं पेनाल्टी सुरज विश्वकर्माले प्रहार गर्दै गोल गरेपछि मनाङले ढिलै भए पनि पोखराको मैदानमा सेमिफाइनल प्रवेशको खुसीयाली मनायो। पेनाल्टीमा मनाङका लागि कप्तान सुजल श्रेष्ठ, हेमन्त गुरुङ, कमल श्रेष्ठ र प्रकाश बुढाथोकीले गोल गरे। ब्रिगेडका लागि रन्दिप पौडेल, सुरज ठकुरी, जय गुरुङ र मनोज राईको प्रहारले सही दिशा लिएको थियो।

खेल सकिन दुई मिनेट बाँकी रहँदा गोलकिपरले रातो कार्ड खाँदै बाहिरिएपछि ब्रिगेड ब्वाइजले लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दीलाई नतिजा सुम्पिन थप समय लगायो। दोस्रो हाफमा कमब्याक गर्दै बराबरीमा टुंगिएपछि बिग्रेडले अतिरिक्त समयमा भने १० खेलाडीमार्फत चुनौती सामना गर्यो।

पेनाल्टी सुटआउटमा ब्रिगेड ब्वाइजका पदम भट्टराईको प्रहारलाई मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाउ गरेपछि टोलीको सेमिफाइनल प्रवेश सहज बन्योे।

खेलको ८८औं मिनेटमा ब्रिगेड ब्वाइजका गोलकिपर लक्कीकुमार कार्कीले रातो कार्ड खाएपछि दश खेलाडीमै थप समय गुजार्यो। मनाङका स्ट्राइकर ओलावालेलाई बिट गर्ने क्रममा अगाडि बढेका गोलकिपर कार्कीले डी बक्स लाइनभन्दा बाहिर क्याच गरेपछि रेफ्रीले रातो कार्ड देखाइदिए। रातो कार्डसँगै ब्रिगेड ब्वाइज पोखराको मैदानमा बुधबार मनाङविरुद्धको अन्तिम क्वार्टरफाइनल खेल दश खेलाडीमा टुंग्याउन पुग्यो।

मनाङलाई खेलमा फर्किन ६७ मिनेट लाग्यो। पहिलो हाफमै पछि परेको मनाङका लागि विमल रानाले गोल गर्दै खेल बराबरीमा ल्याए। ओलावालेले डी बक्सभित्र मिलाइदिएको हेड पासलाई रानाले फस्ट बार च्याप्दै हिर्काएको बल गोलमा परिणत भएपछि मनाङ लयमा फर्किएको थियो। यसअघि खेलको १५औं मिनेटमा रितिक खड्काले दुई डिफेन्सलाई बिट गर्दै सेकेन्ड बार च्यापेर हानेको बल बारमा ठोक्किँदै जालीको सम्पर्कमा पुगेपछि ब्रिगेड ब्वाइजले खुसीयाली मनाउने सौभाग्य पाएको थियो।

मध्यान्तर हुनुअघि ब्रिगेड ब्वाइजको राम्रो अवसर गुम्यो। अतिरिक्त समयमा आशिष चापागार्इंको पासलाई रितिक खड्काले फ्लिक गरेको बल क्रसबारमाथिबाट बाहिरिएको थियो। मनाङले पनि केही अवसरलाई पहिलो हाफमा गुमाउँदा एक गोलले पछि पर्दै दोस्रो हाफ सुरु गर्नुपर्यो। १८औं मिनेटमा कमल श्रेष्ठकै लङपासमा सुजल श्रेष्ठले हानेको प्रहार खेर गएको थियो।

मनाङका मिडफिल्डर हेमन्त गुरुङले हानेको फ्रिकिक ब्रिगेडका गोलकिपर लक्कीकुमार कार्कीले उत्कृष्ट बचाउ गर्दै कर्नरको अवसर दिए। कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिक पनि ब्रिगेडको मानव वाल भत्काएर बल पोस्टसम्म पुग्नै सकेन। पेनाल्टी जोगाएका मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकानमना दर्शन प्रालिको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आयोजित पोखरा कपको छैटौं सस्करण मनकामना केवलकार पोखरा कपअन्तर्गत बिहीबार पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जापानको रिस्हो विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २४ माघ २०७५ ००:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App