७ वैशाख २०८१ शुक्रबार
खेल

डीपीएल क्रिकेटको तयारी पूरा, विजेतालाई ३० लाख पुरस्कार

फाप्ला क्रिकेट मैदान। तस्बिर : दिलबहादुर/नागरिक

काठमाडाैं – धनगढी प्रिमियर लिग (डिपिएल) को तेस्रो संस्करण अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि प्रस्तावित गरिएको फाप्ला क्रिकेट मैदानमा माघ २६ गतेदेखि सुरु हुँदै छ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी फागुन ११ गतेसम्म सञ्चालन हुने खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। प्रतियोगिताले केही साताअघि आइसिसीबाट मान्यता प्राप्त गरेको थियो।

‘सबै तयारी पूरा भएको छ। मैदानलाई बेहुलीझैं सिँगार्न मात्र बाँकी छ,’ क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने। यसअघिका दुई संस्करण धनगढी बजारको मध्यभागमा रहेको संघीय प्रहरी एकाइको मैदानमा आयोजना गरिए पनि यस पटक धनगढी उपमहानगरपालिका– ३ मा पर्ने फाप्ला क्रिकेट मैदानमा आयोजना गरिन लागेको हो।

फाप्ला मैदानको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न र क्रिकेटप्रेमी दर्शक यहाँ आउने बुझेर यस पटकदेखि खेल यहाँ आयोजना गर्न लागिएको शाहीले बताए। मैदानमा फलामबाट निर्मित प्यारापिट बनाउने काम भइरहेको छ। मैदानमा ५ हजार दर्शकले हेर्ने गरी प्यारापिट तयार गरिएको उनले बताए। मैदान तथा प्राविधिक व्यवस्थापनका काम सकिएको उनको भनाइ थियो।

मैदानमा फलामबाट निर्मित प्यारापिट बनाउने काम भइरहेको छ। ५ हजार दर्शकले हेर्ने क्षमताको प्यारापिट तयार गरिँदै छ।

मैदान तथा ५ वटा पिच निर्माण सम्पन्न भइसकेका छन्। प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि काम गरिरहेका छन्। ‘म्याच अफिसियल धनगढी आइपुगेका छन्,’ उनले भने। युएईविरुद्धको ऐतिहासिक एकदिवसीय र टि–२० शृंखला जितेपछि धनगढीमा खेल्ने खेलाडीले स्थानीय दर्शकलाई रोमाञ्चित पार्नेमा विश्वस्त रहेको उनको भनाइ छ। ‘क्रिकेटलाई अझ योजनाबद्ध र व्यावसायिक हिसाबले लैजानका लागि यो खेलमा पुरस्कार राशि वृद्धिसँगै गुणस्तर बढाउन पनि ध्यान दिएका छौं,’ उनले भने।

रुस्लान डिपिएल ३ मा धनगढी स्टार्स, रूपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किङ्सको सहभागिता रहनेछ। सबै टोलीमा १२ जना अक्सनबाट लिइएका खेलाडी (स्थानीयसहित), एक रणनीतिक खेलाडी र दुई जना विदेशी खेलाडी रहनेछन्।

प्रतियोगिताको गुडविल एम्बास्डरमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स छन्। रोड्स माघ २४ गते धनगढी आउने बताइएको छ। प्रतियोगिताको पुरस्कार राशिमा यस पटक बीस प्रतिशत बढाइएको उनले बताए। प्रतियोगिताको कुल पुरस्कार राशि ६० लाख रुपियाँ रहेको उनले बताए। विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन्। यस्तै प्रतियोगिताको गोल्ड स्टार मोस्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइने उनले बताए।

प्रत्येक खेलका नबिल बैंक म्यान अफ दी म्याचलाई १५ हजार, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए। डिपिएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ लागत खर्च हुने अनुमान गरिएको उनको भनाइ छ।

पहिलो संस्करणको डिपिएलको बजेट १ करोड ८२ लाख रहेकोमा कुल पुरस्कार २८ लाख ५० हजार रुपैयाँ थियो। यसै गरी तीन करोड लागतमा सम्पन्न दोस्रो संस्करणमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको अध्यक्ष शाहीले बताए। प्रत्येक खेलमा खेलाडीले प्रहार गरेको पहिलो क्याच समात्ने दर्शकलाई १० हजार पुरस्कारको व्यवस्था गरिएको उनले बताए। दर्शकहरूले टिकट काटेर खेल हेर्न पाउनेछन्। प्रतियोगिता टि–२० को आधारमा हुनेछ। लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्नेछन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।

प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी १ पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान गर्ने १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १–१ लाख रुपैयाँ प्रदान गर्ने शाहीले बताए।

प्रकाशित: २४ माघ २०७५ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App