राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

बुधबार, २३ माघ २०७५, ०८ : ३२ आर. सि. न्यौपाने

नेपाल भूमि मानव सभ्यताको केन्द्रभूमि हो। किनकि यहाँको मानवीय सभ्यता, धर्म, कला, संस्कृति राष्ट्रियता विश्वकै पुरानो आदर्शका रूपमा प्रतिविम्बित रहेको पाइएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, ‘संसारमा पवित्र हिमाल छ। त्यसको वरिपरि एक योजनदेखि पाँच योजनसम्म घेरा भएका मेरु (पर्वत) शृङखलाहरू छन्। यिनै पर्वत मालाबाट विप्र (सभ्य आर्य) मानवको उत्पत्ति भएको हो।” भन्ने उल्लेख छ। यस भनाइबाट मानव सभ्यताको उत्पत्ति स्थल वैदिक सभ्यताको केन्द्र नेपाल हो भन्ने पुष्टि भएको छ।

यसै सन्दर्भमा मानव सभ्यताको बारेमा अनुसन्धान अन्वेषण गरिरहेका वैज्ञानिक डा.मन्थे एवं उनको टिमले नेपालको रुपन्देही तिनाउ खोलाको पासमा रामापिथेकसको दाँतको अवशेष फेला पारे। सो अवशेष १ करोड १ लाख वर्ष पुरानो भन्ने प्रामाणिकताले पनि मानव सभ्यताको उत्पत्ति स्थल नेपाल भूमि हिमवत्खण्ड नै हो भन्ने दरिलो सबुत छ। यसै सन्दर्भमा पुरातत्वविद् तथा युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक मार्क अल्डेन डर्पmरले नेसनल जियोग्राफिक च्यानलसँग दिएको अन्तर्वार्तामा इपू २३ हजार वर्ष पुरानो सभ्यता रहेको नेपालको मुस्ताङ क्षेत्र पुरातात्विक हिसाबले स्वर्ण भूमि हो।

त्यहाँ मानव उत्पत्ति र सभ्यता विकासका असंख्य तथ्य प्रमाणहरू भेटिन सक्छन् भनी अभिव्यक्त गरेका विचारले यस क्षेत्रको मानव सभ्यताको महत्व उजागर गरेको छ। यसरी निश्चित भौगोलिक स्वरूप, इतिहास, सीमा, धर्म, संस्कृति, जनसंख्या, भाषा, आर्थिक प्रणाली, समाजिक संरचना, राजनीतिक चरित्र बोकेर स्वतन्त्र रूपमा राज्य व्यवस्था सञ्चालित हुँदै आएको मुलुक नेपाल राष्ट्र हो। यो राष्ट्र बहुजाति, भाषा, धर्म, संस्कृति आदि विविधताबाट समिश्रित र अन्तरघुलित बस्ती विकासको सद्भाव, सहिष्णु सामाजिक संरचनाबाट गतिवान् छ।

देशको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता अक्षुण्ण राख्न राष्ट्रियताभित्र संस्कृति र संस्कृतिभित्र राष्ट्रियता अन्तर्घुलित हुुनुपर्छ।

राष्ट्रको स्थापना गरेपछि राष्ट्र धर्म निर्वाह गर्नुपर्नेमा हाम्रा पौरस्त्य विद्वान्हरूले राष्ट्रियताको सम्बन्धमा जनतालाई जागरुक गराउँदै राष्ट्रप्रतिको आम नागरिकहरूको दायित्व बोध तथा धर्म बोध गराउने मन्त्रहरू प्रतिपादन गरेर राष्ट्र धर्मको वकालत गरेका छन्।” उप सर्प मतर्र भूमिम” (ऋग्वेद १०–१८–१०) अर्थात् यसको अर्थ “मात्रिभूमिको सेवा गर।” “यति महि स्वराज्य” (ऋग्वेद ५–६६–६) अर्थात् यसको अर्थ “स्वराज्यका लागि सधैँ प्रयत्न गरौँ।” “वयं राष्ट्रे जागृयाम पुरोहिता” (शुक्ल यजुर्वेद ९–२३) अर्थात् यसको अर्थ “समाज र चिन्ताशील बनेर देशप्रति बफादार भई राष्ट्रको रक्षा र अग्रगामी विकासका लागि जाग उठ।” यही नै हाम्रो राष्ट्रको मूल परिचय हो।

राष्ट्रियता
राष्ट्रप्रतिको माया, कर्तव्यबोध, जवाफदेहिता, आत्मिक भौतिक जीवन पद्धतिको लयबद्ध देशभक्तिपूर्ण, प्रगाढताको मूल्यबोध नै राष्ट्रियता हो। अर्को शब्दमा राष्ट्रभित्र बसोवास गर्ने सबै वर्ग, क्षेत्र, लिङ्ग, जातजातिको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय समानता र स्वतन्त्रताको समानुपातिक विकास एवं अधिकारको समष्टि भावना राष्ट्रियता हो। सबै जनसमुदायको इतिहास, राजनीति, अधिकार कर्तव्यहरूको उचित पहुँच तथा सभ्यताको केन्द्रीकृत रूप खँदिलो राष्ट्रियता हो। राष्ट्रियता राष्ट्रसँग अभिन्न ढङ्गले जोडिएको हुन्छ। विश्वमा राष्ट्रवाद तथा राष्ट्रियताको बहसको आरम्भ सन् १६१८–१६४८ सम्म चलेको युरोपियन युद्धको अन्त्यपश्चात् वेस्टफालिया सन्धिपछि सुरु भएको हो। नेपालको सन्दर्भमा राष्ट्रियताको पृष्ठभूमि राष्ट्रको उदयसँगै जोडिन्छ। विशेषतः सन् १८१६ को अंग्रेज–नेपालबीचको कथित सुगौली सन्धिपश्चात् नेपालले दुई तिहाइ भू–भाग गुमाउनु पर्यो। षड्यन्त्रपूर्ण ढङ्गले नेपाललाई फसाइएको सुगौली सन्धिको पीडाको आलो घाउबाटै नेपाली राष्ट्रियताको रक्षाको विषयको अभियानले उचो रूप लिँदै आएको इतिहास हाम्रो राष्ट्रियताका तीतो अनुभूतिसहितको पृष्ठभूमि हो।

एकाधिकार दलाल पुँजीवादगामीहरूले नेपाली जनतामाथि जबर्जस्त थोपरेका अन्याय, अत्याचार, दमन, शोषण, उत्पीडनका कारण पनि नेपाली राष्ट्रियतामाथि चुनौती थपिएको छ। हाम्रा शासकहरूले राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिई निजी स्वार्थको आहलमा डुबेर देश र जनताप्रति बेइमानी गरेका छन्।

चुनौती
 राष्ट्रको उदयसँगै राष्ट्रियताको सवाल पनि सँगै उठ्छ। राष्ट्रको उत्पत्तिसँगै शासक र शासित वर्गको पनि उत्पत्ति हुन्छ। राष्ट्र शासक (सरकार) वर्गको मात्र नभई शासित (जनता) वर्गको पनि हो। त्यसैले राष्ट्रियताको रक्षाको विषयमा शासक र शासित दुवैको भूमिका महत्वपूर्ण रहने गर्छ। राष्ट्रियताको रक्षा, विकास एवं संवद्र्धनविना राष्ट्रमा शान्ति, स्थिरता र समृद्धि असम्भव हुन्छ। समग्र राष्ट्रको उज्ज्वल भविष्यका लागि राष्ट्रियताको रक्षा मुलुकको अनिवार्य सर्त हो। राष्ट्रिय स्वाभिमान, अखण्डता, सार्वभौमिकता, स्वतन्त्रता, राष्ट्रियताका अभिन्न अङ्ग हुन्, यिनको रक्षा अहं हुन्छ। राष्ट्रियतामाथि बाह्य र आन्तरिक गरी दुई खालको चुनौती देखा पर्दै आएको छ।

बाह्य : वैदेशिक शक्ति राष्ट्रहरूद्वारा नेपालको राष्ट्रियतामाथि यो वा त्यो कोणबाट थोपरिएका हस्तक्षेप एवं प्रभुत्व हाम्रो राष्ट्रियता माथिको बाह्य चुनौती हो। विशेष गरी नेपालको आन्तरिक मामलामा इन्डो–पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो रणनीतिक स्वार्थ पूर्ति गर्ने दाउपेच खेलिरहेको छ र यस कुकृत्य पछिल्ला घटनाक्रमहरूबाट पुष्टि हुँदै आएको छ। खास गरेर नेपालको हित विपरीतको सन् १८१६ को कथित सुगौली सन्धि होस् या त्यसदेखि यताका भारतसँग गरिएका कुनै पनि सन्धि सम्झौता नेपालको हितमा छैनन्, यी सन्धिका कारण नेपाली राष्ट्रियतामाथि चुनौती थपिएको छ।

सीमा अतिक्रमण, नागरिकता अतिक्रमण,  असमान सन्धि सम्झौता, राजनीतिक हस्तक्षेप, सांस्कृतिक हस्तक्षेप, प्रशासनिक हस्तक्षेप, सुरक्षा हस्तक्षेप, जलस्रोतमा हस्तक्षेप, भूपरिवेष्ठित राष्ट्रले पाउने अन्तर्राष्ट्रिय पारवाहनमा अवरोध, सीमामा नेपाली भूमि डुबान गराउने गरी अनधिकृत रूपमा बाँध निर्माण कार्य आदि नेपालको राष्ट्रियतामाथिको भारतीय, शासक वर्गको गम्भीर चुनौती हो। त्यस्तै पश्चिमा साम्राज्यवादी शक्तिद्वारा पनि सीधा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुर्याउने काम भएको छ।

विशेष गरेर पश्चिमाहरूले नेपालको संविधान निर्माणमा गलत एजेन्डा धर्म निरपेक्षतालगायतका जातिवादी÷क्षेत्रवादी मुद्दाहरू उठान गराएर मिलेर बसेको सद्भावपूर्ण नेपाली समाजमा द्वन्द्व कलहको बीजारोपण गर्न सफल भएका छन्। एनजिओ आइएनजिओले चलाएका समानान्तर सत्ता यसको ज्वलन्त उदाहरण हो। यिनै सञ्जालमार्फत सञ्चालित नेपालको एक चीन नीति विरुद्धका गतिविधि होस् या राज्यका हरेक अंगलाई नियन्त्रित निर्देशित गर्ने प्रवृत्तिलाई हाम्रो राष्ट्रमाथिको बाह्य हस्तक्षेपका रूपमा बुझ्नुपर्छ।

आन्तरिक : नेपाल राष्ट्रको विखण्डन र विसर्जन गर्न डलर, युरो र पाउन्डको खान्कीमा उद्यत नेपालका जातिवादी, क्षेत्रवादी, पृथकतावादी, साम्प्रदायिकतावादी, विसर्जनवादी, राष्ट्रिय आत्मसमर्पणवादी शासक वर्ग, राजनीतिक दलका केही कथित नेतृत्वहरूको कारण राष्ट्रले भोग्नुपरेको सास्ती हाम्रो राष्ट्रियतामाथि आएको आन्तरिक चुनौती हो। एकाधिकार दलाल पुँजीवादका भरौटेहरूले नेपाली जनतामाथि जबर्जस्त थोपरेका अन्याय, अत्याचार, दमन, शोषण, उत्पीडनका कारण पनि नेपाली राष्ट्रियतामाथि चुनौती थपिएको छ। हामीले विश्वास गरेका नेतृत्व आज इन्डो पश्चिमाका अर्दलीजस्ता देखिन पुगेका छन्। हाम्रा शासकहरू तथा नेतृत्वहरूले राष्ट्रिय स्वार्थलाई तिलाञ्जलि दिई आफ्ना निजी स्वार्थप्रतिको आहलमा डुबेर देश र जनताप्रति गद्दारी गरेका छन्।

घुसखोरी, कमिसनतन्त्र भ्रष्टाचार, गुण्डागर्दी, दलालीकरण, परिवारवाद, वर्ग समन्वयवादी, आत्मकेन्द्रित अवसरवादी चरित्रका कारण केही मूल नेतृत्वहरू जनताको नजरमा गिरेका छन् र राजनीतिक दलीय प्रणालीको खिल्ली उडाइरहेका छन्। यस्तो रवैयाबाट मुलुक गम्भीर राष्ट्रिय संकटमा परेको छ।  राजनीतिक दलका नेतृत्व मात्र नभएर राज्यका अङ्गहरूका नेतृत्व सम्हालेका प्रशासकहरू पनि राष्ट्रियताका सवालमा गम्भीर छैनन्। नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र घुसखोरी कमिसनतन्त्र एवं भष्ट्राचारमा माथि देखि तलसम्म संगठित सञ्जाल निर्माण गरी चुर्लुम्म डुबेको छ। यसरी बाह्य र आन्तरिक गम्भीर चुनौतीका कारण नेपाली राष्ट्रियता थिलोथिलो बन्न पुगी शान्ति, स्थिरता, समृद्धि, शक्ति सन्तुलन र राष्ट्रिय एकताका आधारहरू मक्किँदै भत्किँदै गएका छन्। जसका कारण देशका कर्णधार युवाहरू विदेश पलयान हुन विवश भई नेपाल वृद्धाश्रम एवं अनाथालयमा परिणत हुन गइरहेको छ। समग्रमा मुलुकको राष्ट्रियता गम्भीर संकटमा तड्पिँदै छ। 

अन्त्यमा,
कुनै पनि देशको आफ्नो गौरवपूर्ण इतिहास हुन्छ र त्यो इतिहास केवल राजनीतिको मात्र नभई धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, भाषिक, परम्परा, कला, साहित्य, पुरातत्व, इतिहास आदि युगीन तत्वहरूको विविधता हुन्छ। देशको राष्ट्रियता, स्वतन्त्रता, अखण्डता अक्षुण्ण राख्न राष्ट्रियताभित्र संस्कृति र संस्कृतिभित्र राष्ट्रियता अन्तर्घुलित हुुनुपर्छ। असल परम्परा र इतिहासको आत्मसात् गर्नु सभ्य मानव जगत्को कर्तव्य हुन जान्छ। राज्य तथा जनता एवं राजनीतिक दलको साथै नेतृत्वले आफ्नो राष्ट्रिय धर्म, कर्तव्य, जिम्मेवारी भुल्नु हुँदैन।

हामीले अर्को राष्ट्रको राष्ट्रियतामा दख्खल पुर्याउने काम किमार्थ गर्नु हुँदैन र हाम्रो राष्ट्रियतामा दख्खल पुर्याउनेहरूलाई समयमै उचित जवाफ फर्काउनै पर्छ। हरेक राष्ट्रहरूसँगको सम्बन्ध सह–अस्तित्व र सहकार्यको आधारमा तय हुने विधि विश्वव्यापी मान्यता हो। त्यसैले भारतलगायतका देशसँग भएका असमान सन्धि सम्झौताहरू पुनरावलोकन गरी समानताका आधारमा पुनः सम्झौता गर्नु अहिलेको आवश्यकता हो।

मूलधारका राजनैतिक पार्टीहरू लाचार छायाँको भूमिका परित्याग गरी संवेदनशील एवं जिम्मेवार बन्न आवश्यक छ। राष्ट्रिय राजनीतिमा सर्वपक्षीय सर्वदलीय सहमति एवम् समझदारीमार्फत सबैको भूमिका केन्द्रीकृत गरी राष्ट्रिय एजेन्डाको जगमा राष्ट्रिय एकता अनिवार्य सर्त हो। यसो हुन सकेमा राष्ट्रियतामाथि आइलागेका बाह्य तथा आन्तरिक सबै खाले चुनौतीहरूको यथाशीघ्र प्रतिरोध गर्दै नयाँ आधारमा राष्ट्रियता मजबुत बनाउन सकिन्छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad