coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

असमानता र सम्भ्रान्त संसार

अल्फ गनभाल्ड निल्सन
जनवरीको तेस्रो साता स्विट्जरल्यान्डको डाभोसमा विश्वका एक प्रतिशतवालाहरू (अमेरिकालगायत संसारका विभिन्न देशमा भएको वाल स्ट्रिट कब्जा आन्दोलनताका ‘एक प्रतिशत धनीविरुद्ध ९९ प्रतिशतको आन्दोलन’को नारा चलेको थियो। यहाँ एक प्रतिशतको अर्थ तिनै धनी सम्भ्रान्त वर्ग हो) को मेला लाग्यो। उनीहरू हरेक वर्ष यसरी नै भेला हुने गरेका छन्।

विश्व आर्थिक मञ्चको डाभोस सम्मेलनमा राजनीतिक नेता, सञ्चारकर्मी, नीतिविद् र आइरिस गायक बोनो जस्ता शिथिल हुँदै गएका पप स्टारहरू पनि सहभागी थिए। स्विट्जरल्यान्डको एउटा स्की रिसोर्टमा आयोजित सम्मेलनमा सहभागीहरूबीच आजको विश्व परिस्थितिबारे छलफल भएको थियो। त्यहाँ छलफल गरिएका अनेक विषयमध्ये धेरैको ध्यानाकर्षण भएको एउटा विषय हो–असमानता।

असमानताको विषयमा कुरा गर्न निःसन्देह धेरै राम्रा कारण छन्। अक्सफामले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१८ मा मानव जातिको आधा हिस्सा ओगटेका संसारका ३ अर्ब ८० करोड मानिससँग भएको सम्पत्ति २६ जना धनाढ्यसँग भएको सम्पत्ति बराबर छ। यस्तो अवस्थाको सुरुवात सन् १९८० को दशकको आरम्भतिरबाटै हुन थालेको हामी सबैलाई थाहा छ। यो अवस्था नै हाम्रो समय र समकालीन राजनीतिक तथा आर्थिक बन्दोबस्तको पारिभाषिक संकट भएको कुरा दोहोर्याइरहनु नपर्ला।

तर डाभोसमा असमानताको विषयलाई लिएर जुन कोणबाट छलफल अघि बढाइएको थियो, त्यसमा भने विचार गर्न जरुरी छ। गार्जियन पत्रिकाका स्तम्भकार अदित्य चक्रवर्तीले विश्व आर्थिक मञ्चमा एलिटहरूलाई असमानताको उद्विग्नताले सताएको लेखेका छन्। असमानताको राजनीतिक दुष्प्रभावलाई लिएर सम्भ्रान्त वर्गमा ठूलो चिन्ता परेको छ। विशेषतः उनीहरूविरुद्ध लक्षित जनआक्रोश र उनीहरूले चलाउँदै आएको नाफामुखी आर्थिक प्रणालीमाथिको हमलालाई लिएर उनीहरू चिन्तित देखिएका छन्।

बितेका चार दशकदेखि त्यो वर्गले अघि बढाउँदै आएको नवउदारवादी व्यवस्थाविरुद्ध सम्भावित धक्काबारे एलिट वर्गको चिन्ता कुनै नयाँ विषय भने होइन। त्यस्तो चिन्ता केही समययता धेरै प्रतिवेदन, नीतिगत वक्तव्य र मन्तव्यमार्फत् व्यक्त भइसकेका छन्। उदाहरणका लागि सन् २०१४ मा अन्तर्राष्ट्रिय मुद्रा कोषका निर्देशक क्रिस्टिन लागार्डले असमानताको ‘हानिकारक प्रभाव’बारे सचेत बनाएकी थिइन्। सन् २०११ मै आर्थिक सहकार्य तथा विकास संगठन (ओइसिडी) ले असमानतालाई ठेगान लगाउन ‘हतार’ भइसकेकोबारे ध्यानाकर्षण गराएको थियो। धनी र शक्तिशालीहरूबीच यस्ता सबै उद्विग्न सजगताले धनसञ्चय र वैधानिकताको तालमेल मिलाउन उनीहरूलाई हम्मेहम्मे भइरहेको प्रस्ट छ।

अहिलेको आर्थिक व्यवस्थाबाट पनि यो एलिट वर्गले नाफा कमाउन छोडेको छैन। अक्सफामकै तथ्यांकले पनि यो कुरा पुष्टि गर्छ। तर, धन र आयको अन्यायपूर्ण वितरण व्यवस्था कमजोर बन्दै गएको स्वंयले महसुस गरिरहेका मानिसहरूको नजरमा चालु व्यवस्था कदापि पनि न्यायपूर्ण र तर्कसंगत बन्न सकेको छैन।

मेरो मित्र लरेन्स कोक्स र मैले अहिलेको परिस्थितिलाई ‘नवउदारवादको सन्ध्याकाल’ भनेका छौँ। हामीले लेखेको पुस्तक ‘वि मेक आवर ओन हिस्ट्री’मा हामीले नवउदारवादको अझै पनि अन्त्य भइसकेको छैन, तर त्यसविरुद्ध तल र माथि दुवैतिरबाट चुनौतीहरू देखिन थालेको कुराको चर्चा गरेका छौँ। डाभोसमा व्यक्त भएको चिन्ताले एलिट वर्ग भविष्यको अन्धकारबाट निकै डराइरहेको महसुस गर्न सकिन्छ।

एलिट वर्ग अन्धकारसँग डराउने यो रोग पुँजीवादको इतिहासमा पहिलो र एकै पटक देखिएको भने होइन। उदाहरणको लागि मार्कस रेडिकर र पिटर लाइनबगले आफ्नो पुस्तक ‘द मेनी–हेडेड हाइड्रा, द हिडन हिस्ट्री अफ द रिभोल्युशनरी एलान्टा’ मा पुँजीवादी व्यवस्थाको सुरु–सुरुमा समाजका शक्तिशाली र धनी मानिसहरू शक्ति र धनबाट विमुख बनाइएका, गरिबीतिर धकेलिएका मानिसहरूको आक्रोशबाट कसरी डराउने गरेका थिए भन्ने कुराको व्याख्या गरेका छन्। त्यो भय आजको नवउदारवादी युगमा पनि निकै मिल्दोजुल्दो छ। ‘धेरै टाउको भएको नाग’ उपमा प्रयोग गरिएका ती आक्रोशित मानिसहरू विमुखता, बन्धन र अधिकारविहीनताको विरुद्ध पटक पटक उठ्ने भएकाले एलिट वर्गमा यस्तो भय स्वाभाविक हो।

उन्नाइसौँ शताब्दीमा एलिट वर्गमा यस्तै चिन्तालाई ‘सामाजिक प्रश्न’ भनिएको थियो। औद्योगिक पुँजीवादको अत्यन्त भयावह अवस्थामा निकै कमजोर तरिकाले बाँचेका मानिसहरूका आवश्यकता पूरा गर्नु, रोग र अशिक्षाका समस्या समाधान गर्नुलाई नै उतिबेला ‘सामाजिक प्रश्न’को समाधान मानिएको थियो। तत्कालीन व्यवस्थाविरुद्ध उठ्न सक्ने कुनै पनि किसिमका विद्रोहबाट जोगिन नै त्यतिबेला ती कदम चालिएका थिए। सन् १८४८ मा भएको विद्रोहले व्यवस्था विरोधी विद्रोह वास्तविक सम्भावना भएको देखाइदिएको थियो।

तथापि, एलिट वर्गको चिन्ताले नै समाजमा समानताको परिधि बढाएको भन्ने कुरा सत्य होइन। जनताकै सङ्घर्षले नै समाजमा समानताको आकार बढ्दै गएको  हो। पुँजीपतिहरूको धन सञ्चयले निम्त्याएको असमानतालाई बीसौँ शताब्दीको मध्यान्तरपछि मजदुर आन्दोलन, उपनिवेशवाद विरोधी आन्दोलन, महिला आन्दोलन र रंगभेदविरोधी आन्दोलनले केही हदसम्म धनको पुनर्वितरण र गरिब जनतालाई पनि पहिचान गर्ने अवस्था बनाएको थियो।

यही सत्यभित्र आजका लागि उपयोगी ज्यादै महत्वपूर्ण शिक्षा अन्तर्निहित छ। यदि विद्यमान असमानता उल्ट्याउनुछ भने त्यो काम नवउदार पुँजीवादबाट फाइदा उठाइरहेकाहरूबाट सम्भव छैन। बरू यो व्यवस्थाको सीमान्तमा बाँचिरहेका मानिसहरूको सामूहिक अग्रसरताबाट मात्र यो असमानतालाई पन्छाउन सकिन्छ। यो व्यवस्थाको सीमान्तमा बाँचेका मानिसहरू चिन्नुहुन्न ? डाभोसमा भेला भएका एलिटहरू जोस“ग सबभन्दा डराउने गरेका छन्, हो उनीहरू नै यो व्यवस्थाको सीमान्तमा बाँचिरहेका मानिसहरू हुन्।
(लेखक प्रिटोरिया विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक हुन्। द वायरबाट नीरज लवजूको अनुवाद।)

प्रकाशित: २३ माघ २०७५ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App