coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ कम्पनीमाथि सुरक्षा निगरानी बढाउन जर्मन चान्सलरको आग्रह

जापानको राजधानी केइओ विश्वविद्यालयमा आयोजित एक कार्यक्रमा जर्मन चान्सलर एन्जेला मर्केललाई प्रश्न सोध्नका लागि हात उठाउँदै विद्यार्थी। तस्बिर  : एजेन्सी

टोकियो – जर्मन चान्लसर एन्जेला मर्केलले व्यक्तिका गोपनीय एवं निजी विवरण चिनियाँ कम्पनीमार्फत चीन सरकारलाई उपलब्ध हुन नदिनेतर्फ विशेष निगरानी अपनाउनुपर्ने बताएकी छन्। 

चीनको विशाल दूर सञ्चार कम्पनी हुवावेले बनाएका उपकरणबाट सुरक्षा चुनौती बढेको भन्दै अमेरिकासमेतका पश्चिमा मुलुकबाट चौतर्फी आलोचना भइरहेको समयमा जर्मन चान्सलर मर्केलको यस्तो भनाइ आएको हो।

टोकियोको केइओ विश्वविद्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै चान्सलर मर्केलले हुवावेका उपकरण प्रयोग गर्ने बारेमा जर्मनीमा ठूलो बहस चलिरहेको बताएकी छन्। उनले पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल (फाइभ–जी) निर्माण गरिरहेको हुवावेको सेवाका विषयमा चलिरहेको विश्वव्यापी बहसले सर्वत्र शंका उब्जाएको मर्केलले बताइन्। 

‘जर्मनीले अझै पनि विवेकी अवधारणा अवलम्बन गरिरहेको छ। जर्मनीको सूचना प्रविधि निगरानी निकायले हुवावेले बेइजिङका लागि जासुसी गर्न आफ्ना उपकरण प्रयोग गरेको भन्ने ठोस प्रमाण नपाएको जनाएको छ,’ मर्केले बताइन्। 

उनले हुवावेमा संग्रह हुन सक्ने विवरण चीन सरकारलाई उपलब्ध नगराएको सुनिश्चित गर्नुपर्ने समेत बताइन्। उनले कम्पनीका विवरण सरकारी निकायले प्राप्त नगरेको निश्चित गर्न उपयुक्त विधिहरु निर्माण गर्न आवश्यक छ भनिन्। हुवावे अहिले दूरसञ्चार उपकरण र मोबाइल नेटवर्क निर्माणमा विश्वकै ठूलो दूरसञ्चार कम्पनी भइसकेको छ। खासगरी हुवावेका उपकरण विकासशील मुलुकमा बढी बिक्री भएका छन्। कम्पनीले सस्तोमा दूरसञ्चार नेटवर्कका सामग्री उपलब्ध गराउने भएकाले पनि विकासशील मुलुकमा हुवावेको बजार तीव्र रूपमा विस्तार भएको हो।

पश्चिमा धेरै मुलुक सुरक्षा खतरालाई लिएर हुवावेका विरुद्धमा उभिएका छन्। खासगरी, चीनको कानुनमा रहेको मुलुकभित्रका सबै कम्पनीले गुप्तचर निकायलाई सहयोग गर्नुपर्ने अनिवार्य प्रावधानका कारण पश्चिमा मुलुक हुवावेको सेवाप्रति सशंकित भएका हुन्। हुवावेले आफ्ना उपकरण जासुसी कार्यमा प्रयोग गर्न नसकिने भन्दै पश्चिमा मुलुकको दाबीलाई अस्वीकार गरिरहेको छ।

‘हुवावेले जासुसी गरिरहेको भन्ने विषयमा निरन्तर बहस हुनु जरुरी छ र यस सम्बन्धमा संयुक्त राज्य अमेरिकासँग पनि छलफल आवश्यक छ,’ जर्मन चान्सलर मर्केलले बताइन्। उनले बढ्दो आर्थिक समृद्धिको अर्थ चीनले शान्तिपूर्ण विश्व निर्माणका लागि आफ्नो काँधमा बढी दायित्व छ भन्ने पनि बुझ्न आवश्यक रहेको बताइन्। 

जर्मन चान्सलर मर्केल जापानको दुई दिने भ्रमणका लागि हाल टोकियोमा छिन्। उनले यसअघि नै जापानका प्रधानमन्त्री सिन्जो आबे र जापानी सम्राट अकिहितोसँग भेटवार्ता गरिसकेकी छन्। उनले मंगलबार नै जापानी र जर्मन व्यापारिक समुदायसँग छलफलसमेत गरेकी छन्। 

प्रकाशित: २३ माघ २०७५ ०२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App