coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

एउटा बाँदर समाते दुई हजार

खोटाङ – खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउने तयारी गरिएको छ। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई भारतीय पेसेवर सिकारीको सहयोगमा समातेर राष्ट्रिय निकुञ्जमा लगी छाड्ने तयारी थालिएको हो।

जिल्लाका विभिन्न जंगलमा भएका बाँदरलाई खोर र जाल थापेर समात्न भारत खुसीनगर उत्तरप्रदेशका मुखतार सिकारीसहित दुईजना दिक्तेल आइपुगेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गरिने ‘बाँदर समाउ अभियान’ जिल्लाका १०वटै स्थानीय तहमा पुर्याइने समितिले जनाएको छ। बाँदर आतंक नियन्त्रण गर्न बाँदर व्यवस्थापन समितिलाई नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ। आगामी जेठ मसान्तभित्र प्रतिगोटा दुई हजार रुपैयाँका दरले २ सय ५० वटा बाँदर समात्नेगरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको अध्यक्ष घिमिरेले जानकारी दिए।

सोमबार दिक्तेल ल्याइएका भारतीय सिकारीसहित मंगलबार बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी बैठक गरिएको छ। सिकारीमध्ये एक जनाले बाँदर प्रभावित क्षेत्रमा चारो छर्न थाल्ने र एक जनाले भारत पुगेर थप सात जनाको टोली लिएर आउने समितिले जनाएको छ। सिकारीले भने एउटा बाँदर समोतको २५ सय रुपैयाँ माग गरेको अध्यक्ष घिमिरेले जनाए।

बालीनाली सखाप भएर हैरान भइरहेका किसान उपद्रो मच्चाउने बाँदरलाई समातेर निकुञ्ज लाने खबरले खुसी भएका छन। बाँदर आतंक नियन्त्रणका लागि किसानको ज्ञापनपत्र आउँदा अलमलमा परिरहेका गाउँपालिका र नगरपालिकाका कतिपय जनप्रतिनिधिसमेत ‘बाँदर समाउ अभियान’मा इच्छुक देखिएको घिमिरेले बताए। ‘सुरुमा हामी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्रका १५वटा वडा क्षेत्रमा रहेका बाँदर समातेर व्यवस्थापन गछौं,’ उनले भने, ‘त्यसपछि अन्य पालिकामा जान्छौं। जिल्लाका सबै बाँदर निकुञ्जमा पुर्याएर मात्र सिकारीलाई बिदा गर्छाैं।’

बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न गत मंसिर १६ गते दिक्तेलमा भएको किसान भेलाले बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति गठन गरेको हो। बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले गत पुस २७ गतेदेखि ‘बाँदर धपाउ, अभियान’ सञ्चालन गरेको केही समयपछि ‘बाँदर समाउ अभियान’ सुरु गरिएको हो।

केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिलामा पर्ने सिमपानी, दसकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११, खार्मी लगायतका बासिन्दाले प्रतिघर कम्तिमा दुई सय रुपैयाँ खर्च उठाएर बाँदर धपाउने अभियान चलाएका थिए।

खोटाङका धेरैजसो ठाउँमा बाँदरले दुःख दिने समस्या छ। त्यसमा पनि नदी तथा खोला किनार आसपासका बेंसी क्षेत्र र जंगल नजिकका स्थानमा बादर आतंक बढी छ। बाँदरले अन्नबाली, फलफूल र तरकारी सखाप बनाएपछि कृषि उत्पादनमा ह्रास आउँदा निम्तिने भोकमरीका कारण बसाइँ नै सर्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाको भनाइ छ।

प्रकाशित: २३ माघ २०७५ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App