८ वैशाख २०८१ शनिबार
अर्थ

१५ वर्षमा २ करोड ग्राहक

काठमाडौं – नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ।

मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए। कार्यक्रममा बोल्दै अधिकारीले नेपाल टेलिकमले ०७४/७५ मा ४५ अर्ब २७ करोड रुपैयाँ आम्दानी गरेको बताए। ‘सो वर्ष टेलिकमको खुद नाफा १७ अर्ब ४८ करोड छ,’ उनले भने, ‘त्यसअघिको वर्षमा टेलिकमको आम्दानी ४४ अर्ब ५९ रुपैयाँ थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकम जहिले पनि अग्रस्थानमा रहेको र आगामी दिनमा पनि चुनौतीविहीन रुपमा अग्रस्थानमै रहनुपर्ने बताए। कम्पनीले नाफा हुने क्षेत्रमा मात्र नभई जनताहरु भएको जुनसुकै क्षेत्रमा सेवा उपलब्ध गराइरहेको भन्दै यसलाई संस्कृति सहितको कर्पोरेट संस्थाको रुपमा विकास गर्नुपर्ने बताए। 

कम्पनीले व्यवस्थित बजार नीतिका आधारमा आगामी दिनमा प्रतिस्पर्धा, नाफा, सेवा र सुरक्षामा केन्द्रित रही देशभर नेटवर्क विस्तार गरी सहज सुविधासहितको सेवा उपलब्ध गराई देशको अर्थतन्त्रमा योगदान पुर्‍याउन भूमिका खेल्नुपर्ने उनले बताए।  

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले कम्पनीका केही महत्वपूर्ण आयोजनाहरु सुरु हुने क्रममा रहेका र केही आयोजना नयाँ चरणमा प्रवेश गर्ने क्रममा रहेकाले अवसरलाई सदुपयोग गरी अगाडि बढेमा कम्पनीको भविष्य उज्ज्वल रहेको बताए। उनले आयोजनाको व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा छलफल गरी सबै पक्ष अगाडि बढ्नुपर्ने बताए।  

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले कम्पनीको भविष्य र प्रगति यसको आम्दानीसँग जोडिएको बताउँदै कम्पनीलाई बजार हिस्सा बढाउने कार्यमा बढी ध्यान दिन आग्रह गरे। कम्पनीको फोरजी सेवा विस्तार तथा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यलाई द्रुततर गतिमा अगाडि बढाउन र नयाँ अतिरिक्त सेवामा समेत ध्यान दिन उनले सुझाव दिए।  

कार्यक्रममा मन्त्री बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गरे। हालसम्म जिएसएम पोस्टपेड सेवामा मात्र उपलब्ध अन्तर्राष्ट्रिय रोमिङ सेवा अब प्रिपेड मोबाइलमा समेत प्रयोग गर्न सकिने छ। यसका लागि थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ। हाल सफ्ट लन्च मात्र गरिएको र निकट भविष्यमा यो सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याइने छ। यो सेवा प्रारम्भमा चीन र भारतबाट सुरु गरी क्रमिक रुपमा अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको छ।

कम्पनीको सेवाबारे २०७४ सालभरी उत्कृष्ट समाचार प्रकाशन गरेबापत कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल र द हिमालयन टाइम्स दैनिकका पत्रकार सुजन ढुंगानालाई ‘नेपाल टेलिकम पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। पुरस्कृतहरुले जनही एकमुष्ट ४० हजार नगद प्राप्त गरेका छन्।  

कम्पनीले घोषणा गर्‍यो विभिन्न प्याकेज

टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न प्याकेज उपलब्ध गराउने भएको छ। माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिस्ट्रेसनमा निःशुल्क १०० एमबी डाटा उपलब्ध गराउने भएको छ। जिएसएम पोस्टपेड ग्राहकलाई नौ सयको प्याकेजमा प्रतिमहिना दुई जिबी डाटा र पाँच सयको फ्री रिसोर्स उपलब्ध हुँदै आएकोमा प्रतिमहिना अलटाइम डाटा ३.३ जिबी र पाँच सयको निःशुल्क रिसोर्स उपलब्ध गराउने भएको छ। माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ जिएसएम पोस्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जिबी र सय मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ। 

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तर्गत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र पाँच सयमा १६५ मिनेट उपलब्ध हुनेछ। मोबाइल प्वाइन्ट अफ सेलको माध्यमबाट कम्पनीको सेवामा रिचार्ज तथा भुक्तानी गर्दा पाँच प्रतिशतका दरले ग्राहकलाई बोनस रकम उपलब्ध गराउने घोषणा टेलिकमले गरेको छ। यो योजना ६ महिनासम्म लागू हुनेछ। 

 

प्रकाशित: २३ माघ २०७५ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App