coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सुरुमै थाहा पाए निको हुन्छ क्यान्सर

काठमाडौं – सुरुकै अवस्थामा पत्ता लागेमा जुनसुकै क्यान्सर रोग निको हुने विज्ञ चिकित्सकले औंल्याएका छन्। नेपालमा जनचेतना तथा उपचारमा पहुँचको कमीका कारण क्यान्सर ढिला गरी पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ।

विश्व क्यान्सर दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा आयोजित कार्यक्रममा विज्ञले जनचेतना र उपचार दुवै एकीकृत रुपमा लैजानुपर्ने सुझाव दिए। भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. क्रषिकेशनारायण श्रेष्ठले भने, ‘जनचेतना कार्यक्रममार्फत सुरुकै अवस्थामा पत्ता लगाउन सक्यौं भने एक तिहाइ क्यान्सर बिरामीलाई बचाउन सक्छौं।’

नेपाल क्यान्सर अस्पतालका पूर्वअध्यक्ष दिवाकरराज कर्णिकारले क्यान्सर सुरुमै पहिचान गर्न सकेमा एकतिहाइ निको हुने बताए। ‘सरकारले पनि काम गर्न सकेको छैन’, उनले भने, ‘स्वास्थ्य कर कोषमा संकलन भएको बजेट क्यान्सरविरुद्ध जनचेतनामा खर्च हुनुपथ्र्यो।’ सरकार र सम्बन्धित संस्था मिलेमा मात्र क्यान्सरको वृद्धिदर नियन्त्रण र ढिलो पत्ता लाग्ने अवस्थामा सुधार गर्न सकिने उनले बताए।

नेपालमा क्यान्सरका कारण प्रतिवर्ष २० हजार जनाको मृत्यु हुने गरेको तथ्यांक छ। यो रोगबाट विश्वभरमा बर्सेनि ३३ लाखको मृत्यु हुने गरेको छ। सन् २०१८ को तथ्यांकअनुसार विश्वभर १ करोड ८० लाख क्यान्सरका बिरामी छन् भने। नेपालमा जनचेतनाको कमी, स्थानीय तहसम्म जाँचको पहुँच नहुुनुले नेपालमा क्यान्सरका बिरामी ढिलो उपचारमा पुग्ने गरेको चिकित्सकको अनुभव छ। नेपालमा उपचार र जनचेतना कार्यक्रम प्रभावकारी नहुनु तथा आधुनिक जीवनशैलीलका कारण पनि क्यान्सर रोगको जोखिम बढेको र नेपालका लागि डरलाग्दो भारका रुपमा देखा परेको विज्ञले जनाएका छन्।

तथ्यांकअनुसार कुल क्यान्सर रोगीमध्ये ५० प्रतिशतभन्दा बढी एसियामा छन्। क्यान्सरबाट हुने कुल मृत्युमध्ये ६० प्रतिशतभन्दा बढी एसियामै हुने गरेको छ। बेलैमा नसोचे प्रति ८ पुरुषमा १ र ११ महिलामा १ महिलाको क्यान्सरबाट मृत्यु हुने सम्भावना छ।

नेपालमा बढ्दो क्यान्सरको जोखिमलाई न्यूनीकरण गर्न र क्यान्सर रोगको समयमै पहिचान गरी प्रभावकारी उपचार गर्न सरकारले यो रोगमा राष्ट्रिय नीति बनाएर अघि बढ्नुपर्ने निर्देशक श्रेष्ठले सुझाए। ‘यसका लागि जतिसक्दो जनचेतना कार्यक्रम र लागू हुने नीति बनाएर अघि बढ्नुपर्छ’, उनले भने।

नेपाल क्यान्सर सोसाइटीका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठले नेपालमा अखाद्य पदार्थ र धूमपानको उपभोगमा नियन्त्रण गरेर क्यान्सरको जोखिम घटाउन सुझाव दिए। ‘सरकारले धुमपानविरुद्धको ऐन लागू गर्न सकेको छैन, यो ऐन लागू गर्न सरकारलाई अनुरोध गर्छु’, उनले भने। सरकारले स्पाइनल इन्जुरी, मिर्गौला र क्यान्सरका बिरामीलाई जीविकोपार्जनका लागि दिने भनेको रकम पनि दिन सुरु नगरेको उनले बताए। उनले क्यान्सरको उपचार खर्चिलो भएकाले यसका बिरामीलाई ५ लाख रुपैयाँ उपचार खर्च दिन सरकारलाई अनुरोध गरे।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले छिमेकी राष्ट्र भारतमा गुट्खा र सुर्तीमा प्रतिबन्ध लगाइसकेको भए पनि नेपालमा आयात जारी रहेको औंल्याए। उनले नेपालमा सरोकारवाला विशेषज्ञ र संस्थासित बसेर एकीकृत नीति तथा कार्यक्रम बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाए। उनले भने, ‘स्वास्थ्यमा बजेट कम भएकाले धेरै कार्यक्रम लागु गर्न चुनौती छ, सुर्तीजन्य पदार्थको करकोषको रकम यो क्षेत्रमा खर्च गर्न सकिन्छ।’

नेपालमा अहिले पनि धुमपानका कारण पहिलो नम्बरमा फोक्सोको क्यान्सर, त्यसपछि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर, पेट र प्रोस्टेट क्यान्सर बढी पाइएको स्थिति छ। भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. श्रेष्ठले मुख, घाँटी तथा नाकको क्यान्सरसमेत बढिरहेको बताए। यस वर्ष ‘म हुँ र म गर्छु’ भन्ने नाराका साथ विश्वभर क्यान्सर दिवस मनाइएको छ।

प्रकाशित: २३ माघ २०७५ ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App