७ वैशाख २०८१ शुक्रबार
अर्थ

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन्। 

उनले आन्तरिक स्रोत परिचालनले मात्र उच्च आर्थिक वृद्धिदर हासिल नहुने भन्दै बाह्य स्रोत परिचालन र प्रवद्र्धनमा समेत ध्यान दिन सरोकारवाला निकायलाई निर्देशन दिए। प्रत्यक्ष वैदेशिक लगानीका आवेदनलाई यथाशक्य छिटो सम्बोधन गर्नुका साथै बैंकहरुलाई विदेशी स्रोत परिचालनमा थप सहजीकरण गर्न आवश्यक भए सोतर्फ ध्यान दिन उनले आग्रह गरे। 

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बैंक अफ एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिषद्का पदाधिकारी सहभागी भएको बैठकमा मन्त्री खतिवडाले मौद्रिक नीतिको अर्थ वार्षिक समिक्षाका आधार ब्याजदर र निक्षेप तथा कर्जामा लिइने ब्याजदरको फरकबारे अध्ययन गरी यसतर्फको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए। 

राष्ट्र बैंकले छोटो अवधिका लागि मात्र नभई दीर्घकालीन रुपमा लगानीको वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए। उनले बैंक तथा वित्तीय संस्थालाई औद्योगिक प्रवद्र्धनमैत्री बन्दै समयसापेक्ष स्रोतसाधन परिचालन गर्नसमेत निर्देशन दिए। वित्तीय संस्थाले सेवा र व्यवहारमुखी भएर लगानी गर्न सके सबैको हितमा हुने मन्त्री खतिवडाको भनाइ छ। 

बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या र अव्यवस्थित ब्याजदरका साथै वीरगन्ज, विराटनगरलगायत औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले गरेको हड्ताल समाधान गर्ने विषयमा समेत छलफल भएको हो। उनीहरुले डिपोजिट ब्याजदरको तुलनामा ऋणको ब्याजदर नघटेको भन्दै अर्थमन्त्रीलाई वित्तीय क्षेत्रमा देखा परेका समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २३ माघ २०७५ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App