७ वैशाख २०८१ शुक्रबार
खेल

मिस्टर हिमालय वैशाखमा

काठमाडौं – आगामी वर्ष सातौं मिस्टर हिमालय शारीरिक सुगठन र दोस्रो पुरुष फिटनेस फिजिक्स तथा महिला एथ्लेटिक्स फिजिक्स च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ।

बालुवाटारमा मंगलबार एक कार्यक्रम गर्दै नेपाल शारीरिक सुगठन तथा फिटनेश संघले आगामी वर्षको वैशाखमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हुने जानकारी दिएको हो।  मिस्टर हिमालय वैशाख २० र २१ गते तथा १२औं दक्षिण एसियाली शारीरिक सुगठन आगामी असार ५ र ६ गते काठमाडौंमा हुनेछन्।

मिस्टर हिमालय १२औं दक्षिण एसियाली शारीरिक सुगठनको छनोट प्रतियोगितासमेत रहेको संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए। उक्त प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल गरी ६ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। 

एउटा क्लब तथा संस्थाबाट प्रत्येक समूहमा दुई खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। प्रत्येक तौलसमूहका खेलाडीबीच २० गते हुने प्रिजजिङबाट २१ गते हुने अन्तिम चरणका लागि गरेको प्रदर्शनका आधारमा खेलाडी छानिनेछ भने शीर्ष दुईलाई अन्तर्राष्ट्रिय प्र्रतियोगितामा सहभागी गराइने संघका उपाध्यक्ष राजभण्डारीले जानकारी दिए।

प्रत्येक तौलमा शीर्ष तीन स्थान हात पार्नेले २५, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो र पाँचौं हुनेले ट्रफी प्राप्त गर्नेछन्। ओभरअल च्याम्पियनले ‘मिस्टर हिमालय’ उपाधिका साथै नगद २ लाख ५० हजारसहित ट्रफी तथा ब्यानेटले सुसज्जित हुँदै उपाधि हात पार्नेछ। प्रत्येक दुई वर्षमा मिस्टर हिमालय आयोजना हुँदै आएको छ।

सोही प्रतियोगितामा महिला एथ्लेटिक्स फिजिक्स २०७६ पनि आयोजना हुनेछ। प्रत्येक समूहबाट फाइनल चरणमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी २५, १५ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। संघले १२औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताबाट छानिएका खेलाडीको क्षमतालाई आधार मानी ३ वर्षभित्र एसियन तथा विश्व शारीरिक सुगठन प्रतियोगितामा स्वतः प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको जनाएको छ।

प्रकाशित: २३ माघ २०७५ ००:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App