८ वैशाख २०८१ शनिबार
खेल

पुलिसलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

नेपाल पुलिस क्लब (रातो) र जापानी विश्वविद्यालयका खेलाडी हेड बलका लागि प्रतिस्पर्धा गर्दैै । तस्बिर : उमेश पुन/नागरिक

पोखरा – विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर जापानी रिस्हो युनिभर्सिटीको टोली पहिलो खेल अविस्मरणीय बनाउँदै मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार पोखरा रंगशालामा नेपालकै सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम गोल्डकप उचालेको पुलिसको आत्मविश्वासमा पाहुना टोलीले तुषारापात गराइदियो।

पुलिसभन्दा केही छरिता देखिएका जापानी टोलीका खेलाडीले २०औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध अग्रता बनाए। नात्सुकी ताकेदाले मिलाइदिएको पासलाई यासुताका सुजुकीले वन टचमै पोस्टको दिशा दिएपछि पुलिस केहीछिन रनभुल्लमै पर्यो। एकपछि अर्को मुभ बनाएको जापानको आक्रमणले पुलिसका गोलकिपर पहिलो हाफमा निकै व्यस्त भए। पहिलो हाफअघि नै ताकुया हिल्तोमीले डिफेन्सलाई बिट गर्दै हानेको बल बचाउ हुँदै कर्नरको अवसर मिल्यो।

खेलको ३३औं मिनेटमा ताकुया हिल्तोमीको कर्नर पासलाई ताकुतो यासिन्होले हानेको हेडबल बाहिरियो। खेलको ३८औं मिनेटमा जापानी युनिभर्सिटीले अर्को अवसर सृजना गर्यो। दाइची ओगावाले हानेको हेडिङलाई पुलिसका कप्तान विक्रम धिमालले गोललाइनबाट क्लियर गर्दै पुलिसलाई थप संकटबाट जोगाए। गोलकिपर बिट भइसकेको अवस्थामा धिमालले क्लियर गरेका थिए। ४२औं मिनेटमा हिरोतो होसिकावाको लङ पावर सट बललाई पुलिसका गोलकिपरले बचाए।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले जापानी टोलीसँग खेल्दा सिक्ने मौका मिलेको प्रतिक्रिया दिए। ‘हामीले जापानी युनिभर्सिटीको टोलीसँग सिक्ने अवसर पायौं। आधुनिक फुटबल कसरी खेलिन्छ भन्ने सिक्ने अवसर रह्यो। सुरुमा देख्दा युवा टोली देखिएकाले जित्छौं भन्ने लागेको थियो। तर गोल खानु नै टर्निङ प्वाइन्ट बन्यो,’ उनले भने।

दोस्रो हाफमा पुलिसले केही सुधारिएको खेल देखायो। तर स्कोर निकाल्नबाट चुकिरह्यो। गेममा आफूलाई सुधार्दै दुई उत्कृष्ट मुभ बनायो। जुन पुलिसका लागि खेलमा फर्काउने सम्भावनाको अवसर थियो। ६९औंं मिनेटमा भरत शाहले हानेको बललाई जापानी गोलकिपरले बचाउ गरेपछि पुलिसभित्र निराशा छायो। हरि कठायतले हानेको बल रिबाउन्ड भएपछि शाहले प्रहार गरेको बल जापानी गोलकिपरले मुस्किलले बचाएका थिए।

७६औं मिनेटमा पुलिसले अर्को अवसर बनायो। भरत शाहले नै राइट साइडबाट हानेको कडा प्रहार बचाउ भएपछि पुलिसका लागि मंगलबार जित क्षितिजमा मात्रै देखियो। ‘पोखराको मैदान हाम्रा लागि नयाँ हो। नयाँ मैदानमा खेल्दा कठिनाइ हुन पुग्यो। जापानको जस्तो मैदान होइन,’ जापानी प्रशिक्षक ताकेसा तोकाइरिनले भने, ‘यात्राले खेलाडी अझै थकित छन्। थकान भए पनि खेलाडीले ९० मिनेट ज्यान दिएर खेले। खेलाडी अझै फिट छैनन्।’ उनका अनुुसार सेमिफाइनलमा अझै सुधारिएको खेल देख्न पाइनेछ। खेलमा नात्सुकी ताकेदाले म्यान अफ दी म्याचको पुरस्कार थापे।

कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दीले आयोजक एवं घरेलु टोली पोखरालाई पराजित गरेको बिग्रेड ब्वाइजसँग खेल्नेछ।

प्रकाशित: २३ माघ २०७५ ००:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App