७ वैशाख २०८१ शुक्रबार
राजनीति

बम काण्डमा मुछिएका विप्लवसहित २६ जनालाई सफाइ

भोजपुर– प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७४ मा भोजपुरमा बम विस्फोट गराएको आरोपको मुद्दा खेपेका नेत्रविक्रम चन्द विप्लवसहित २६ जनालाई भोजपुर जिल्ला अदालतले सफाइ दिएको छ। 

चुनावका समयमा जिल्लाका ३ ठाउँमा बम विस्फोट गराएको आरोप उनीहरुमाथि लागेको थियो। सफाइ पाउनेमा महासचिव विप्लव, प्रवक्ता खड्ग विश्वकर्मा, पोलिटब्युरो सदस्य पदमबहादुर राईसहित उच्च नेता पनि छन्। तत्कालीन उम्मेदवार हालका प्रदेश १ मुख्यमन्त्री शेरधन राईलगायत माथिको आक्रमणमा संलग्न भएको भन्दै अदालतमा २६ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। 

सफाइ पाउनेमा कार्यकर्ता वम विष्ट, जुद्ध बस्नेत, लक्ष्मी तामाङ, तिलक गुरुङ, दिनेश अधिकारी, त्रिलोचन लोहर, गोपी विक, कुमार तामाङलगायत छन्। त्यस्तै महेन्द्र तामाङ र प्रकाश गुरुङलाई जनही ४० हजार जरिवानाको फैसला भएको अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए। स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला र किरात राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मादेन किरातीको ठेगाना स्पष्ट नखुलेकोले तामेलीमा राखिएको पनि उनले जानकारी दिए। 

यसअघि बम विस्फोटसम्बन्धी मुद्दामा अनुसन्धान गर्न प्रवक्ता विश्वकर्मासहित नेतालाई पक्राउ गरी भोजपुर ल्याइएको थियो। प्रकाण्ड ६० हजार रुपैयाँ धरौटी राखेर छुटेका थिए। जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्नामको इजलासले उनीहरुलाई सफाइ दिएको हो।

उनीहरुमाथि टेम्केमैयुङ गाउँपालिका–६, कोट गुम्बामा प्रदेशसभा उम्मेदवार शेरधन राई चढेको गाडीमा बम विस्फोटको घटनामा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको थियो।  

प्रकाशित: २२ माघ २०७५ १३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App