६ वैशाख २०८१ बिहीबार
राजनीति

विश्वप्रकाशले भनेः धुर्मुस–सुन्तलीबाट केही सिक्नुस प्रधानमन्त्रीज्यू !

सर्लाही– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले झापा निवासी प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै जिल्लाका चर्चित कलाकार धुर्मुस–सुन्तलीको जोडीबाट धेरै कुरा सिक्नुपर्ने बताएका छन्। 

‘प्रधानमन्त्रीज्यूले स्वयं नेपाल र नेपाली जनताबाटै ठूलाखाले विकास निर्माण गर्न नसक्ने भयबाट मुक्त हुनुपर्छ’, नेपाल प्रेस युनियन सर्लाहीद्वारा मंगलवार आयोजित पत्रकार भेटघाटमा शर्माले भने, ‘नेपाल र नेपालीबाटै विकास निर्माण गर्न सकिन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले आफ्नै जिल्लावासी धुर्मुस–सुन्तलीबाट धेरै सिक्नुपर्ने देखिन्छ।’ 

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि डिजेल र पेट्रोलमा थप कर लगाएर आम नेपाली जनताबाट अर्बौं रुपैयाँ संकलन भइसकेपछि पनि वर्तमान सरकारले उक्त आयोजना चीनको गेजुवा कम्पनीलाई जिम्मा लगाउनु ठूलो विडम्बना भएको शर्माले बताए। ‘उहाँकै जिल्लाका चर्चित कलाकारद्वय धुर्मुस र सुन्तली नेपाली जनताको सहयोगले ठूला–ठूला निर्माणको काम गरिसक्नु भएको छ, अहिले बहुप्रतिक्षित अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा समेत जुटिसक्नु भएको छ’, शर्माले व्यंग्य गरे, ‘तर प्रधानमन्त्री सहित वर्तमान सरकार तत्कालिन सरकारले नेपालले नै निर्माण गर्ने निर्णय गरिसकेको बुढीगण्डकी चीनको जिम्मा लगाउनु हुन्छ।’ 

वर्तमान सरकारले दुईतिहाईको दम्भमा विवेक गुमाउँदै गएको समेत शर्माले आरोप लगाए। ‘सरकार बहुमतले चलाउने हो अनि संसद्मा बहुमतले निर्णय गर्ने हो भन्नेमा हामी पनि सहमत छौं’, शर्माले भने, ‘तर बहुमतको दम्भमा विवेकलाई कुल्चिदा अप्रिय स्थितीहरु निम्तिन्छ, त्यसतर्फ सरकार गम्भीर हुन जरुरी छ।’ 

प्रतिपक्षको संयमतालाई कमजोरी नसम्झन उल्लेख गर्दै शर्माले सरकार सच्चिएर अगाडि नबढे कांग्रेसले मात्र हैन आम नेपाली जनताले नसहने चेतावनी दिए। ‘कांग्रेस संयमित र मर्यादित प्रतिपक्ष हो, सरकार गठन भएको ३ महिनामै गिराउने, संसदमा कुर्सीहरु तोडफोड गर्ने, शहर बजारको रेलिङ्ग तोड्ने र नेपाल बन्द गर्ने जस्ता अराजनितिक गतिबिधिमा हामी विश्वास गर्दैनौं’, उनले भने, ‘तर सरकार संसदीय मर्यादा विपरित बल प्रयोग गरेर विवेक गुमाउँदै प्रतिपक्षलाई त्यस्ता अराजनीतिक गतिविधी गर्न उक्साइरहेको छ।’ सरकारले विवेक गुमाउँदै दुईतिहाईको दम्भ देखाउन थालेपछि कांग्रेसले सडक र सदन दुवै ठाउँबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेको समेत उनले बताए। 

सरकारले भेनेजुयला प्रकरणमा अपरिपक्वता देखाएको उल्लेख गर्दै प्रवक्ता शर्माले प्रजातान्त्रिक संसदीय व्यवस्था अन्तर्गत राज्यव्यवस्था चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीका आधा अध्यक्ष र सरकारले अप्रजातान्त्रिक व्यवहार प्रस्तुत गरेको टिप्पणी गरे। 

त्यस्तै निर्मला पन्तमाथि बलात्कार एवं हत्या प्रकरणको अनुसन्धानमा सरकार गम्भीर भएर नलागेको उनको भनाई छ। ‘कुनै घटनाको दोषी पत्ता लगाउन वर्षौं लाग्न सक्छ’, शर्माले भने, ‘तर निर्मला काण्डमा निश्चित दोषीलाई उम्काउने प्रपञ्चमा सरकार लागि परेको हामीले महसुस गरेका छौं, सरकारको क्रियाकलापले १२ वर्ष हैन १२ सय वर्षमा पनि दोषीलाई कानुनी कठघरामा ल्याउने अवस्था देखिँदैन।’ चर्को महंगी नियन्त्रण, निर्मला हत्या प्रकरणको सफल अनुसन्धान, अराजकता नियन्त्रण, सुशासन कायम लगायतमा सरकार विफल भएको समेत प्रवक्ता शर्माले आरोप लगाए।

प्रकाशित: २२ माघ २०७५ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App