७ वैशाख २०८१ शुक्रबार
समाज

फतुवा विजयपुर नपामा करोडौं अनियमितताको आरोप

उपमेयरद्वारा आयोजित पत्रकार सम्मेलन ।

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर कान्तिदेवी महतोले आरोप लगाएकी छन्। मेयर गोपाल यादव र प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोक्काको मिलोमतोमा नगरपालिकामा करोडौं अनियमितता भएको उपमेयर महतोको दाबी छ। 

नगरको सीमाक्षेत्रमा पर्ने लालबकैया नदीको ग्रावेल, ढुंगा, गिटी र बालुवाको निकासी जथाभावी गर्दै प्रशासकीय अधिकृतको मिलोमतोमा मेयर यादवले आफ्नो मान्छे खटाएर रकम असुल गरिरहेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा उपमेयर महतोले भनिन्, ‘रकम कहाँ गएको छ ठेगान छैन।’

नगरपालिकाको कार्यपालिकामा रहेका २१ सदस्यमध्ये १७ जना उपस्थित पत्रकार सम्मेलनमा बोल्दै उपमेयर महतोले मेयर यादवले प्रशासकीय प्रमुख रोक्कासँग मिलेर टेन्डर प्रक्रियालाई रद्ध गरी आफ्नो मानिस राखेर निकासी कर उठाएको आरोप लगाइन। दैनिक डेढ लाखसम्म राजस्व संकलन हुनुपर्नेमा कति रुपैयाँ उठेको हो र उठेको राजस्व कहाँ छ भन्ने कुरोबारे कार्यपालिकालाई कुनै थाहा नभएको वडाध्यक्षहरुले गुनासो गरे। 

प्रमुख प्रशासकीय अधिकृत रोक्काले आफूलाई टेन्डरको विषयमा थाहा नभएको तर मेयर यादवको निर्देशनमा केही कर्मचारीले खोलाको गिटी, ढुंगा, बालुवा र ग्राभेलको निकासी राजस्व उठाइरहेको बताए। गुगल कन्स्ट्रक्सनको टेन्डर २ करोड ९९ लाखमा परेको भए पनि अधुरो भएको कारण रद्ध नै नगरी नगर कर्मचारीलाई उठाउन लगाएको विषयमा कार्यालय प्रमुख रोकाले भने, ‘रकम कति उठेको छ र कहाँ छ भन्ने विषयमा मलाई केही थाहा छैन।’

यता मेयर यादवले आफूले आफ्ना मान्छे राखेर खोलाजन्य निकासी पदार्थको रकम असुल गरेको कुरालाई अस्वीकार गर्दै नगर कर्मचारीले कार्यालयबाट रसिदको ठेली बोकेर खोलामा पुगेर नियमानुसार नै रसिद दिने गरेको दाबी गरे। हालसम्म करिब २५ लाख रुपैयाँ खोलाबाट राजस्व संकलन भइसकेको उनको भनाई छ। पहिले वडाध्यक्षहरुले नै खोलाको निकासी रकम उठाउने गरेकोमा उठेको रकम नगरपालिकामा दाखिला नगर्दा बाध्य भएर नगरपालिकाको कर्मचारीलाई खटाउनु परेको मेयर यादवको भनाई छ। 

पत्रकार सम्मेलनमा उपमेयर महतोको आरोप थियो, ‘कार्यपालिकाको बैठक कहिल्यै बोलाउँदैनन् र बारम्बार आग्रह गर्दा पनि नगर परिषद् गराउन मानेका छैनन्।’ मेयर यादवले आफूले प्रयास गरे पनि नगर परिषद् सम्मन्न हुन नसकेको बताउँदै कार्यपालिकाको बैठक समयमा बोलाउन आफूले प्रयास गरिरहेको स्पष्ट पारे।

मेयर यादवले कार्यपालिकाको निर्णयबिनै विभिन्न योजनाहरु सम्पन्न गराउने गरेको आरोप लाग्ने गरेको छ। मेयर यादव र प्रशासकीय प्रमुख रोक्काले विभिन्न शीर्षकमा करोडौं रुपैयाँ खर्च गरेको, कार्यालय प्रमुख रोक्का नियमित रुपमा कार्यालयमा उपस्थित नहुने तथा कार्यालयमा काम लिएर जाने सर्वसाधारण जनतालाई आफ्नो निवासमा नै बोलाउने गरेको उपमेयर महतोले आरोप लगाइन। कार्यपालिकाको निर्णयलाई प्रशासकीय प्रमुख रोक्काले मेयर यादवसँग मिलेर कार्यान्वन हुन नदिएको र मेयर यादवले म नै नगरपालिकाको सबै थोक भएको हुँदा बाँकीको कुनै बोल्ने अधिकार नभई आपूmले भनेको ठाउँमा सहीमात्र गर्नुपर्ने बताउने गरेको आरोप पत्रकार सम्मेलनमा उपस्थित कार्यपालिकाका सदस्यहरुले आरोप लगाएका छन्। कार्यालय प्रमुख रोक्काले नै मेयर यादवलाई जथाभावी घुमाउने गरेको र मेयर यादवले कार्यालय प्रमुख रोक्काले भनेजस्तै गरी नगरपालिकाको विकास तथा निर्माणका सम्पूर्ण कामहरु ठप्प गराएको आरोप उपमेयर महतोको छ।

कार्यालय प्रमुख रोक्काले आफू दुई महिना घर विदामा गएको समयमा कार्यालयमा केही भद्रगोल भएको बताउँदै केही दिनमै आफूले सबै काम सपार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यालय प्रमुख रोक्काले अब केही दिनमै नगरपालिकाको सन्देश राम्रो जाने बताउँदै नगरपालिकामा भएको करोडौं रुपैया अनियमितताको विषयमा आफूलाई केही पनि थाहा नभएको बताए। नगर प्रमुख यादवले पनि अनियमितता भएको बारेमा आफूलाई केही थाहा नभएको दाबी गरेका छन्।

उपमेयर महतोले फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता छानबिनका लागि पत्रकार सम्मेलनमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेकी छन्।

एक नगरपालिका दुई कार्यालय 

कार्यपालिकाको दुई तिहाई बहुमतलाई थाहै नदिई फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल यादव र कार्यालय प्रमुख सागरकुमार रोक्काले नगर कार्यपालिकाको कार्यालय आफूखुसी सारेपछि एकै नगरपालिकामा दुई कार्यालय भएका छन्। पहिलेदेखि वडा नम्बर ८ मा रहेको पुरानो कार्यालयमा नगरपालिकाको कार्यपालिकाका २१ मध्ये उपप्रमुख सहित १७ सदस्य पुग्छन् भने वडा नम्बर ९ मा रहेको कार्यालयमा प्रमुखसहित कार्यपालिकाका ४ सदस्य पुग्छन्। कार्यपालिकालाई जानकारी नै नगराई र निर्णय नै नगराई अपारदर्शी ढंगले मेयर यादवको निर्देशनमा कार्यालय प्रमुख रोक्काले कार्यालयको बोर्ड र सबै सामान सारेको आरोप उपमेयर महतोको छ। कार्यालय प्रमुख रोक्काले कार्यालय दुई ठाउँमा रहेको स्वीकार्दै उपमेयरको लागि एकजना कार्यालय सहयोगी पठाएको बताए। 

प्रकाशित: २२ माघ २०७५ १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App