coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

काठमाडौं - युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्। रिपोर्टस क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्यापअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जानकारी दिए। साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यानमा देखिएको विवादले उग्र रूप लिएपछि आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

आइसीसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न  ढिला भएको बताए। सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइसकिएकाले अब प्रक्रियागत ढंगले क्यान माथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले प्रस्ट पारे। क्यानमाथिको निलम्बन फुकुवासँगै नेपाली क्रिकेट खेलाडीले पनि पारिश्रमिक पाउने मन्त्री विश्वकर्माले जानकारी गराए।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो। आइसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो। तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षदेखि तलब पाएका छैनन्। हिजो बसेको मन्त्रिपरिषद् बैठकले यूएईविरुद्धको टी–२० र एक दिवसीय सिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिएर सम्मानगर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए।

प्रकाशित: २२ माघ २०७५ ०६:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App