coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी शिविरबाट इरानलाई हेर्ने ट्रम्प योजनाले इराक क्रुद्ध

गत डिसेम्बरमा इराकमा तैनाथ अमेरिकी फौजको शिविर भ्रमणमा गएका बेला अमेरिकी सेनासँग राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प। फाइल तस्बिर : एजेन्सी

बग्दाद – इरानलाई हेर्नका लागि इराकमा अमेरिकी सैन्य उपस्थिति कायम गर्न आफूले चाहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिलाई इराकले असन्तुष्टि जनाएको छ।

ट्रम्पले आइतबार सिबिएससँग दिएको अन्तर्वार्तामाथि प्रतिक्रिया जनाउँदै इराकका राष्ट्रपति बारहाम सालेहले इराकमा अमेरिकी सैन्य शिविर राख्ने उनको चाहनाको विरोध गरेको बिबिसीले जनाएको छ।
जिहादी समूहलाई नियन्त्रण र निस्तेज गर्नका लागि इराकमा अमेरिकी सेनाको विश्वसनीय शिविर राख्न आफूलाई इच्छा लागेको ट्रम्पले आइतबार सिसिएससँगको अन्तर्वार्तामा बताएका थिए। उनले सोही अन्तवार्तामै आफूले इस्लामिक स्टेटलाई धेरै र इरानलाई इराकबाट थौरै हेर्न चाहेको पनि खुलासा गरेका थिए।

अमेरिकाले इराकमा सैन्य शिविर स्थापना गर्नका लागि बग्दादसँग कुनै अनुमति नलिएको राष्ट्रपति सालेहले सोमबार बताएका छन्। अमेरिकाले आतंकवादसँग लड्ने कार्य नै यथावत राख्नु पर्ने र अरुको अजेन्डामा लाग्न नहुने पनि बताएका छन्।

इराकी सुरक्षा फौजलाई तालिम प्रदान गर्न, सल्लाह दिन, इस्लामिक स्टेटसँग लड्नका लागि सहयोग गर्न हाल इराकमा अनुमानित पाँच हजार अमेरिकी सेना तैनाथ रहेका छन्। एक वर्षदेखि इराकको कुनै पनि क्षेत्रमा इस्लामिक स्टेटले पूर्ण रूपमा नियन्त्रण जमाएको छैन।

आइतबार सिबिएससँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भर्खरै सिरियाबाट दुई हजार अमेरिकी सेना फिर्ता ल्याउनेबारे गरेको निर्णयको पनि बचाउ गरेका थिए। उनले अमेरिकी गठबन्धनमा रहेको क्रुर्द नेतृत्वको मिलिसियालाई आइएसले नियन्त्रण जमाएको क्षेत्रलाई फिर्ता लिन सहयोग पुग्ने हिसाबले अमेरिकी फौज फिर्ताबारे निर्णय गरेको भन्ने जिज्ञासाको पनि बचाउ गरेका थिए।

सिबिएससँगको अन्तर्वार्ताकै क्रममा ट्रम्पले इराकको अनबर प्रान्तमा रहेको अल असद एयरबेसमा ठूलो संख्यामा अमेरिकी सेना चाँडै नै पुग्ने बताएका थिए। त्यसरी इराक पुग्ने अमेरिकी सेनाको प्रमुख कार्य नै इजरायललाई सुरक्षा प्रदान गर्नु र इरानमाथि आँखा राख्नु पनि हुने बताएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले इरानले विश्वमै सबैभन्दा ठूलो मात्रामा राज्य प्रायोजित आतंकवादलाई प्रशय दिइरहेको आरोप लगाउँदै आएको छ। इरानले आणविक हतियारको विकास पनि गर्न खोजिरहेको वासिङ्टनको आरोप रहेको छ। ‘हामीले विश्वसनीय सैन्य शिविर बनाउँदै छौं। हामीले त्यसलाई कायम राखिरहन पनि सक्छौं,’ सिबिएससँगको अन्तर्वार्तामा ट्रम्पले बताएका थिए। उनले त्यसरी सेना तैनाथ गर्नुका कैयौं कारणमध्ये एउटा कारण इरानमाथि नजिकबाट नियाल्नु भएको खुलासा गरेका थिए। उनले इरान विश्वकै लागि साँच्चिकैको समस्या भएको भन्दै नजिकबाट नियाल्नुपर्नेमा समेत जोड दिएको बिबिसीले उल्लेख गरेको छ।

इरानसँग सन् २०१५ मा विश्वका ६ शक्तिशाली राष्ट्रले आणविक सम्झौता गरेका थिए। त्यसरी सम्झौता गर्नेमा अमेरिकी तत्कालीन राष्ट्रपति बराक ओबामा पनि थिए। तर वर्तमान राष्ट्रपति ट्रम्पले भने निर्वाचन अभियानदेखि नै सो सम्झौता अपूर्ण भएको र नयाँ सिराबाट सम्झौता गर्नु पर्ने बताउँदै आएका थिए। त्यसैेले गत वर्ष ट्रम्पले इरानी आणविक कार्यक्रम रोक्नेबारे अमेरिकासहित विश्वका ६ शक्तिशाली राष्ट्रले गरेका आणविक सम्झौताबाट अमेरिकाले हात झिकेको घोषणा गर्दै तेहरानमाथि प्रतिबन्ध घोषणा गरेको थियो।

प्रकाशित: २२ माघ २०७५ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App