भगवान, सन्दुक, कुलमानबाट नेताले के सिक्ने ?

मङ्गलबार, २२ माघ २०७५, ०९ : ११ डा. कोषप्रसाद न्यौपाने

धेरैजसो राजनैतिक बहसहरूमा सफल नेता र नेतृत्वको उदाहरण दिनुपर्दा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला, अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वासिङ्टन र सोह्रौँ राष्ट्रपति अब्राहम लिंकन, सिङ्गापुरका पहिलो प्रधानमन्त्री ली क्वान यु, मलेसियाका प्रधानमन्त्री डा. महाथिर मोहमद, भारतीय स्वतन्त्र संग्रामका नेता महात्मा गान्धीको नाम अग्रपंक्तिमा आउँछ। आफ्नो देशमा आइपरेको विषम परिस्थितिमा पनि उल्लेखनीय नेतृत्व र अभिभावकत्व प्रदान गर्दै आफ्नो देशमा प्रजातन्त्र, सामाजिक न्यायको जग बसाली आर्थिक समुन्नतिमा पुर्‍याएकाले माथि उल्लिखित व्यक्तिहरू संसारभरि प्रसिद्ध छन्। नेपालमा पनि यदाकदा राजा महेन्द्र र बिपी कोइरालाको नाम लिइन्छ यद्यपि यी दुवैको कार्यकाल सफलभन्दा विवादास्पद नै देखिन्छ।  

नेता वा नेतृत्व भनेको हामीले बुझ्दै आइरहेको भाषण गर्ने व्यक्ति मात्रै होइन। नेताको आवश्यकता राजनीतिमा बाहेक अन्यत्र पनि उत्तिकै हुने गर्छ। नेता शब्दले यस्तो व्यक्तिलाई दर्शाउँछ जसले एउटा निश्चित गोल प्राप्त गर्नका लागि मानिसहरूको समूहलाई उत्प्रेरित गर्छ र अनुयायीहरूले उसमाथि विश्वास गर्छन्। नेता एउटा अफिसको हाकिम हुन पनि सक्छ जसले उक्त अफिसको व्यवस्थापन चुस्त राखी जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न सक्छ। नेता एउटा प्राथमिक विद्यालयको प्रधानाध्यापकदेखि विश्वविद्यालयको उपकुलपति हुन पनि सक्छ जसले आफ्नो संस्थालाई शैक्षिक रूपमा अत्यन्तै सबल (सेन्टर अफ एक्सेलेन्सी) बनाउन सक्छ। नेता हामीले बुझ्दै आइरहेको राजनीतिक व्यक्ति जसले गाउँ, सहर वा देशको रूपान्तर गर्ने उद्देश्यले नेतृत्व गरिरहेको हुन्छ, ऊ पनि नेता हुन सक्छ। तर  कुर्सीमा बस्ने सबै माथि उल्लिखित नेताहरूमा नेतृत्व गर्ने क्षमता नहुन पनि सक्छ। राजनीतिक नेतृत्वको कुरा गर्दा २०४६ सालमा बहुदलीय व्यवस्थाको आगमनपछि नेता र नेतृत्वको परिभाषा बदलिएको छ। आफ्नो मन पर्ने नेता चुन्न आम–निर्वाचन हुने गर्छ, तर नेपालमा हुने राजनैतिक चुनाव र र पद्धतिले सही नेतृत्व कहिल्यै चुन्न सकेन। केवल आम–चुनाव जनताहरूले कसलाई वा कुन समूहलाई आफूमाथि लुटिन पठाउने भन्ने अभ्यास भएको मात्रै देखिन्छ। त्यसैले यसरी चुनिएर आएका राजनीतिकर्मी नेता बन्नुको सट्टा एउटा समूहको नाइके बन्न पुग्छ जसले सम्पूर्ण शक्तिलाई आफ्नो अनुकूल बनाउन प्रयोग गर्दै आफू सुरक्षित हुने गरेको देखिन्छ। हामीले देखी र भोगी आइरहेका पनि छौँ कि नेतृत्वमा बसिरहेकाहरूले सही नेतृत्व दिन सकिरहेका छैनन्। यसबाट के स्पष्ट हुन्छ भने नेतृत्वको पद आफैँले केही राम्रो गर्छ भन्ने ग्यारेन्टी गर्न सक्दैन, जबसम्म नेतृत्वमा क्षमता, इच्छाशक्ति र नैतिकता हुँदैन। 

कुलमान घिसिङ, डा. भगवान कोइराला, डा. सन्दुक रुइतहरूलाई एक सफल नेतृत्वका रूपमा लिन सकिन्छ।

हरेक व्यक्ति आफ्ना लागि आफैँ नेता हुन्छ र उसले आफैँलाई नेतृत्व गरिरहेको हुन्छ। अझ संस्था वा देशको नेतृत्व गर्ने व्यक्तिको व्यक्तित्व सफा र आकर्षक हुनुपर्छ। होइन भने उसले आफ्नो मातहतमा काम गर्ने कर्मचारी वा राजनैतिक नेता हो भने आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिने नैतिकता राख्दैन। जस्तै विद्यार्थी राजनीतिसँगै वा स्थानीय, क्षेत्रीय, वा राष्ट्रिय राजनीतिमा आफ्नो सहकर्मीसँगै आर्थिक अनियमितता गर्दै आएको व्यक्ति प्रधानमन्त्री भयो भने उसले आफ्नो सहकर्मी मन्त्रीलाई भ्रष्टाचारको विरुद्धमा औँला ठड्याउन सक्दैन। सबै नेतृत्व तहमा एउटै गोल र स्रोत–साधन त हुँदैन तर जुनसुकै तहको भए पनि नेतृत्वले स्मार्ट गोल (विशिष्ट, मापनयोग्य, सहज, सान्दर्भिक, र समसामयिक) लाई कार्यान्वयन गर्न सक्ने हुनुपर्छ। जस्तै भत्केको बाटो बनाउन नसक्ने नेतृत्वले मोनो रेल र पानीजहाज ल्याउने कुरा कसरी पत्याउने ? यस्ता योजना दीर्घकालीन योजना होलान् तर सामान्य समस्याहरूलाई थाती राखी ठूला ठूला कुरा गर्ने नेतृत्व सफल हुन सक्दैन। नेतृत्वको सफलता ऊ कहाँ बसेर नेतृत्व गरिरहेको छ भन्ने कुराले पनि निर्धारण गर्छ। “द सिचुएसन लिडरसिप” पुस्तकका लेखक डा. पउल हर्सियले आफ्नो पुस्तकमा लिडर्सहरू बस्ने क्षेत्रलाई चार भागमा बाँडेका छन्ः मृत क्षेत्र (डेड जोन), आरामदायी क्षेत्र (कम्फर्ट जोन), विस्तारित क्षेत्र (स्ट्रेचिङ जोन), आतङ्कित क्षेत्र (प्यानिक जोन) । उनले लेखेका छन्, जुन ठाउँमा नेतृत्वमा बस्ने व्यक्तिहरू कम्फर्ट जोनमा मात्रै बस्न रुचाउँछ  र स्ट्रेचिङ जोनमा जान चाहँदैन ऊ बिस्तारै डेड जोनमा अन्त हुन्छ र उसले आफ्नो र संस्था दुवैको भलाइ हुने काम गर्न सक्दैन।  

नेतृत्वमा बसेका व्यक्तिहरूले आफ्नो मातहतमा काम गर्ने व्यक्ति वा टिमको क्षमता जस्तै (१) इच्छा नभएका–क्षमता नभएका, (२) इच्छा नभएका–क्षमता भएका, (३) इच्छा भएका–क्षमता नभएका, (४) इच्छा भएका–क्षमता भएका, बुझेर उनीहरूलाई मार्गनिर्देश गर्न सक्नुपर्छ। नेतृत्व आफैँ पनि इच्छा र क्षमता भएको भएन भने ऊ अन्ततः मृत्यु क्षेत्र (डेड जोन) मा पुग्छ र उसले नेतृत्व गरेको संस्था वा देशको अधोगति निश्चित हुन्छ। 

इच्छा र क्षमता दुवै नभएकाहरू कामभन्दा कुरा बढी गर्ने, झुटा आश्वासन बाँड्ने, राम्रो कामको जस आफैँ लिने र ढिलासुस्तीको दोष अरूलाई लगाउने, काम गर्ने वातावरण पैदा नगर्ने हुन्छन्। कतिपय नेतृत्वमा गर्न सक्ने क्षमता हुन्छ तर इच्छाशक्ति नै हुँदैन। यिनीहरूले आफूले पनि केही नगर्ने र अरूलाई पनि केही गर्न नदिने हुनाले यस्तो नेतृत्व संस्था वा देशका लागि निकै नै हानिकारक हुन्छन्। हाम्रो धेरैजसो राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र यिनै दुईवटा वर्गमा पर्छन्। त्यसैले हाम्रा हरेक संस्थाहरू चाहे त्यो हस्पिटल होस्, विद्यालय होस् वा सेवा प्रदायक संस्था होस्, अधिकांशले सर्वसुलभ सेवा दिन सकिरहेका छैनन्। एउटा साधारण उदाहरण, ३३ किलो सुन तस्करी गर्ने नाइकेलाई जनता सामु ल्याउन राजनीतिक नेतृत्व चुक्नु, ठूला ठूला भ्रष्टाचार जस्तै लाउडा–काण्ड, धमिजा–काण्ड, वाइड बडी काण्डमा राजनैतिक नेतृत्व संलग्न भएका तथ्यहरू बाहिर आउनु र यस्ता काण्डहरुको सेटिङ मिलाएर गुपचुप बनाइनुले नेतृत्वको इच्छाशक्ति र क्षमता दुवै छैन भन्ने स्पष्ट देखाउँछ। यहाँ अक्षम नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र सर्वोच्च अदालतका नेतृत्व पर्छन् जसले ठूला ठूला भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याएका धेरै उदाहरण हामीसामु छन्। अर्कोतर्फ केही गरौँ भन्ने इच्छा हुँदाहँुदै पनि अवसर वा तालिम नपाएर क्षमता वृद्धि गर्न र योगदान दिन नसकेका व्यक्तिहरूलाई प्रेरणा (मोटिभेसन) को आवश्यक पर्छ र यस्ता व्यक्तिहरूलाई नेतृत्वले समयमै चिन्न सके उसबाट उल्लेखनीय काम लिन सकिन्छ। नेतृत्वमा पुगेका केही विरलै व्यक्तिहरूसँग मात्र इच्छाशक्ति र क्षमता दुवै हुन्छ। यस्तो नेतृत्वको दीर्घकालीन भिजन हुन्छ, यिनीहरू आरामदायी क्षेत्र (कम्फर्ट जोन) बाट विस्तारित क्षेत्र (स्ट्रेचिङ जोन) मा पुगी आफ्नो संस्था वा जनता र आफ्नो गोलप्रति फोकस हुन्छ र उक्त गोल प्राप्ति गर्नका लागि जस्तोसुकै चुनौतीको सामना गर्न पनि पछि हट्दैनन्। यस्तो नेतृत्वले मात्र संस्थाको र राजनीतिक नेतृत्व हो भने देशको रूपान्तरण गर्न सक्छ। उदाहरणका लागि नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङ, शहीद  गङ्गालाल राष्ट्रिय  हृदय केन्द्रका तत्कालीन निर्देशक डा. भगवान कोइराला, तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुइतहरूलाई एक सफल नेतृत्वका रूपमा लिन सकिन्छ। हामी प्राकृतिक सम्पदाले भरिपूर्ण हुँदाहुँदै पनि आज हामी विश्वको आर्थिक तथा प्रविधिको क्षेत्रमा र परिवेशमा जहाँ छौँ त्यो केवल हरेक क्षेत्रको नालायक नेतृत्वको कारणले गर्दा भएको हो भन्दा अनुपयुक्त नहोला।    







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad