८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

विपक्षी नेतालाई युरोपेली राष्ट्रको मान्यता

राष्ट्रपति निकोलास मादुरोको सरकारविरुद्ध राजधानी कराकसमा आयोजना गरिएको विरोध प्रदर्शनमा सहभागी समर्थकलाई हात हल्लाउँदै भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडो। तस्बिर : एजेन्सी

लन्डन – बेलायत, फ्रान्स, जर्मनी, स्पेन र अन्य युरोपेली राष्ट्रले भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोदलाई अन्तरिम राष्ट्रपतिका रूपमा औपचारिक मान्यता दिएका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई राष्ट्रपतिको नयाँ निर्वाचनको मिति तोक्न गरेको आग्रहलाई उनले वेवास्ता गरेपछि युरोपेली मुलुकहरुले विपक्षी नेता गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बिबिसीले जनाएको छ।

राष्ट्रपतिको नयाँ निर्वाचन मिति तोक्न युरोपेली राष्ट्रहरुले मादुरोलाई आइतबारसम्मको समयसीमा दिएका थिए। राष्ट्रपति मादुरोले युरोपेली संघको आग्रहलाई अस्वीकार गर्दै संसदीय निर्वाचन गर्नमा भने आफू सकारात्मक रहेको बताएपछि युरोपेली राष्ट्रहरुले विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको बताइएको छ।

फ्रान्स, बेलायत, जर्मनी र स्पेनले मादुरोलाई राष्ट्रपतीय निर्वाचनको नयाँ मिति तोक्न आइतबारसम्मको समयसीमा दिँदै यदि त्यसो नभए विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने घोषणा गरेका थिए।

आइतबारको समयसीमासम्म पनि मादुरोले भेनेजुएलामा राष्ट्रपतीय निर्वाचन गर्न नयाँ मिति घोषणा नगरेपछि युरोपेली संघआबद्ध फ्रान्सलगायतका राष्ट्रले सोमबार आधिकारिक रूपमै विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएको घोषणा गरेका हुन्।

‘युरोपेली गठबन्धन राष्ट्रसहित बेलायत पनि गुआइडोलाई विश्वसनीय निर्वाचन सम्पन्न नभएसम्मका लागि भेनेजुएलाको अन्तरिम संवैधानिक राष्ट्रपतिको मान्यता दिएको छ,’ बेलायती विदेशमन्त्री जेरेमी हन्टले ट्विट गरेका छन्।

मादुरोलाई दबाब दिनका लागि प्रतिबन्धको प्रयोग गर्नेलगायतका सम्भावित विषयमाथि छलफल चलिरहेको बेलायती प्रधानमन्त्री थेरेसा मेका आधिधकारिक प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यद्यपि ती प्रवक्ताले भेनेजुएलामाथि कस्तो प्रकारको प्रतिबन्ध जारी हुन्छ भन्नेबारे भने केही नबताएको बिबिसीले उल्लेख गरेको छ। भेनेजुएलाको विषयमा युरोपेली संघकै लाइनमा समर्थन रहेको जनाउँदै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले पनि भेनेजुएली नागरिकसँग स्वतन्त्र र लोकतान्त्रिक रूपमा विचार राख्ने स्वतन्त्रता भएको बताएका छन्। उता, जर्मन चान्सलर एन्जेला मर्केलले पनि जापानको राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भेनेजुएलामा नयाँ निर्वाचन गर्नका लागि युरोपेली संघले गुआइडोलाई समर्थन गर्न सक्ने बताएकी छन्। त्यसैगरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नो भविष्यको निर्माता आफैं हुन पाउने अधिकार भेनेजुएली नागरिकसँग रहेको  बताएका छन्। ‘आफ्नो भविष्यको निर्माता आफैं हुन पाउने अधिकार भेनेजुएली नागरिकसँग रहेको हुँदा उनीहरुलाई आवश्यक ग्यारेन्टीसहित सहयोग पुर्‍याउनु कर्तव्य अन्तर्राष्ट्रिय समुदायको हो,’ पत्रकारसँग बोल्दै स्पेनी प्रधानमन्त्री सान्चेजले बताए।

ग्रिसजस्ता अन्य युरोपेली राष्ट्रहरुले भने सार्वजनिक रूपमै मादुरोलाई समर्थन गरेका छन्। ग्रिसले पनि नयाँ निर्वाचनको माग गर्दै जनवरी २१ मा युरोपेली संघले जारी गरेको विज्ञप्तिमा हस्ताक्षर गरेको भए पनि समर्थन भने मादुरोलाई गरेको छ। देशले हस्ताक्षर गरे पनि सत्तारुढ वामपन्थी सिज्रा पार्टीले आफ्नै विज्ञप्ति निकाल्दै भेनेजुएलाको वैधानिक राष्ट्रपतिका रूपमा निकोलास मादुरोलाई नै समर्थन रहेको बताएको थियो। इटाली सरकार भने भेनेजुएलाको मुद्दामा विभाजित बनेको बिबिसीले उल्लेख गरेको छ।

विपक्षीले सहभागिता नजनाएको गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचनमा मादुरो दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। सोही निर्वाचनमा निर्वाचित भएका उनले यसै वर्षको सुरुवातमा राष्ट्रपतिको शपथ लिएपछि भेनेजुएलाको राजनीति थप तनावयुक्त बनेको थियो।

विपक्षीहरुले गत वर्ष सम्पन्न राष्ट्रपतीय निर्वाचन अवैधानिक रहेको र सो निर्वाचनबाट जित निकालेको भनिएका मादुरो पनि अवैधानिक रहेकाले देशमा राष्ट्रपतिविहीनता अवस्था रहेको जिकिर गर्दै आइरहेका छन्। यस्तै जिकिर गर्दै गत महिना राजधानी कराकसमा आयोजित सरकार विरोधी प्रदर्शनका क्रममा विपक्षी नेता गुआइडोले आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए। गुआइडोको घोषणा आएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए। ट्रम्पकै बाटो पछ्याउँदै क्यानडा र अहिले आएर युरोपेली संघआबद्ध राष्ट्रहरुले पनि विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिएका हुन्।

भेनेजुएलाका विपक्षी नेता गुआइडोले देशको संविधानमा कल्पना गरिएको व्यवस्थाअनुसार आफू अन्तरिम राष्ट्रपति भएको घोषणा गरेका हुन्। भेनेजुएलाको संविधानअनुसार देशमा राष्ट्रपतिविहीनताको अवस्थामा राष्ट्रिय सभाका अध्यक्षले कार्यवाहक राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाल्छ। त्यसरी जिम्मेवारी सम्हाल्ने राष्ट्रपतिले संविधानअनुसार देशमा नयाँ निर्वाचन गराउने जिम्मेवारी पाएको हुन्छ।

अमेरिकी बाटो पछ्याउँदै विपक्षी नेता गुआइडोलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको मान्यता दिने युरोपेली संघआबद्ध राष्ट्रको घोषणालाई राष्ट्रपति मादुरो समर्थक रुसले भने विरोध जनाएको छ। युरोपेली संघआबद्ध राष्ट्रहरुले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको मस्कोको आरोप रहेको छ।

यसैबीच राष्ट्रपति पदबाट राजीनामा दिन राष्ट्रिय र अन्तर्राष्ट्रिय दबाव बढिरहेको भए पनि देशमा सम्भावित गृहयुद्ध हुन नदिन आफूले राजीनामा नदिने मादुरोले प्रष्ट पारेका छन्।

भेनेजुएलामा सैन्य हस्तक्षेप गरे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य भएर ह्वाइट हाउसबाट निस्कने एउटा टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति मादुरोले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एउटा टेलिभिजनसँग अन्तर्वार्ता दिने क्रममा भेनेजुएला संकट दूर गर्नका लागि विदेशी सेनाको हस्तक्षेप सम्भावित समाधान हुनसक्ने बताएका थिए। उनले आफ्नो देशको मामिला यसो वा उसो गर भन्ने अधिकार कसैसँग नभएको पनि जिकिर  गरेका छन्।

उता, भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष एवं आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता गुआइडोले भेनेजुएली नागरिकलाई मानवीय सहायता उपलब्ध गराउन आफूले अन्तर्राष्ट्रिय गठबन्धन बनाउने आइतबार घोषणा  गरेका छन्।

प्रकाशित: २२ माघ २०७५ ०३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App