coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सर्लाहीको सुन्दरपुर तीन दिनदेखि तनावग्रस्त

पटक–पटक झडपका कारणा दिनदेखि तनावग्रस्त सर्लाहीको सुन्दरपुरकाे गाउँमा साेमबार दिउँसाे गस्तीमा खटिएका सुरक्षाकर्मी । तस्बिर : टंक/नागरिक

सर्लाही - स्थानीय मदरसाको आर्थिक कारोबारका विषयमा स्थानीयबीच पटक–पटक झडप हुँदा सर्लाहीको सुन्दरपुर गाउँ तीन दिनदेखि तनावग्रस्त छ। अहिलेसम्म तीन जना घाइते भइसकेको र आधा दर्जन घरमा तोडफोड भएको स्थानीय बासिन्दाले बताएका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित रिजबिया हिदातुल मुस्लिमन मदरसामा आर्थिक अनियमिता भएको भन्ने विवादमा शनिबारयता पटक–पटक झडप भएको हो।

शनिबार कुटाकुट गर्ने क्रममा स्थानीय ४८ वर्षका मोहमद रेजा र ४५ वर्षका सेख सहिद दुलाल तथा आइतबार साँझ ढुंगा हानाहान गर्दा स्थानीय ३६ वर्षका सेख महम्मद फारुद घाईते भएका छन्। सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि घाइते दुलाललाई काठमाडौं लगिएको उनका दाई शेख अमानुलाले जानकारी दिएका छन्। मदरसा व्यवस्थापन समितिले गत शनिबार दिउँसो आयोजना गरेको बजेट सार्वजनिक कार्यक्रममा सुरु भएको विवादले उग्र रूप लिएको सर्लाही जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीको पहलमा त्यही राति भएको छलफलमा दुवै पक्षले आइन्दा विवाद नगर्ने सहमति गरे पनि पुनः आइतबार साँझ ढुंगा हानहान गरेका थिए। घटनालगत्तै सुन्दरपुरको प्रहरी चौकीबाट खटिएको प्रहरीले दुई राउन्ड अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर पारेको थियो।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरस्थित रिजबिया हिदातुल मुस्लमिन मदरसामा आर्थिक अनियमिता भएको भन्ने विवादमा शनिबारयता पटक–पटक झडप भएको हो।

ढुंगामुढा प्रहारबाट आधा दर्जन घरका खपडा र टाली फुटेका छन्। प्रहरीका अनुसार दुवै पक्षले आफ्ना समर्थकका घरमा लुटपाटसमेत भएको आरोप लगाइरहेका छन्। एक पक्षले शेख बद्रीको किराना पसल तोडफोड गर्दै सम्पूर्ण सामान लुटेको तथा अर्को पक्षले शेख लालुको घरमा ढुंगामुढा गर्दै अन्नपातलगायत लगेको आरोप लगाएका हुन्।

सोमबार बिहानसमेत दुई पक्षबीच भनाभन सुरु भएको थियो। तर तत्काल प्रहरी पुगेपछि झडप हुन पाएन। अहिले घटनास्थल सुन्दरपुर गाउँमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। गाउँको स्थिति सामान्य नहुञ्जेलसम्मका लागि ३० जनाभन्दा बढी सुरक्षाकर्मी सुन्दरपुर चौकीमा खटाइएको प्रहरी उपरीक्षक द्रोण पोखरेलले जानकारी दिए। ‘पुरुषहरू लुक्ने र महिलालाई वादविवादमा अगाडि सार्ने गरिएकाले समस्या भइरहेको छ,’ उनले भने, ‘सामान्य विवादलाई राजनीतिकरण गरिएपछि स्थिति भड्किँदै गएको हो।’

नेकपा र राजपा पक्ष एकातिर तथा कांग्रेस पक्ष अर्कातिर भएका कारण सामान्य विवादले ठूलो रूप लिएको स्थानीयको भनाइ छ। गत कात्तिकमा पनि रामनगर बोहर्वामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको थियो भने छर्रा लागेर सात जना घाइते भएका थिए।

प्रकाशित: २२ माघ २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App