४ वैशाख २०८१ मंगलबार
खेल

नेपालद्वारा शृंखला क्लिन स्विप

काठमाडौं – महिला नेत्रहीन क्रिकेटकै पहिलो अन्तर्राष्ट्रिय शृंखलामा नेपालले क्लिन स्विप गरेको छ।

पाकिस्तानको इस्लामाबादमा सोमबार भएको पाँचौं तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले पाँच खेलको शृंखला ४–० ले जितेको हो। पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो। दोस्रो खेल भने वर्षाका कारण रद्द भयो।

इस्लामाबादस्थित शालिमार क्रिकेट ग्राउन्डमा भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतक प्रहार गरेपछि नेपालले बिनाविकेट पाकिस्तानले दिएको १ सय २७ रनको लक्ष्य १०.४ ओभरमा पूरा गर्‍यो। मनकेसी र आशा रेग्मीले अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेटमा उच्च साझेदारी गर्दै जित दिलाए। मनकेसीले ३६ बल खेल्दै १५ चौकाको मद्दतमा नटआउट ८१ रन बनाइन्।

आशा रेग्मी ३३ बल खेल्दै ३२ रनमा अविजित रहिन्। त्यसअघि पाकिस्तानकी कप्तान राबिया शेहजादीले टस जित्दै ब्याटिङ रोजेकी थिइन्। लगातार तेस्रो पटक टस जितेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २६ रन बनायो। पाकिस्तानका लागि ओपनर निसाह बुक्सले सर्वाधिक ४० रन बनाइन् भने तायाबा फतिमाले २७ रन जोडिन्।
पाकिस्तानका सबै विकेट नेपालले रनआउटमार्फत लिएको हो। विकेटकिपर मनकेसीले ३ तथा विनीता पुनले २ रनआउट गरिन्। नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दी म्याच घोषित हुँदै २५ हजार प्राप्त गरिन्।

भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन्। शृंखला जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात पार्‍यो।
पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो। शृंखलाभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी ‘बी’ टु क्याटेगोरीतर्पm उत्कृष्ट बनिन्। नेपालकी मोना अर्यालले ‘बी’ वन क्याटेगोरीमा र विनीता पुन ‘बी’ थ्री क्याटेगोरीतर्पm उत्कृष्ट घोषित भए। पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेटकिपर घोषित भइन्।

प्रकाशित: २२ माघ २०७५ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App