८ वैशाख २०८१ शनिबार
राजनीति

नागरिकता पाउन वडाको सनाखत अनिवार्य

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो।

नागरिकता ऐन २०६३ मा नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका तीन व्यक्तिले सर्जमिनस्थलमै गरेको सनाखतका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सक्ने व्यवस्था छ। नागरिकताको प्रमाण निवेदनसाथ पेस गर्न नसकेको अवस्थामा स्थलगत सर्जमिन र निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने कम्तीमा तीन जनाको खनाखतबाट नागरिकता दिने व्यवस्थामा नयाँ विधेयकले केही संशोधन गरेको थियो। नयाँ विधेयकले नागरिकता प्रमाणपत्र लिइसकेका कम्तीमा तीन जना व्यक्तिले भन्ने शब्दको सट्टा कम्तीमा नागरिकताको प्रमाणपत्र लिइसकेका दुई व्यक्ति र सम्बन्धित स्थानीय तहका कम्तीमा एक जना पदाधिकारी वा सदस्य भन्ने शब्द राखेर विधेयक ल्याइएको थियो।

सरकारले ल्याएको यो संशोधित व्यवस्थालाई पनि राज्य व्यवस्था समितिले अस्वीकार गरेर वडा कार्यालयले मात्र सनाखत गर्न सक्ने व्यवस्था गरेको हो। यसैगरी आफ्नी श्रीमतीको नागरिकताका लागि श्रीमान्ले सनाखत नगरे पनि वडा कार्यालयले सनाखत गर्ने सहमति भएको छ। घरायसी झगडाका कारण श्रीमान्ले नागरिकताका लागि सनाखत नगर्ने गरेका उदाहरण रहेकाले यो व्यवस्था राखिएको समितिका एक सदस्यले बताए। श्रीमान्ले श्रीमतीलाई नागरिकताका लागि सनाखत नगरेमा कैद र जरिबाना दुवै सजाय हुने व्यवस्था गरिएको छ। नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि निवेदन परेपछि परिवारका सदस्यले तोकिएको अधिकारीसमक्ष उपस्थित भई सनाखत गर्नुपर्ने व्यवस्था छ। सनाखत गर्नका लागि परिवारका सदस्य उपस्थित नभएमा सम्बन्धित अधिकारी वा कार्यालयले निवेदन परेको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुनका लागि म्याद जारी गर्न सक्नेछ। जारी गरिएको म्यादभित्र सनाखत गर्न उपस्थित नहुने व्यक्तिलाई तीन महिनासम्म कैद र दस हजार रुपैयाँ दुवै सजाय हुने व्यवस्था छ।

समितिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि नेपालमै उपस्थित हुनुपर्ने र दलितले आफ्नो थर इच्छाअनुसार राख्न पाउने विषयमा सहमति गरेको छ। तर गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि अनिवार्य रूपमा नेपाली भाषा बोल्नैपर्ने व्यवस्थामा सहमति भएको छैन। यसैगरी विदेशी महिला र विदेशी पुरुषले नेपाली महिला वा पुरुषसँग वैवाहिक सम्बन्ध गरेमा कति समयपछि नेपाली नागरिकता दिने विषयमा सहमति बनेको छैन। यस्तै कुनै पनि नेपालीले नागरिकता प्राप्त गर्दा अनिवार्य रूपमा बाबुको पहिचान खुलाउनुपर्ने विषय विषयमा पनि सहमति भएको छैन। नागरिकता विधेयकमाथि एक चरण छलफल सकेर प्रतिवेदन तयार गर्न लागिएको समितिका सभापति शशि श्रेष्ठले जानकारी दिइन्। तीन दिनभित्र तयार भएपछि समितिले पुनः छलफल सुरु गर्ने सभापति श्रेष्ठले जानकारी दिइन्। विधेयकमाथि समितिले पाँच महिनादेखि छलफल गरिरहेको छ। समितिले सरोकारवालासँग एक चरण छलफल गरेको छ।

समिति सचिवालयले सहमति भएका विषयलाई सहमति भएको र नभएका विषयमा सहमति हुन बाँकी छुट्ट्याएर प्रतिवेदन तयार गर्न लागेको छ। उनले भनिन्, ‘प्रतिवेदन तयार भएपछि पहिला हामी समिति बस्छौं। त्यसपछि के गर्दा सहमति जुट्छ। त्यसबाटै अघि बढ्छौं, तत्काल मतदानतर्फ जाँदैनाैँ, श्रेष्ठले भनिन्।

सहमति भएका विषय

  • तीनजना व्यक्तिको सनाखतको आधारमा नागरिकता नदिइने
  • गैरआवासीय नेपाली नागरिकता लिन नेपालमै उपस्थित हुनुपर्ने
  • दलितले आफ्नो थर इच्छाअनुसार राख्न पाउने
  • श्रीमान्ले नागरिकताको सनाखत नगरेमा वडा कार्यालयले सनाखत गर्ने
  • श्रीमान्ले श्रीमतलाई नागरिकताका लागि सनाखत नगरेमा कैद र जरिबाना दुवै सजाय हुने

सहमति नभएका विषय

  • गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नका लागि अनिवार्य रुपमा नेपाली भाषा बोल्नैपर्ने
  • विदेशी महिला वा पुरुषले नेपाली महिला वा पुरुषसँग वैवाहिक सम्बन्ध गरेमा कति समयमा नेपाली नागरिकता दिने
  • कुनै पनि नेपालीले नागरिकता प्राप्त गर्दा अनिवार्य रुपमा बाबुको पहिचान खुलाउनुपर्ने

प्रकाशित: २२ माघ २०७५ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App