coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

६ वर्ष देखि एउटै नेतृत्व

काठमाडौं - साझा स्वास्थ्य सहकारीमा २०६८ सालदेखि एउटै नेतृत्व रहँदै आएको छ। साझा सहकारीको विनियममा हरेक वर्ष साधारण सभा बोलाउनुपर्ने र तीन–तीन वर्षको अन्तरालमा चुनावी साधारण सभा बोलाउनुपर्ने व्यवस्था छ।

चुनावी साधारणसभाले सञ्चालक समितिको नयाँ नेतृत्व चयन गर्ने प्रावधान छ।  तर २०६८ देखि साझा सहकारीको साधारण सभा र चुनावी साधारण सभा एकपटक पनि हुन सकेको छैन। चुनावी साधारण सभा बोलाउने विषयमा पनि सञ्चालक समितिका सदस्यहरूबीचमै विवाद छ। सरकारद्वारा मनोनीत सञ्चालक समितिका सदस्यहरू चन्द्रप्रसाद थानी, दिलमान चन्द र रमेश रिसाल चुनावी साधारण सभा बोलाउनुपर्ने पक्षमा रहेको र २०६८ चैत १७ गते सञ्चालक समितिका सदस्यमा निर्वाचित हिमबहादुर क्षेत्री, केशवनरसिंह राजभण्डारी र दिलिपमान सिंह चुनावी साधारण सभा बोलाउन आलटाल गर्दै आएको स्रोतको भनाइ छ।

साझा सहकारीका अध्यक्ष गिरिधारीलाल न्यौपाने भने दुवै पक्षलाई मिलाउने लाइनमा रहेको बताइएको छ। साझाको विनियमअनुसार साझा सहकारीका सात सदस्यीय सञ्चालक समितिहरूमध्ये चार सदस्य सरकारले मनोनीत गर्ने र बाँकी तीन सदस्य सर्वसाधाराण सेयर होल्डरबाट निर्वाचित हुने व्यवस्था छ।

६ वर्षदेखि साझाको एउटै नेतृत्व हुँदा त्यहाँ कार्यरत कर्मचारीको वृत्ति विकासमा अवरोध सिर्जना भएको र संस्था पनि क्रमशः धराशयी हुँदै गएको एक कर्मचारी बताउँछन्। ‘साझा स्वास्थ्य सहकारीको साधारण सभा बस्न नसक्दा नेतृत्व पनि परिवर्तन हुन सकेको छैन,’ उनले भने, ‘यो साझा स्वास्थ्यको विनियमविपरीत देखिन्छ।’ साझा स्वास्थ्यमा हाल दुई सय ४० कर्मचारी छन्। आफ्ना सदस्यहरू र सर्वसाधारण नागरिकलाई सुपथ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यबाट ६५ प्रतिशत सरकारी लगानीमा स्थापना गरिएको साझा स्वास्थ्य सहकारीमा विगत २५ वर्षदेखि त्यहाँका हाकिमहरूले चरम अनयमितता गर्दै आएका छन्।

प्रकाशित: २२ माघ २०७५ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App