८ वैशाख २०८१ शनिबार
समाज

पोल पुग्यो, बिजुली पुगेन

बेनीघाट रोराङ गाउँपालिकाको कोस्राङमा छरिएर रहेका बिजुलीका पोल। तस्बिर : सरिता/नागरिक

धादिङ - बिजुलीका केही पोल गाडिएका छन्, केही भुइँमा छरिएका। भुइँमा रहेका केही पोल पुरिँदै गइरहेका छन्। बेनीघाट रोराङ गाउँपालिका–१० कोस्राङ गाउँको अवस्था हो यो। त्यहाँ पोल त पुर्‍याइएका छन् तर बिजुली नहुँदा स्थानीय अन्धकारमै रुमलिन बाध्य छन्। गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर गाउँलेहरू आफैंले बोकेर लगेका हुन् ती पोल। उनीहरूले केही पोल आफ्नै हिसाबले गाडेका छन्। कति दूरीमा र कस्तो ठाउँमा उपयुक्त हुन्छ भन्ने विचारै नगरी हचुवामा गाडिएका ती पोलहरू आफैंमा समस्या बनेका छन्।

गाउँमा गतिलो सडक छैन। यसैपालि खनिएको सडक कामचलाउ मात्र देखिन्छ। अलपत्र पारेर छाडिएका पोलहरू ती सडक खन्ने क्रममै पुरिँदै गएका हुन्। बिजुली आउने आशामा पोल हेरेरै चित्त बुझाउनुपरेको स्थानीय ८२ वर्षीया देउमाया चेपाङले बताइन्। भन्दै थिइन्, ‘यो जुनीमा गाउँ झलमल्ल भएको हेर्न पाइएला जस्तो छैन।’ छरपस्ट अवस्थामा रहेका पोलहरूले पनि गाउँमा चाँडै बिजुली बल्नेमा अन्योलको संकेत गरिरहेका छन्।

कोस्राङ मात्र नभएर रोबाङ, गोइराङलगायत गाउँमा पुर्‍याइएका र गाडिएका पोलले बिजुली बल्ने अलिकति आशा जगाए पनि सोचेजसरी काम हुन नसक्दा स्थानीयमा निराशा छाएको छ। गाउँमा सिंहदरबार आएको भनिए पनि बिजुली आउन नसकेको देउमायाले गुनासो गरिन्। ‘बल्लबल्ल पोलचाहिँ आइपुगेको छ तर बिजुली आउने अत्तोपत्तो छैन,’ उनले भनिन्, ‘गाउँमा सडक नखन्दै बोकेर ल्याइएका पोल कहिले गाड्ने, तार कहिले टाँग्ने र गाउँ कहिले झिलिमिलि हुने ?’

कतिपयले वैकल्पिक ऊर्जाका रूपमा सोलार जोडे पनि अझै अधिकांश स्थानीय टुकी बालेर काम चलाइरहेका छन्। विद्युत् पुर्‍याउन सम्भव नभएपछि केही गैरसरकारी संस्थाले सोलार वितरण गरेका थिए तर त्यो बालुवामा पानीजस्तै भएको स्थानीय बताउँछन्।

स्थानीय तहको निर्वाचनदेखि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा नेताहरूबाट सडक र बिजुलीको आश्वासन यहाँका स्थानीयले नपाएका होइनन् तर चुनाव जितिसकेपछि त्यतातिर कसैको ध्यान गएको देखिँदैन। स्थानीय बासु चेपाङले सडक र विद्युतको कुरा चुनावका बेला उठ्ने तर चुनाव सकिएलगत्तै सेलाउने क्रम वर्षौंदेखि दोहोरिँदै आएको बताए। ‘जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै भएको छ,’ उनले भने। सम्बन्धित निकायले ध्यान नदिएकै कारण गाउँ झलमल्ल हुन नसकिरहेको उनको बुझाइ छ।बेनिघाट रोराङ गाउँपालिकाले विद्युत् क्षेत्रका लागि भनेर यस वर्ष ४० लाख रकम विनियोजन गरेको छ। बजेट गाउँपालिकाका सबै ठाउँमा विद्युत पुर्‍याउन पर्याप्त नभए पनि आगामी वर्षहरूमा बजेट विनियोजन गरेर विद्युत सेवा पु-याउने तरिकाले काम भइरहेको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले बताए। ‘यस गाउँपालिकामा ३० प्रतिशत घरमा अझै पनि बिजुली पुगेको छैन,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरे आगामी पाँच वर्षभित्र गाउँपालिकाका सबै तहका घरघरमा विद्युत् सेवा पुर्‍याउन सकिन्छ।’ यस ठाउँमा अघिल्लो वर्षदेखि विद्युत् प्राधिकरण र गाउँपालिकाले विद्युत् जडानका लागि काम सुरु गरेको थियो। ग्रामीण क्षेत्रमा विद्युत् विस्तारका लागि भौगोलिक कारण र पर्याप्त बजेट नहुँदा समस्या भएको घिमिरेले बताए। ‘बजेट अभावकै कारण सबै वडा झिलिमिली बनाउने योजना पूरा हुन सकेको छैन,’ घिमिरेले भने, ‘बल्लबल्ल पोल पुर्‍याएका छौं, बजेट अभावका कारण तार र ट्रान्समिटर पु-याउन सकेको छैनौं।’ गाउँ गाउँमा उपभोक्ता समिति बनाएर पोल किन्ने जिम्मा दिइएको गाउँपालिकाको भनाइ छ।

राजधानीछेउकै जिल्ला भएर पनि यहाँका कतिपय ठाउँ अझै पनि अन्धकार नै छन्। बेनिघाट रोराङ गाउँपालिकाले प्रायः बजेट सडकमा नै खर्च गरेका छन्। विकासको मुख्य पूर्वाधार भनेकै सडक भएकाले पहिलो प्राथमिकता बाटोघाटोलाई दिएको गाउँपालिकाले जनाएको छ। अन्य पूर्वाधारको विकास क्रमैसँग गर्दै जाने गाउँपालिकाको भनाइ छ।

प्रकाशित: २२ माघ २०७५ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App