१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबै प्रदेशबाट कांग्रेसको खबरदारी

काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकारले मुलुकमा आर्थिक समृद्धि र विकासभन्दा भ्रष्टाचार र अराजकता बढाएको आरोप लगाएको छ। ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष हुनलाग्दा मुलुकमा कुनै सकारात्मक संकेत नदेखिएको आरोप लगाउँदै कांग्रेसले सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरेको छ।

संविधानसभाबाट जारी नयाँ संविधान र मर्मविपरीत सरकार अघि बढेको आरोप लगाउँदै संघीयतालाई कार्यान्वयनभन्दा कमजोर बनाउन सक्रिय रहेको उसको ठहर छ। संसदीय व्यवस्था र संवैधानिक मान्यताविपरीत संवैधानिक परिषद् बैठक र त्यसले नियुक्ति सिफारिस गरेर संसदीय व्यवस्थालाई चुनौती दिएको विश्लेषण गर्दै सरकार एक्लैअघि बढ्न खोजेको दाबी गरेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि वर्षमा सोमबार एकैपटक काठमाडौंसहित ७७वटै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले वाइड वडी जहाज खरिदमा भएको अर्बौको घोटाला गरेको आरोप लगाएको छ। भ्रष्टाचारलाई सरकारले संस्थागत गरेको आरोप लगाउँदै निर्मता पन्तको हत्यारालाई ढाकछोप गरेको कांग्रेसको बुझाइ छ। ३३ किलो सुन काण्डमा ठूला माछाहरू कोको हुन् सार्वजनिक गर्न सरकार असफल भएको कांग्रेसको ठहर छ।

कम्युनिस्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धंगधंगी प्रधामन्त्रीमा देखिएको जनाउँदै सरकार सबै क्षेत्रमा असफल भएको कांग्रेसको दाबी छ। ‘कैलाली घटनाका आरोपी रेशम चौधरीलाई सांसदको शपथ गराएर सरकारले विधिको शासनको धज्जी उडाएको छ,’ काठमाडौं शान्तिवाटिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले भने, ‘अब यो सरकारबाट केही हुन्छ र गर्छ भन्नु व्यर्थछ। १०४ वर्ष लामो राणा शासन ढाल्ने, बहुदल ल्याउने तथा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्व लिएको पार्टीलाई कमजोर नठान्न सरकारलाई सचेत गराउँदै नेता सिंहले भने, ‘दुईतिहाइको दम्भ बोकेको सरकारले कुन समय जनताले बिदा दिन्छ त्यसको ठेगान छैन।’

सरकारको कामको जनताले मूल्यांकन गरीरहेको दाबी गर्दै उनले भने, ‘यो सरकारलाई के दह्रो सन्देश दिन चाहान्छु भने हामी प्रतिपक्षीको भूमिका निभाउँदा कांग्रेसलाई कमजोर ठान्छ भने त्यो ठूलो भुल हुनेछ।’केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुलुकमा सुशासन कायम गर्न नभएर भ्रष्टाचार गर्नका लागि दुईतिहाइको सरकार बनेको आरोप लगाए। सुन काण्ड, वाइडबडी काण्डसहितका प्रकरण एक वर्षमा भएको आरोप लगाउँदै जोशीले कांग्रेसलाई कमजोर नठान्न सचेत गराए। काठमाडौंको विभिन्न ठाउँबाट निस्केको विरोध जुलुस राजधानीको शान्तिवाटिकामा आएर सभामा परिणत भएको थियो। त्यसक्रममा सरकारविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका कांग्रेस नेता तथा कार्यकर्ताले वाइड वडीमा भएको भ्रष्टाचारको विषयलाई उठाउँदै पुत्ला पनि प्रर्दशन गरेका थिए।

प्रकाशित: २२ माघ २०७५ ०१:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App