७ वैशाख २०८१ शुक्रबार
राजनीति

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी प्राधिकरणलाई

काठमाडौं - सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ। माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गर्ने बताए। "परम्परागत शैली र मौलिकतालाई विेशेष ध्यान दिई पुनर्निर्माण कार्यलाई तत्काल अघि बढाइनेछ।" उनले भने।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद थियो। विज्ञहरुले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ।

प्राधिकरणले भूगर्भविद्हरुबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो। विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन्। "हामीले रानीपोखरीको वरिपरीको भाग पनि प्रताप मल्लकालीन शैलीमा पुनर्निर्माण गर्नेछौ।" प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

प्रकाशित: २१ माघ २०७५ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App