८ वैशाख २०८१ शनिबार
अर्थ

नेपालमा लगानी गर्ने यो उपयुक्त वातावरण हो : अर्थमन्त्री खतिवडा

काठमाडौं- नेपालमा निर्धक्क लगानी गर्न नेपाल अर्थमन्त्री डा. युवराज खतिवडाले साउदी अरबलाई आग्रह गरेका छन्। अर्थ मन्त्रालयमा साउदी अरबका राजदूत मुसैदविन सुलेमन आइ मारवानसँग सोमबार शिष्टाचार भेट गर्दै मन्त्री खतिवडाले अहिलेको समय नेपालमा लगानी गर्ने उचित समय भएको आश्वासन दिएका छन्।

अर्थमन्त्री खतिवडाले समयमै पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए। नेपालको सिँचाइ, ऊर्जा, पूर्वाधार विकासमा साउदी कोषले गरेको सहयोगप्रति धन्यवादासमेत दिएका थिए। करिब ४ लाख नेपाली कामदार साउदी अरबमा कार्यरत भएको भन्दै साउदी अरब नेपालीका लागि दोस्रो घर भएको स्मरण गराए। साउदी सरकारले नेपालीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण भूमिका खेलको र नेपालको अर्थतन्त्रमा समेत सहयोग पुगेकोप्रति साउदी सरकारलाई धन्यवाद दिए।

मन्त्री खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरबका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताए।

भेटमा साउदी अरबका राजदूत मारवानले साउदी अरेबिया फन्डमार्फत नेपालमा भूकम्पपछिको पूनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जनाए। नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

 

प्रकाशित: २१ माघ २०७५ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App