४ वैशाख २०८१ मंगलबार
अन्य

भयावह बन्दै क्यान्सर

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढेको छ। प्रत्येक वर्ष यहाँ विरामीको चाप निरन्तर बढ्दै आएको छ ।अस्पतालको तथ्यांकअनुसार गत पाँच वर्षमा अस्पतालमा बहिरंग सेवा (ओपिडी) मा उपचारका लागि आउने बिरामीको संख्या दोब्बर भएको छ। सन् २०१४ मा नौ हजार एक सय ९१ बिरामी ओपिडी सेवामा आएका थिए। यो तथ्यांक सन् २०१८ मा पुग्दा दोब्बर भएको छ। सन् २०१८ मा अस्पतालमा १८ हजार एक सय ५६ बिरामी ओपिडीमा आएका थिए।

भक्तपुर क्यान्सर अस्पतालका डाक्टर उत्सवमान श्रेष्ठले खानपानमा ध्यान दिन नसक्दा क्यान्सरका बिरामीहरु बढ्दै गएको बताए। आफ्नो स्वास्थ्य प्रति सचेत नहुँदा बिरामीको संख्या बढ्दै गएको उनी बताउँछन्। समयमै क्यान्सरको उपचार हुनसके निको हुने बताउँदै उनी आप्mनो स्वास्थप्रति सचेत रहन सबैलाई आग्रह गर्छन्।

भक्तपुर क्यान्सर अस्पतालको यस वर्षको तथ्यांकअनुसार फोक्सोको क्यान्सर हुनेको संख्या बढी छ। भक्तपुर क्यान्सर अस्पतालमा धेरै फोक्सोको क्यान्सरका बिरामीहरु आउने गरेका छन्। ती मध्ये ५५ वर्षीय रामेछापका नेत्रराज सुनुवार पनि फोक्सो क्यान्सरबाट जुध्दै छन्। उनले भने, ‘मलाई यो क्यान्सर लागेको थाहा भएको गत असोजमा हो ।’ उनलाई हल्का खोकी लाग्यो भनेर भरतपुर अस्पतालमा जँचाउने क्रममा क्यानसर भएको थाहा भयो। ‘म जाडरक्सी, खैनी कुनै पनि सूर्तिजन्य पदार्थ प्रयोग गर्दिन तर पनि मलाई क्यान्सर लाग्यो,’ उनले भने।

अस्पतालको तथ्यांकअनुसार २०१४ मा नौ हजार एक सय ९१, २०१५ मा नौ हजार तीन सय ९७, २०१६ मा १३ हजार सात सय १४, २०१७ मा १५ हजार सात सय १४ र २०१८ मा १८ हजार एक सय ५६ बिरामी उपचारका लागि अस्पताल आएका थिए ।अस्पतालमा बिरामीको चाप उत्तिकै देखिन्छ। अस्पताल परिसरमा प्रायः बिरामीहरुको भिडभाड नै भइरहेको हुन्छ।

एकजना बिरामी सम्झना कवां भन्छिन्, ‘डाक्टरलाई दुई मिनेट भेट्न दुई घन्टा कुर्नुपर्ने बाध्यता रहेको छ ।’ बिरामीको धेरै चाप भएर लामो लाइन बस्नुपर्दा  झ्याउ लाग्ने उनले बताइन्।

भक्तपुर क्यान्सर अस्पतालका प्रशासक राजाराम तजलेले बिरामीको सुविधालाई विशेष ध्यान दिने बताए। पहिलेभन्दा अहिले क्यान्सरका बिरामीहरु सचेत भएको उनले बताए। उनले भने, ‘पहिलापहिला भए क्यान्सरका बिरामीहरु अन्तिम स्टेज र तेस्रो स्टेजमा अस्पताल आउँथे। जसले गर्दा धेरै बिरामीलाई बचाउन सकिँदैनथ्यो ।’ उनले थपे, ‘केही वर्षदेखि भने बिरामीहरु पहिलो स्टेजमै आइराखेका छन्। बिरामीहरुलाई निको पारेर पढाउन पाउँदा खुसी लाग्छ।’

प्रकाशित: २१ माघ २०७५ ०८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App