८ वैशाख २०८१ शनिबार
अन्य

शाली नदीमा माधवनारायण पार्क बन्दै

माधवनारायण स्वस्थानी तथा शालीनदी सुधार समितिको पहलमा शंखरापुर नगरपालिका–७ स्थित शालीनदीको किनारमा माधवनारायण पार्क बन्ने भएको छ। बाह्रै महिना भक्तजनलाई भिœयाई नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउने लक्ष्यले १२ रोपनी ४ आना सार्वजनिक जग्गामा उक्त पार्क बनाउन लागिएको हो।

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले पौष शुक्ल पक्षदेखि माघ शुल्क पक्षसम्म बर्सेनी एक महिना लाग्ने मेलालाई बाह्रै महिना श्रद्धालु भक्तजनलाई आकर्षण गराउने लक्ष्यले पार्क निर्माणको काम सुरु गरिएको बताए। ‘शालीनदीमा बाह्रै महिना भक्तजनको चहलपहल बढाउन पार्क निर्माणको काम सुरु गरिएको हो,’ उनले भने, ‘नगरपालिकाले पार्कका लागि आर्थिक वर्ष २०७४/७५ मा २५ लाख बजेट छुट्याएकोे थियो। वडाले विभिन्न स्रोत तथा दाता खोजिदिने वचन दिएको छ।’

माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका सल्लाहकार प्रवीणमान सिहंले पार्कमा विभिन्न आकर्षणहरू राखिने बताए। ‘पार्कमा विभिन्न आकर्षणहरू निर्माण गरिने भएको छ,’ उनले भने, ‘निर्माणाधीन माधवनारायण पार्कमा ४ ओटा वाटर पट, १/१ ओटा पोखरी र बगैंचा  निर्माण गरिने भएको छ।’

वडा ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिको पहलमा काम भइरहेको बताए। ‘शंखरापुर नगरपालिकाका ६ र ७ वडामा रहेका ८ टोलीलाई २÷२ वर्षमा पालैपालो समितिको काम गर्न जिम्मा दिइन्छ,’ उनले भने, ‘माधवनारायण स्वस्थानी तथा शालीनदी सुधार समितिको नाममा रसिद काटिन्छ र १० हजारभन्दा बढी रुपियाँ चन्दा दिनेको नामावली शिलालेखमा उल्लेख गरिन्छ। यो वर्ष ६० लाखभन्दा बढी रुपियाँ  चन्दा संकलन हुने अपेक्षा छ। वडामा ठूलो बजेट नभएको हुँदा चन्दा उठाउने तथा वडाले नागरिकलाई गुहार्दै आएका छौं ।’

शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले शंखरापुर नगरपालिकालाई विश्वमै पर्यटकीय नगरीका रूपमा चिनाउने लक्ष्यले पार्क बनाएको बताए। उनका अनुसार पर्यटकीय क्षेत्रको विकास गरेर नगरलाई विश्वमै चिनाउने लक्ष्य छ। ‘यहाँ चीन, पाकिस्तान, पोर्चुगल, बंगलादेश, भारत जस्ता विभिन्न देशबाट पर्यटकहरू आउँछन्,’ उनले भने, ‘वृद्धहरूलाई मन बहलाउन, बालबालिकालाई स्वच्छ वातावरणमा घुलमिल गराउन, भाकल पूरा गर्न, स्नान गर्न र बिहे ब्रतबन्ध गर्न आउनेहरूको सुविधालाई ध्यानमा राखी पार्क निर्माण थालेका हौं ।’ उनका अनुसार साढे ३ करोड रुपियाँमा बन्न लागेको उक्त पार्क तीन वर्षमा सम्पन्न हुनेछ।

प्रकाशित: २१ माघ २०७५ ०८:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App