८ वैशाख २०८१ शनिबार
अन्य

‘हामीले काम गर्ने जिम्मेवारी नै पाएनौं’

सानुनानी विश्वकर्मा, चन्द्रागिरी नगरपालिका, नगर कार्यपालिका सदस्य

तपार्इं जनप्रतिनिधी भएर आएपछि के–के काम गर्नुभयो ?
स्थानीय निकाय २० वर्षसम्म जनप्रतिनिधीविहीन रह्यो। लामो समय जनप्रतिनिधी नहुँदा स्थानीय तह अस्तव्यस्त भयो। हामी निर्वाचित भएर आएको पहिलो वर्ष धेरै काम गर्न सकेनौं। नगरपालिका तथा वडा कार्यालयमा नगरकार्यपालिकाको सदस्यको जिम्मेवारी धेरै छैन। हामीलाई काम गर्ने धेरै इच्छा र चाहना छ। तर, जिम्मेवारी नपाउँदा काम गर्नै सकेका छैनौं। नगरकार्यपालिकाको बैठकमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आइरहेका छौं। जनताले पाएका पीरमर्कालाई नगर कार्यपालिकाको बैठकमा उठाउँदै आइरहेका छौं। अघिल्लो वर्ष नगरकार्यपालिकाले सदस्यका लागि कुनै बजेट विनियोजन गरेन। त्यसैले कुनै योजना अघि सार्न पाएनौं। हामीले जनताका समस्यालाई प्रथामिकतामा राख्दै काम गर्दै आइरहेका छौं।

नगरकार्यपालिकाको सदस्यलाई काम गर्ने वातावरण कस्तो छ त ?
नगर कार्यपालिकाको सदस्य नगर कार्यपालिकाको बैठकमा अनिवार्य रुपमा उपस्थित हुँदै आइरहेका छौं। त्योबाहेक नगरपालिका र वडा कार्यालयले छुट्टै जिम्मेवारी सुम्पिएको छैन। अहिले हामी भूमिकाविहीन जस्तै भएका छौं। जनताले हामीलाई केही गरेनन् भन्छन्। तर, जिम्मेवारी पाएर काम गर्न नसक्दा मन खिन्न हुने रहेछ। हामीले नगरकार्यपालिकाको बैठकमा जनताको भावनाअनुसार कार्यसम्पादन गर्दै आइरहेका छौं।

नगरकार्यपालिका सदस्यका रुपमा केकेक योजना अघि सार्नुभएको छ ?
गत आवमा नगरपरिषद्बाट नगरकार्यपालिका सदस्यले सञ्चालन गर्ने योजनाको लागि एक रुपैयाँ बजेट पनि विनियोजन भएन। जसले गर्दा कुनै पनि योजना अघि सार्न सकेनौं। तर, चालु आवदेखि नगरपरिषद्को बैठकबाट आठ सदस्यले सञ्चालन गर्ने योजनाको लागि ६० लाख बजेट विनियोजन भएको छ। उक्त बजेटले महिलाहरुको लागि तीन महिने सिलाइबुनाई तालिम सञ्चालन गर्ने तयारी गरेका छौं। दलित तथा आर्थिक अवस्था कमजोर भएका महिलालाई खरायोपालन, बाख्रापालनलगायतका कामलाई प्रोत्साहनमूलक कार्यक्रम अघि सारेका छौं। योजना बनाएर व्यवस्थित ढंगले बजेट सदुपयोग गर्दै अघि बढ्ने योजना छ।

जनताबाट कस्ता गुनासा आउने गर्छन् त ?
जनताबाट फरक–फरक खालका जनगुनासा आउने गरेका छन्। कसैले खानेपानीको व्यवस्थापन गरिदिनुपर्‍यो भन्छन्। कसैले सडक कालोपत्रे गरिदिनुपर्‍यो भन्छन्। कसैले फोहोरैमला व्यवस्थापन गर्न अनुरोध गर्छन्। तर, हामीसँग पर्याप्त स्रोतसाधन नहुँदा जनताले अपेक्षा गरेअनुसारको काम गर्न सकेका छैनौं। अर्काेतर्फ नगरकार्यपालिका सदस्यको जिम्मेवारी पनि कम भएकाले काम गर्न अप्ठेरो परेको छ ।

नगरक्षेत्रको खानेपानीको समस्या कसरी व्यवस्थापन गर्दै हुनुहन्छ ?
नगरपालिकामा पर्याप्त खानेपानीको स्रोत छैन। जसका कारणले नगरवासीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। मागअनुसार आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या भएको हो। नगरपालिकाले खानेपानीको समस्या समाधान गर्नका लागि दीर्घकालीन योजना अघि सारेको छ। आगामी पाँच वर्षसम्म एक घर एक धारासहितको खानेपानीको व्यवस्थापन गर्ने गरी जुटेका छौं। म वडा नम्बर तीनबाट प्रतिनिधित्व गर्छु। त्यहाँ अन्य वडामा जस्तो खानेपानीको समस्या छैन।

नगरकार्यपालिका सदस्यले केकस्ता सेवासुविधा पाएका छन् त?
नगरपालिकाको बैठकले नगरकार्यपालिकाको सदस्यले मासिक ७ हजार तलब दिँदै आइरहेको छ। नगरकार्यपालिकाको प्रतिबैठक एक हजार रुपैयाँ भत्ता पाएका छौं। त्योबाहेक अन्य कुनै सुविधा छैन ।

महिला तथा दलित समुदायका लागि कस्ता योजना अघि सार्नुभएको छ ?
महिलामाथि विभिन्न प्रकारका विभेद हँुदै आएका थिए। अहिले पनि विभिन्न प्रकारका विभेदबाट दलित महिला मुक्त भएका छैनन्। दलित समुदायका पुरुष जाँडरक्सी खाएर घरमैं बस्ने गरेको र दलितमहिला भने विभिन्न प्रकारको श्रम गर्न बाध्य भएका छन्। त्यसैले हामीले दलित महिलाको अवस्था सुधार्नका लागि खरायोपालन, बाख्रापालन, सिलाइबुलाई तालिम दिँदै उनीहरुको जीवनस्तर उकास्नेतर्फ अगाडी बढिरहेका छौं ।

तपाईंको समुदायबाट राजनीतिमा आउन कतिको सहज रहेछ ?
सर्वप्रथम महिलालाई राजनीतिमा आउनै धेरै गाह्रो छ। त्यसमा पनि दलित समुदायबाट अझै गाह्रो हुने रहेछ। राजनीतिमा लागेपछि जुनसुकै बेला घरबाट निस्किनुपर्ने हुन्छ। निस्कँदा घरबाट निस्कँदा विभिन्न प्रकारका समस्यालाई पन्छाउँदै अघि बढ्नुपर्ने हुन्छ। समस्या आयो भनेर समस्याबाट भोग्ने नभएर समस्यालाई कसरी समाधान गर्नेतर्फ अग्रसर भएर अगाडी बढेमा कुनै समस्या नहुने रहेछ। घरपरिवारको साथ सहयोग भएर नै राजनीतिमा अघि बढ्न पाइरहेकी छ।

कस्तो नगर बनाउने योजना राख्नुभएको छ ?
जनताको आधारभूत आवश्यकता पूरा गर्ने लक्ष्यसहित अगाडी बढिरहेका छौं। खानेपानी, सडक, ढल, फोहोरमैला व्यवस्थापनलगायतका समस्या समाधान गरेर स्वच्छ र हराभरासहितको नगरक्षेत्र बनाउने लक्ष्य छ। नगरक्षेत्रमा रहेका महिलालाई स्वरोजगार गरेर सहज ढंगले जीवनयापन गर्न सक्ने बनाउने लक्ष्य राखेकी छु।

                                                                                                     प्रस्तुति  : हिमाल लम्साल
 

प्रकाशित: २१ माघ २०७५ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App