८ वैशाख २०८१ शनिबार
समाज

अन्य आयोजनाबाट बचेको पैसाले एम्बुलेन्स खरिद

तस्बिरः गाउँपालिकाले खरिद गरेका एम्बुलेन्स ।

सुर्खेत – सल्यान छत्रेश्वरी गाउँपालिकाले गत आर्थिक वर्ष सञ्चालित विभिन्न आयोजनाबाट बचेको रकमले तीन वटा एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले खरिद गरिएका एम्बुलेन्स गाउँपालिकाभित्र सञ्चालित बर्थिङ सेन्टरका लागि उपलब्ध गराइएको बताए।

अध्यक्ष केसीले भने, ‘एम्बुलेन्स तीन वटा बर्थिङ सेन्टरलाई हस्तान्तरण गरिसकेका छौं ।’गाउँपालिकामा चार वटा बर्थिङ सेन्टर छन् । गाउँपालिकाले खरिद गरिएका एम्बुलेन्स बर्थिङ सेन्टर भोटेचौर, झिम्पे र दमाचौरलाई हस्तान्तरण गरेको छ । गाउँपालिकामा यसअघि रहेको एउटा एम्बुलेन्स दमाचौर स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको छ । ‘समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन नसक्दा गाउँघरमा अकालमै धेरैले ज्यान गुमाउनुपर्ने बाध्यता छ’, अध्यक्ष केसीले भने, ‘त्यसैलाई ध्यानमा राखी आन्तरिक स्रोतबाट एकै पटक तीन वटा एम्बुलेन्स किनेका हौं ।’ गाउँपालिकाले अति विपन्नका लागि एम्बुलेन्समा लाग्ने शुल्कमा छुट दिने निर्णय पनि गरेको छ।

साविकका चार वटा गाविस मिलेर बनेको छत्रेश्वरी गाउँपालिकामा सात वटा वडा छन् । गाउँपालिकामा एम्बुलेन्स नहुँदा सदरमुकाम खलंगा र श्रीनगरबाट एम्बुलेन्स मगाउनुपर्ने बाध्यता थियो । ‘गाउँपालिका आफैंले एम्बुलेन्स खरिद गरेर स्वास्थ्य संस्थालाई उपलब्ध गराएपछि बिरामी पर्दा सहजै स्वास्थ्य संस्थासम्म पुग्ने वातावरण बनेको छ’, स्थानीय राजबहादुर बुढाथोकीले भने, ‘टाढाबाट एम्बुलेन्स मगाउनुपर्ने र महँगो भाडा तिर्नुपर्ने बाध्यता अब हट्यो।’

गाउँपालिकाले ३१ लाख ५० हजार रुपैयाँ खर्चेर एम्बुलेन्स खरिद गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘प्रति एम्बुलेन्स १० लाख ५० हजार रुपैयाँमा किनेका हौं ।’ अध्यक्ष केसीले भने, ‘चालू आर्थिक वर्षमा पनि थप एम्बुलेन्स खरिद गर्ने योजना गाउँपालिकाले बनाएको छ ।’ उनले सबै वडामा एम्बुलेन्स उपलब्ध गराउने लक्ष्य गाउँपालिकाको रहेको बताए।

प्रकाशित: २१ माघ २०७५ ०७:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App