८ वैशाख २०८१ शनिबार
अन्य

फेसनमा ल्होछार पहिरन

संगीता तामाङ सोनाम ल्होछार मनाउने तरखरमा व्यस्त  छिन्। बौद्ध बस्ने उनी हरेक वर्षको ल्होछारमा तामाङ पहिरनमा सजिने गर्छिन्। ‘यसपालीको ल्होछारमा भने म हाम्रो तामाङ समुदायको पहिरनभन्दा फरक गर्ने तरखरमा छु’ उनले भनिन्। तामाङको मौलिक डे«सलाई फ्युजन गरेर नयाँ लंग ड्रेस बनाएर लगाउने योजना उनको छ। भन्छिन्, ‘हरेक वर्षको ल्होछारमा लुंगी र चोली लगाए पनि यसपाली भने चोली डिजाइनको लंग ड्रेस बनाएकी छु ।’ लंग ड्रेसमा तामाङ टोपी र हल्का गहना लगाउने योजना रहेको उनले बताइन्।

पछिल्लो समय फेसनलाई फलो गर्नेहरुले प्राचीन पहिरनलाई निकै महत्व दिएको पाइन्छ। फेसनलाई फलो गर्ने जमातमा मौलिक पहिरनलाई मिक्स्अप गरी नयाँ डिजाइन बनाएर लगाएको देख्न सकिन्छ। मौलिक पहिरन विशेष चाडपर्वमा मात्र नभएर दैनिक जीवनमा समेत प्रयोगको गर्नेको जमात ह्वात्तै बढेको व्यापारीहरुको  अनुभव छ। उनी भन्छिन्, ‘हाम्रो लागि सोनाम ल्होछार उत्साहपूर्वक मनाइने पर्व हो, जहाँ नयाँ वर्षको थालनी भएकाले वर्षौपछि घरपरिवार भेट हुने, रमाइलो गर्ने, घरआँगन सरसफाई लगायत कूल पूजा गर्ने गर्छौं ।’ तामाङ समुदायको सोनाम ल्होछारमा तामाङ परिकारहरु अनिवार्य नै हुने उनी बताउँछिन्। पारिवारिक जमघटमा तामाङ खानाका परिकारहरु खाएर आपसमा शुभकामना आदानप्रदान गरेर रमाइलो गरेर मनाउने उनी बताउँछिन्।

खेम मोक्तान गोइलो सपका सञ्चालक हुन्। विगत २ वर्षदेखि जनजाति समुदायको पोसाक व्यापार गर्छन्। विशेषतः अधिकांश युवा पुस्तामा तामाङ समुदायको पोसाक प्रति निकै मोह बढेको उनी बताउँछन् ।

अघिपछिभन्दा ल्होछारको समयमा व्यापार राम्रो हुने उनी बताउँछन्। महिलाको लागि विभिन्न गरगहना र स्यामा (लुंगी), आंग्रे (चोली),  केई (पटुकी), मखमलको थोप्कु (गम्छा), पागी (टोपी) र पुरुषको लागि कानमा वीरबल रिङ, स्यामो, हाङग्रे, बख्खु लगाएतका लुगाको माग रहेको उनी बताउँछन्। तामाङ समुदायको सोनाम ल्होछारमा साना बच्चादेखि पाका उमेरका मौलिक पोसाक खरिद गर्न आउने उनी सुनाउँछन्। उनी भन्छन्, ‘पछिल्लो समय भिन्नभिन्न पहिरनमा मोह बढेको छ। सांस्कृतिक कार्यक्रम, चाडपर्वमा विशेष खोज्ने गर्छन्।’

कीर्तिपुरकी माया लामा आलुम, बाबर, फुरौला बनाउनमा व्यस्त छिन्। वरपर दिदी बहिनी र आफन्त भएकाले पालैपालो घरघरमा गएर बनाउन लागेको उनले बताइन्। ‘चाडपर्वमा आफन्त नजिक हुनुको रमाइलो यही त हो, एक आपसमा सहयोग गर्ने परिवार मिलेर ल्होछारलाई स्वागत गर्न तयारी गरिसकेका छौं,’ उनले भनिन्। मायाले यो वर्षको नयाँ वर्ष (सोनाम ल्होछार) मा तामाङ पहिरनमा सजिने योजना बनाएकी छिन्। शिरमा मारम्हेन्दो (शिरपूmल), कानमा चेप्टे सुन, हातमा पैशे औंठी, घाँटीमा जन्तर, नारिल (पहेलो पोते), मुगाको माला लगाउने योजनामा छिन्। उनी भन्छिन्, ‘हाम्रो तामाङको पहिरनमा स्यामा (लुंगी), आंग्रे (चोली) अनिवार्य हो, लुंगीमा केई (पटुकी), मखमलको थोप्कु (गम्छा), पागी (टोपी) लगाउन अनिवार्य नै हुन्छ तसर्थ तामाङ पहिरनमा शिरदेखि पाउसम्म सजिने योजनामा छु ।’ सोनाम ल्होछारको दिन एक जोर चोखो, नयाँ लुगा लगाउनुपर्ने मान्यता रहेको उनले बताइन्।

अचेल चाडपर्व अनुसारको पोसाकमा सजिनु नौलो कुरा होइन। ल्होछार, जात्रा, माघीलगायत मौलिक पहिरनमा सजिनेको जमात निकै बढेको छ। रिना दोङ प्लस टु अध्यनरत विद्यार्थी हुन्। सोनाम ल्होछारमा उनी पहिलोे पटक तामाङ समुदायको पहिरनमा सजिने योजनामा छिन्। ‘यो वर्षको ल्होछार मेरो लागि पहिलाको भन्दा निकै फरक छ। पहिलो पटक मैले मेरो पहिरनमा सजिने योजनामा छु। नाकमा फुलीदेखि गहना र लुगाको सेट मिलाएर लगाउने जमर्कोमा छु,’ उनले भनिन्। तमाङ समुदायको पहिरन निकै मनपर्ने उनले बताइन्।

रिना जस्तै तामाङ पहिरनमा सजिन रुचाउछिन् रेनुका शर्मा। पाटन बस्ने उनी रिनाकी साथी हुन्। ‘यो वर्षको ल्होछारमा म पनि तामाङ पहिरनमा सजिने योजनामा छु। लुंगी, मखमलको चोली र पछ्यौरी र हल्का गहना लगाउँछु।’

सुरज तामाङ विद्यार्थी हुन्। हरेक वर्षको ल्होछारमा उनी तामाङ पहिरनमा सजिने उनी यस वर्ष ल्होछाको अवसरमा तोङसर (कमिज), कङ्सुर (हाफ कोट) र तागी (टोपी) लगाउने योजनामा छन्। ‘सोनाम ल्होछारको अवसरमा तामाङ पोसाकमा सजिन पाउने भएकाले मलाई ल्होछार निकै मन पर्छ,’ उनले भने। ल्होछारले टाढा–टाढाका आफन्त, साथीभाइसँगको जमघट र खानपान हुने भएकाले आपसी सद्भावना बढाउने उनी बताउँछन्।

पछिल्लो समय जातीय मौलिक पहिरन प्रति मानिसहरु निकै उत्सुक भएको प्रवृत्ती देख्न सकिन्छ। त्यसो त तामाङ ड्रेसको चल्ती निकै चलेको नै छ। तामाङ समुदायले मात्र नभएर गैरतामाङहरुले पनि फेसनको रुपमा सो समुदायको लुगा लगाएको पाइन्छ। मनपर्ने रंगमा तामाङ पहिरनमा सजिनेहरुमा युवा पुस्ताको संख्या बढ्दो देखिन्छ। ती पहिरनमा पनि फ्युजन, रिमेक गरेर लगाउने फेसन निकै चलेको छ। ल्होछारमा गैरतामाङले लगाउँदा आपसी सदभावना बढ्ने बताउँछन्, खेम मोक्ताङ।

प्रकाशित: २१ माघ २०७५ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App