४ वैशाख २०८१ मंगलबार
अन्य

‘काठमाडौंले आफ्नो अस्तित्व गुमाइसकेको छ’

सुनिता दुलाल, गायिका

तपार्इंको विचारमा सहर भनेको के हो ?
यो प्रश्नको जवाफ मेरो विचारमा मैले दिइरहनु पर्दैन। किनकी निश्चित मापदण्ड पूरा भएपछि मात्रै सहर बन्छ। बिजुलीबत्ति, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र तोकिएको निश्चित जनसंख्या भएको ठाउँलाई सहर भन्ने चलन छ। अर्को पक्षमा हेर्दा, सहर भनेको व्यवस्थित पूर्वाधारयुक्त सहर हो। सहरमा इतिहास र वर्तमान दुवै झल्कने गरी विकासका काम गरिएको हुन्छ। ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। सहरको प्रशासन र सरकारी निकाय हरेक कामको दृष्टिकोणमा सचेत र जिम्मेवार हुन्छन्।

घुमेका मध्ये मनपर्ने सहर ?
पोखरा र धरान निकै मनपर्छ। पोखरा नेपालको शान्त र रमणीय सहरभित्र पर्छ। यो सहरको सबै पक्ष व्यवस्थित छ। पोखरामा धुँवाधुलो र प्रदूषण कतै देखिँदैन। फराकिला सडक, फेवाताल र सहर वरिपरिका पर्यटकीय मार्गले पोखरा  पर्यटकको आकर्षण केन्द्र बनेको छ।

उपत्यका कस्तो लाग्छ ?
आम नागरिकलाई जस्तै हो मेरो पनि काठमाडौं बारेको धारणा छ। अस्तव्यस्त र बेफुर्सदिलो सहर हो काठमाडौं। लाग्छ, यो सहर यती हतारमा छ कि यसलाई पछि फर्किएर हेर्ने फुर्सद नै छैन। अस्तव्यस्त भीड, जाम र बेपरबाह नागरिक बसोबास गर्ने थलो हो भएको छ काठमाडौं। पछिल्ला १० बर्षमा काठमाडौं निकै बिग्रियो। मानिसकै हेलचेक्र्याइँले बिग्रिएको हो। पहिले त्यति सुन्दर काठमाडौं अहिले कुरूप भयो। मानिस यहँ थुप्रिए, सरकारले यहाँ भएका सुविधा अन्त सार्न सकेन। भत्काइएका सडक समयमै मर्मत भएनन्। यसमा सरकार नै गैरजिम्मेवार देखिन्छ। बनाउने सामथ्र्य छैन भने सडक भत्काएर जनतालाई किन सास्ती दिनु ? सत्तामा बस्ने भ्रष्टाचार गर्न मात्रै पल्किए। कसैले पनि ‘जनताको कर खाएको छु, मैले काम गर्नुपर्छ’ भन्ने महसुस गरेनन्। जनताको पीर–मर्कालाई सधैं खेलवाड सम्झिए। पूर्खाको सम्पत्ति जोगाउनुको साटो विदेशीलाई बेचेर खान थाले। राज्यमा बस्नेको गलत प्रवृत्ति र मनसायले हाम्रा मौलिकता मेटिँदै गएका छन्।

सहरलाई कसरी व्यवस्थापन गर्न सकिएला त ?
यो प्रश्नको जवाफ मैलेभन्दा पनि कुनै आर्किटेक्टले राम्रो दिन सक्छन्। सहर विग्रनुको कारण आश्वासनको भारी बाँड्ने नेता हुन्। मैले दिने जवाफ त टालटुले मात्रै हो त्यो पनि कोरा कल्पना हो। काठमाडौंलाई अब हामीले सोचे जस्तो र खोजेजस्तो व्यवस्थित र चुस्त बनाउन सजिलो छैन। अव्यवस्थित शहरीकरणले कुरुप भैसकेको छ, सहर। अब गर्ने भनेको मेरो जवाफ जस्तै टालटुल मात्रै हो। यहाँका हामी नागरिक जसले यहाँको सडक प्रयोग गर्छौं हामीले सडक सभ्यता देखाउने मात्रै हो भने पनि ७० प्रतिशत समस्याको समाधान हुन्छ। विद्युत र दूरसञ्चारको लाइन अन्डरग्राउण्ड गर्ने हो भने शहरी सुन्दरतामा बढावा आउँछ। सडक मिचेर बनाइएका संरचना हटाउने हो भने मात्रै पनि साँघुरा भित्री सडक फरक हुन्छन्। ट्राफिक नियम पालना गराउन सडकमा प्रहरी बस्नु नपरेको दिन साँच्चै सहर भव्य र व्यवस्थित हुनेछ।

सहरको विकासको लागि कस्तो नेतृत्व चाहिएला ?
यसमा म यत्ती भन्छु, अहिलेको जस्तो नेतृत्वले हुँदैन। आत्मरतीमा रमाउने होइन जनताको सेवक हुँ भन्ने भावना भएको दूरदर्शी र काम गर्ने इच्छाशक्ति भएको व्यक्ति हुनुपर्छ।

काठमाडौंलाई व्यवस्थित पार्न के गर्नुपर्ला ?
सबैभन्दा पहिला त नागरिकमा चेतना हुनुपर्छ। दोस्रो कुरा महानगरको नेतृत्व दूरदर्शी र इच्छा शक्ति भएको हुनुपर्छ। तेस्रो रात्रीकालीन बजारको व्यवस्था हुनुपर्छ। अर्को कुरा, भएको नियम कानुन कडाईका साथ पालना हुनुपर्छ।

तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
त्यस्तो सहर जुन हेर्दा सुन्दर, जहाँका नागरिकमा उच्च सभ्यता र अनुशासन होस्। सडकमा निस्किदा धुलो, धुँवा र जाम नहोस्। सडक चिल्ला र फराकिला होस्। सडक प्रयोगकर्तामा सडक अनुशासन होस्। नागरिक २४ सै घण्टा निर्धक्क भएर हिँडन सकून्। बाग्मतीमा २० को दशकको जस्तै कलकल पानी बगोस्। सहरका ठाउँठाउँमा बगैंचा हुन्। धारामा सधैं पानी आवस्। यति भयो भने सहर व्यवस्थित बन्छ होला।

उपत्यकाको मनपर्ने पक्ष के हो ?
हावापानी र यहाँका मन्दिरले मेरो मन खिच्छ। तर, धुलो धुँवाले हावापानीलाई प्रदूषित गरेको छ। त्यसैले अब हावापानी काठमाडौंको मनपर्ने पक्षको सूचीबाट निकाल्नु पर्ने भएको छ।

यहाँको मन नपर्ने पक्ष ?
प्रदूषण। त्यसका साथै यहाँको अस्तव्यस्त पनि हो। गाउँमा हप्तादिनमा लाग्ने हाटबजारभन्दा ठेलमठेल छ काठमाडौं। यही पक्ष मलाई मनपर्दैन। त्यसैले यसबारे सहरको नेतृत्वले सोच्न जरुरी छ। 

विदेश कहाँकहाँ पुग्नुभएको छ ?
नेपालीहरू हुनुभएको प्रायः सबै देशका सहर गएकी छु। मौलिकताको कसीमा नेपालका सहर धेरै अगाडि छन् तर आधुनिकतालाई हेर्दा हामी पछि छौं। अरु देशका सहर धेरै विकसित भइसकेका छन्। हाम्रोमा अझै सडक चौडा पार्न सकिएको छैन। सरकारी निकायको बेवास्ताले हाम्रा सहर विकास हुन नसकेका हुन्। यहाँको भौगोलिक र प्राकृतिक पक्षलाई ध्यानमा राखेर काम गर्ने हो भने नेपालका सहर धेरै राम्रा बन्न सक्छन्।

नेपाल र बाहिरका सहरबीच के फरक पाउनुभयो ?
नेपालका सहर सहरी मापदण्डबाहिर छन्। प्रदूषण, जाम, कष्ट छ। सुविधा हैन असुविधा छ। तर बाहिर सबै कुरा मापदण्डभित्र छन्। सुविधा छ। नागरिकलाई सहरमा बसेको आनन्द हुन्छ, यहाँ भने पीडा र सकस हुन्छ।

विदेशका सहर घुमिरहँदा नेपालका सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दैन ?
अवश्य लाग्छ। तर अब सजिलो छैन। तर पनि झिनो आशा भने मारेकी छैन। सबै मिलेर अघि बढियो भने सहर राम्रो बन्न सक्छ ।

सहरको मनपर्ने खानेकुरा के हो ?
यही भन्ने त छैन। मुड, मौसम र समयअनुसार फरक–फरक हुन्छ ।

घुम्न मन लागेको ठाउँ ?
त्यस्तो यही भन्ने त छैन ।

घुम्न मन लागिरहरने सहर ?
यही भन्ने छैन। सफा र सुन्दर सहर जाऊँ जाऊँ लाग्दोरहेछ। त्यही भएर पनि होला पोखरा र धरान ।

                                                                                                                प्रस्तुतिः शिवहरि घिमिरे
 

प्रकाशित: २१ माघ २०७५ ०७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App