coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मृत्यु संस्कार गर्न समस्या

किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ।
गत पुस २३ गते राजधानी दैनिकका पत्रकार एमडी कुलुङको मृत्यु हुँदा त्यँहा शव गाड्न समस्या परेको थियो। उनी मात्र नभई अन्य शव गाड्न पहिलेदेखि नै यस्ता समस्या भएको थियो।
कोषले पहिले पनि शव गाड्न नदिँदा र शव गाडिएका संरचना समेत भत्काएपछि किरात  समुदायले यसविरुद्ध ठूलो आन्दोलन गरेका थिए। त्यसपछि नेपाल सरकार र कोषसँग २०५५ साल साउन ७ गते किरात समुदायले शव गाड्न पाउने सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार भत्काइएका ३८ वटा चिहानहरुको स्वरुपलाई नबिगारी ढुंगा, इँटा, माटो, सुर्की र चुन जस्ता स्थानीय सामग्रीहरुको प्रयोग गरी कोषले पुनःनिर्माण गरेको थियो।
सरकारले ६ महिनाभित्र वैकल्पिक समाधिस्थलको व्यवस्था गर्नेुपर्ने थियो।
कोषसँग पहिले शव गाड्न सम्झौता भए पनि कोषले एकलौटी ढंगले अहिले शव गाड्न नदिएको किरात राई यायोक्खाका केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राईले बताए। ‘शव गाड्नको लागि सरकार र कोषसँग वार्ता भएको थियो,’ उनले भने, ‘कार्यान्वयन भने हुन सकेको छैन।  कोषले शव गाड्न नदिँदा अहिले किरात समुदायको मृत्यु संस्कारमा ठूलो समस्या परेको छ। यस विषयमा यायोक्खा निरन्तर पहल गर्दै आएको छ ।’ उनका अनुसार सम्झौतापछि स्वतन्त्र तरिकाले रसिद काटेर शव गाड्न दिएको थियो। तर, अहिले कोषले रसिद काट्नै नै बन्द गरेको छ। तर, खुला रुपले भन्दा पनि लुकिछिपी बाध्य भएर त्यहाँ शव गाड्ने काम भइरहेको छ।
‘उपत्यकामा थुप्रै सार्वजनिक जंगल छन्। सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म पशुपतिको वनकाली क्षेत्रमा शव गाड्न पाउनुपर्छ,’ उनले थपे।
संस्कृति अध्यता तीर्थराज मुकारुङ किरात समुदायको मृत्यु संस्कारमा कथा जोडिएको बताउँछन्। उनका अनुसार तयामा खियामाको भाईको मृत्यु भएको भनी तान बुन्ने नजिकै खाल्डो खनी भाइसँगै काइयो र कर्दो राखेर पातले छोेपेको थियो। तर, उनको भाइ भोकले अचेत अवस्थामा पुगेर ढलेको थियो। त्यही कथा अनुरुप किरात समुदायले शव गाड्ने संस्कारको उत्पत्ति भएको उनले बताए। ‘कथा अनुसार परापूर्वकालदेखि नै शव गाड्ने संस्कार किरातमा छ,’ उनले भने, ‘गाउँघरमा समस्या छैन तर अहिले उपत्यकामा मृत्यु संस्कार गर्न गाह्रो छ ।’ उनका अनुसार पशुपतिमा सन्यासी समुदायले पनि शव गाड्ने गर्दछन्। किरात समुदायले शव गाड्दा रड, सिमेन्टको प्रयोग नगरे पनि पछिल्लो समयमा क्रिस्चियन धर्मावलम्बीहरुले वनकाली क्षेत्रमा रड, सिमेन्ट र ढुंगाको प्रयोग गरी शव गाड्ने गरेका छन्, जुन मापदण्ड विपरीतको कार्य हो।
पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरी ढुंगाना कंक्रिटको प्रयोग गरी शव गाडिएकाले पहिले भएको सम्झौतापछि सर्वोच्च अदालतको फैसला अनुरुप त्यहाँ शव गाड्न नदिएको बताए। ‘मापदण्ड विपरीत कंक्रिट हालेर शव गाड्दा सांस्कृतिक सम्पदा मासिन्छ भनेर अदालतले राख्न नदिनु भनेर आदेश दिएको छ,’ उनले भने, ‘त्यो भन्दा बाहिर रहेर केही गर्न सक्दैनौं ।’ उनका अनुसार अहिले उक्त क्षेत्रमा जोगीबाहेक अरुलाई शव गाड्न कोषले दिएको छैन। सबै जातीको मृत्यु संस्कार र परम्परा जोगाउनको लागि सरकारले जग्गा व्यवस्थापन गर्नुपर्ने उनले बताए।

प्रकाशित: २१ माघ २०७५ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App