१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मार्च महिनामै युरोपेली संघ छोड्न बेलायती प्रधानमन्त्री प्रतिबद्ध

बेलायती प्रधानमन्त्री थेरेसा मे।

लन्डन – निर्धारित समयमै युरोपेली संघ छोड्नेबारे आफू प्रतिबद्ध रहेको बेलायती प्रधानमन्त्री थेरेसा मेले बताएकी छन्। आयरल्यान्डको विषयलाई लिएर युरोपेली संघका नेताहरुसँग ब्रसेल्समा छलफल गर्न जानुपूर्व प्रधानमन्त्री मेको यस्तो धारणा सार्वजनिक भएको हो। नयाँ म्यान्डेट, नयाँ विचार र नवीकरण गरिएको प्रतिबद्धतासहित आफू ब्रसेल्स जान लागेको प्रधानमन्त्री मेले ‘सन्डे टेलिग्राफ’ मा एउटा लेख लेख्दै बताएकी छन्। प्रधानमन्त्री मेले युरोपेली संघबाट बाहिरिने मितिमा कुनै परिवर्तन आउने छैन। उनले समयमै ब्रेक्जिट दिने टेलिग्राफमा लेखेकी छन्।

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि पनि उत्तरी आयरल्यान्डको सीमा खुला राख्नेबारे ग्यारेन्टी गर्नका लागि वैकल्पिक व्यवस्था गर्नका लागि बेलायती संसद्ले मेलाई म्यान्डेट दिएको छ। संसद्ले वैकल्पिक व्यवस्था गर्न भने पनि त्यस्तो व्यवस्था हुनेमा विश्वसनीय आधार नरहेको आयरल्यान्डका उपप्रधानमन्त्रीले बताएका छन्।

यसअघि युरोपेली संघसँग बेलायती प्रधानमन्त्री मेले गरेको सम्झौतालाई देशको संसद्ले अस्वीकार गरिदिएको थियो। सम्झौता अस्वीकार गरे पनि नयाँ वैकल्पिक बाटो खोज्ने व्यवस्था गर्न भने उनलाई संसद्ले अधिकार दिएको छ। संसद्ले बे्रक्जिटपछि पनि उत्तरी आयरल्यान्ड र आइरिस गणतन्त्रबीचको सीमा खुला राख्ने गरी सम्झौता गर्न मेलाई भनेको बिबिसीले जनाएको छ। युरोपेली संघ भने यसअघि कै सम्झौता उचित भएको भन्दै बेलायतसँग थप सम्झौता गर्ने पक्षमा रहेको छैन।

बेलायतले सन् २०१९ को मार्च २९, शुक्रबारका दिन राति ११ बजेबाट युरोपेली संघ त्याग्ने कार्यतालिका रहेको छ। युरोपेली संघको धारा ५० मा रहेको व्यवस्थाअनुसार सोही दिनबाट बाहिरिनेबारेको वार्तासम्बन्धी समयसीमा समाप्त हुँदैछ। केही सांसदले भने युरोपेली संघबाट बाहिरिनका लागि बेलायतले केही समय लिनुपर्ने माग गर्दै आएका छन्।

युरोपेली नेतासँग प्रधानमन्त्री मेले गरेको सम्झौता देशको संसद्बाट अस्वीकृत भएलगत्तै उनले अविश्वास प्रस्तावको समेत सामना गर्नु परेको थियो। बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कर्बिनले प्रधानमन्त्री मेविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए। युरोपेली संघसँग गरेको ब्रेक्जिट सम्झौता संसद्ले अस्वीकार गरे पनि अविश्वास प्रस्तावमा भने प्रधानमन्त्री मेले जित हासिल गरेकी थिइन्।

प्रकाशित: २१ माघ २०७५ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App