८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले धोका दिए परिणाम ठिक हुन्नः यादव

काठमाडौं–संघीय समाजवादी फोरम नेपालकी नेतृ रेखा यादवले दसैं अघिनै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएकोप्रति असन्तुष्टि जनाएकी छन्। तीन सुत्रीय सहमति र प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धता अनुसार दसैं अघि नै संशोधन दर्ता हुनु पर्ने भन्दै यादवले त्यसो नहुनु आफूहरुसँग धोका भएको आरोप लगाएकी हुन्।

‘सहमति अनुसार दसैंअघि नै संशोधन प्रस्ताव संसदमा दर्ता नगरेर सरकारले धोका दिएको छ’, बुधबार संचारकर्मीसँग कुरा गर्दै नेतृयादवले भनिन्, ‘संविधान संशोधनका लागि हामीले दाहालमाथि विश्वास गरेर समर्थन गरेका थियौं तर, अनेक बहानामा भुलाएर उनले धोका दिने हो भने परिणाम ठीक हुन्न।’

प्रधानमन्त्री निर्वाचनमा समर्थन लिने तर सहमति अनुसार संशोधन प्रक्रिया अगाडि नबढाउनु कांग्रेस र माओवादी केन्द्रले धोका दिन खोजेको यादवको आरोप छ । संघीय गठबन्धन र सरकारबीच तीन बुँदे सहमति भएको दुई महिना भइसक्दा पनि संशोधन प्रस्ताव दर्ता नहुनु गम्भीर षड्यन्त्र भएको उनले आशंका व्यक्त गरिन्।

‘संशोधन प्रस्ताव दर्तामा ढिलाई हुँदा प्रचण्डको नियत मै शंका लागेको छ’, फोरम नेपालको राजनीतिक समिति सदस्य समेत रहेकी नेता यादवले भनिन्, ‘दाहालले यसरी धोखाधडी गर्ने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जानु बाहेक हामीसँग विकल्प हुन्न ।’
संविधान संशोधन विधेयक नल्याएर सरकारले ढाँटेको टिप्पणी हुन थालेको छ । यिनै आरोप र टिप्पणीका बीच नेता यादवले दाहालमाथि धोका दिन खोजेको आरोप लगाएकी हुन्।

पछिल्लो समय प्रधानमन्त्रीले संशोधनमा सहमति जुटाउनकै लागि अमेरिका भ्रमण रद्द गरी दशै अघिनै संशोधन प्रस्ताव संसदमा लैजाने आश्वासन दिएका थिए । तर, प्रचण्डको प्रतिबद्धता अनुसार सहमति कार्यान्वयन नहुँदा मधेशी मोर्चा र संघीय गठबन्धन असन्तुष्ट बनेको छ ।  

 

प्रकाशित: १९ आश्विन २०७३ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App