नारी किन पुरुषाधीन ?

सोमबार, २१ माघ २०७५, १० : २५ रक्षाराम हरिजन

प्लस टुसम्म सँगै पढेका एक जना भागवत सुनाउने स्वाघोषित युवा पण्डित बाहुन पुरोहित साथीले नारीलाई पुरुषको अधीनमा रहने गरेको तर्क गरे। हिन्दूहरूको महाकाव्य महाभारतमा पाँच पाण्डवले कौरवहरूसँग जुवा खेल्दा सबथोक हारेपछि द्रौपदीलाई समेत दाउमा लगाएको कार्यलाई स्वाभाविक लिँदै त्यसलाई जायज मान्छन्। उनले  द्रौपदी (नारी) त पाण्डवको अधीन रहेकी थिइन्। धर्मराज भनिने युधिष्ठिरले आफ्नी स्वास्नी द्रौपदीलाई नारी भएकै कारण दाउमा लगाएको देखिन्छ। हुन त उनीसँग चार जना पुरुष भाइ पनि शेष नै थिए तर दाउको समान बनेनन् किनकि उनीहरू पुरुष जातको प्रमाणपत्रधारी थिए।

मैले तर्क गरेँ, कुनै खेलमा दाउ लगाउने वा खरिद बिक्री वा लेनदेन वा मोलमोलाइ त समान वा वस्तुको गरिन्छ, मानिसको त गरिँदैन। त्यसो भए द्रौपदी त वस्तु समान थिइन्, उनले वस्तु भएको स्वीकारे गरेनन् तर पुरुषको अधीनमा रहने गरेको र अहिले पनि नारी पुरुषाधीन हुनैपर्ने कुरामा अडिग रहे। उनको विचारलाई हेर्दा पढेलेखेका यस्ता युवाहरूले मनुस्मृतिलाई संविधानभन्दा माथि ठान्नु, जाति व्यवस्था आत्मसात् गर्दै सोको कठोरतापूर्वक पालना गर्नु र पितृसत्तात्मक विचारलाई संस्थागत गर्न टेवा पु¥याउनु हाम्रो समाजका लागि दुर्भाग्यपूर्ण नै हो। नयाँ पुस्ताले समानतालाई स्वीकार गर्नुको साटो अझ मनुवादी मानसिक रोगले ग्रस्त हेरेर निराश पनि भएँ। यो प्रसंग मैले नारीको स्वाधीनता र स्वाभिमानसँग जोड्नका लागि प्रस्तुत गरेको छु।

डा. अम्बेडकरको विचारधाराअनुसार नारीत्वको परिधि, गुण, व्यवहार, उनीसँग जोडिएको भूमिका तथा मौलिक कर्तव्यबाट समाज निर्माण भएको छ। हामीले वास्तविक नारीत्वको संज्ञान निष्पक्ष दृष्टिकोणबाट गर्नुपर्छ। समाजमा सबभन्दा पहिला नारीत्वको निर्धारण प्राकृतिक दृष्टिकोणबाट भएको हो। प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन कायम राखिराख्न यौन कर्तव्यको भिन्नतालाई छाडेर नारीको जुन कर्तव्य निर्धारित ग¥यो, त्यसैको समानान्तरमा पुरुषको भूमिका पनि निर्धारण ग¥यो। यही विन्दुबाट वास्तविक नारीत्वको निर्माण हुन्छ। अम्बेडकरी अन्दोलनमा मानवताको परिधिको निर्माण दुई समान त्रिज्या (स्त्री–पुरुष) योगको व्यासबाट हुन्छ।

नीतिगत व्यवस्था
संयुक्त राष्ट्रसंघीय मानवअधिकारको घोषणापत्रले सन् १९४५ ले सबै व्यक्ति समान रहेको घोषणा गरेको छ। चन्द्रशम्शेरले आषाढ २५, १९७७ मा सती जस्तो क्रुर अमानवीय कुप्रथाको औपचारिक रूपमा अन्त्य गरेको कार्यलाई नारी स्वाधीनसँग जोड्न सकिन्छ। नेपालमा नेपालको संविधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने उल्लेख छ। संविधानले त महिलाको हकलाई मौलिक हकका रूपमा समावेश ग¥यो। जसमा महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन। त्यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ, भनिएको छ। यसको साथै नेपालमा घरेलु हिंसा, लैंगिक हिंसा अन्त्य गर्नका अत्यन्त सकारात्मक कानुनी पहलहरू समेत भएका छन्।

संविधानसभाको दई तिहाइबाट जारी संसारको उत्कृष्ट भनिएको संविधानमा यस्तो प्रावधान उल्लेख गर्दैमा सबै कानुनी व्यवस्था समान छन् भन्न सक्ने अवस्था छैन। नागरिकतासम्बन्धी प्रावधानमा नेपाली आमाले आफ्नो सन्तानको वंशजको नागरिकता बनाउन सक्ने अवस्था देखिँदैन। वंशजको नागरिकताका लागि बाबु वा आमा भन्ने शब्दजाल मात्रै बनिएको छ। वास्तविक रूपमा बाबुविना वंशजको आधारमा नागरिकता दिने प्रावधान छैन। महिलालाई अंश र वंशको अधिकार छ, तर आफूले जन्माएको सन्तानलाई नागरिकता दिन बाबु खोज्दै हिँड्नुपर्ने बाध्यात्मक अवस्था विद्यमान छ। बाबुको थाहा छैन भने नागरिकता दिनका लागि आमाले बाबु किन छैन, बच्चा कसरी जन्मियो भन्ने पुष्टि, साबित गर्नुपर्ने, स्वघोषणा गर्नुपर्ने प्रतावित नागरिकता विधेयक रहेको छ। के यो व्यवस्थाले नारी पुरुषाधीन छन् भन्ने कुरा स्वीकार गरेको छैन त ?

धार्मिक आस्था
केही व्यक्तिहरूले भन्छन्, मानवजीवनमा धर्मको कुनै आवश्यकता छैन। माक्र्सवादी विचारधारामा धर्मलाई अफिम भनिएको छ। तर डा. अम्बेडकरले समाजको जीवन तथा व्यवहारका लागि धर्म अनिवार्य मानेका छन्, धर्मले मनुष्यलाई एक राम्रो चरित्रवान् बनाउन र समाजको संरचनात्मक पक्षहरूलाई निर्धारण गर्ने तर्कअघि सारेका छन्। यसरी समाजलाई धर्मभन्दा टाढा राख्न सक्ने अवस्था हुँदैन। बर्कको शब्दमा साँचो धर्म समाजको जरा हो, जसमा सबै नागरिक सरकार टिकेको हुन्छ।

संसारलाई मुख्य चार धार्मिक आध्यात्मिक संसारका रूपमा विभाजन गर्न सकिन्छः क) इसाई जगत्, ख) बौद्ध जगत्, ग) इस्लामी जगत् र घ) हिन्दू जगत्। यसका अतिरिक्त अरु पनि ससाना धार्मिक जगत् छन् तर तिनको आध्यात्मिक संसार बनिसकेको अवस्था छैन। नेपालमा विस २०६८ सालको जनगणनाअनुसार कुल जनसंख्यामा हिन्दु ८१.३ प्रतिशत, बौद्ध ०.९ प्रतिशत, मुस्लिम ४.४ प्रतिशत, किराती ३ प्रतिशत, इसाई १.४ प्रतिशत र बाँकी अन्य धर्मावलम्बी रहेको देखाउँछ।

नेपालमा हिन्दु धर्मावलम्बीहरूको बाहुल्य देखिन्छ। सतही हिसाबले हेर्ने व्यक्तिलाई हिन्दू समाजको सामान्य क्रियाविधि लाग्छ तर यसले महिलाका लागि तीन असाधारण रीतिरिवाज प्रस्तुत गरेको छः पहिलो सती वा विधवालाई उसको मृत पतिसँगै जल्नुपर्ने, दोस्रो आजीवन विधवत्व, जसअन्तर्गत एक विधवालाई पुनःविवाह गर्ने अनुमति छैन र तेस्रो बालिका विवाह (अम्बेडकर, सम्पूर्ण वांमय १)।

साथै हिन्दु धर्मको मूलशास्त्र मनुस्मृति हो, महिलाको सन्दर्भमा मनुले विभिन्न हीन विचार निर्माण गरेका थिए, महिलाप्रति उनको विचार अनुदार थियो। यो संसारमा महिलाको स्वभाव पुरुषलाई मोहित गर्नु हो जसले गर्दा बुद्धिमान जन महिलाको बीचमा सुरक्षित हुँदैन (२.२१३)। महिला यो संसारमा मूर्खलाई मात्र होइन, विद्वान्लाई पनि पथभ्रष्ट गर्न र उसलाई काम, क्रोधको दास बनाउनमा सक्षम पनि हुन्छ (२.२१४)। मनुले महिलाको सृष्टिको समयमा महिलाको शैया, स्थान र आभूषणका लागि प्रेम, वासना, क्रोध, बेइमानी, ईष्र्या र दूराचरणयुक्त गरेका छन् (९.१७)। महिलालाई उसको परिवारद्वारा दिन–रात अधीनमा राख्नुपर्छ (९.२)। महिलाको रक्षा बाल्यकालमा पिताले गर्नुपर्छ, युवा अवस्थामा उसको पति, पतिको मृत्युको अवस्थामा उसको पुत्रले उसलाई रक्षा गर्नुपर्छ। महिला कहिले स्वतन्त्र रहन सक्दैनन् (९.३)। उक्त धार्मिक प्रावधानहरूले नारीलाई पुरुषाधीनतालाई पृष्ठपोषण गर्छ। सो धर्मग्रन्थप्रति मानिसहरू अटुट आस्था रहँदै आइरहेको छ। अन्य धार्मिक ग्रन्थमा जेसुकै लेखेको भए तापनि अपवादबाहेक नेपाली समाजमा महिलाको स्वाधीनतालाई स्वीकार गरेको देखिँदैन।

सामाजिक स्वरूप
आज विश्व एक्काइसौँ शताव्दीमा प्रवेश गर्दा समेत नेपालमा महिला र पुरुषको बीचमा सामाजिक, आर्थिक र सांस्कृतिक विभेद कायमै छ। समाजमा देखावटी बाहेक महिलालाई समान रूपमा व्यवहार गरेको देखिँदैन। महिलाप्रतिको विभेदपूर्ण व्यवहारले पुरुषाधीनलाई प्रमाणित गरेको हुन्छ। यस्ता विभेदहरूमध्ये कति त कुरीति, कुप्रथा र पुरातन परम्पराहरूको रूपमा समेत रहेका छन्।

नेपालमा महिला समस्याको जरो आफ्नै घर र समाजबाट सुरु हुने गरेको छ। नेपालमा महिलाहरूलाई पुरुषभन्दा कमजोर ठान्ने कुसंस्कार र कुरीतिले महिलाको सृजनशीलता र व्यक्तित्व निर्माणमा अङ्कुश लगाएको छ। नेपाली महिलाहरू भने छाउपडी र छोइछिटो बार्नका लागि गोठमा सुत्नुपर्ने अवस्था विद्यमान छ। अधिकांश नारी विवाह हुनुपुर्व बुवा वा दाइभाइको निर्णय वा इच्छाबमोजिम चल्नुपर्ने तथा विवाहोत्तर श्रीमान्को आदेशानुसार कार्य गर्नुपर्ने वास्तविकताबाट मुखरित हुन सकिँदैन। राज्य सरकार सञ्चालनको तीनैवटा तहमा महिलाको राम्रो सहभागिता भएको छ। तर के पदमा पुगेका उनीहरूले पुरुषाधीनबाट मुक्त भई स्वतन्त्र रूपमा काम गर्न सकेका छन् त ?

महिला आन्दोलन
महिला आन्दोलन समानता र सामाजिक न्यायको अन्दोलन हो। मानवताको आन्दोलन हो। तर समसामयिक महिला आन्दोलन सबै महिलाको आन्दोलन हुन सकेको छैन। महिला आन्दोलनले सबै महिलाको मुद्दा समेट्न सकेको छैन। महिला विविधता सम्बोधन हुने तहमा महिला आन्दोलन पुग्न सकेको छैन। महिला आन्दोलनभित्र वर्गीय, जातीय, उचनीच, रंगभेद, क्षेत्रीयता र प्रजातीयताका मुद्दाबीच साझापन विकास हुन सकेको छैन जसले गर्दा जुनरूपमा महिलाले स्वतन्त्रता, न्याय र समानता पाउनुपर्ने हो पाउन सकेका छैनन्।

एक छोराको पुरुषत्व निर्माणमा बुबाबाहेक आमाको पनि योगदान छ। त्यस्तै एक छोरीको नारीत्व निर्माणमा आमाबाहेक बुबाको पनि योगदान छ। त्यसैले नारीवाद भनेको जैविक नभएर वैचारिक पक्ष हो। महिला पितृसत्तात्मक पनि हुन सक्छन्, पुरुष नारीवादी पनि हुन सक्छन्। साथै पुरुषाधीनता हटाउने दृष्टिकोणले महिला आन्दोलनको नजर पुग्नु आवश्यक देखिन्छ।

अन्त्यमा,
बलियो कानुनी व्यवस्था हुँदाहुँदै पुरुषाधीनको प्रभाव स्वरूप महिला हिंसा, बलात्कार, बालविवाह, दाइजो प्रथा, छाउपडी प्रथाको अवस्था विकराल नै रहेको छ। हामीले आफ्नो सन्तानलाई के कस्तो संसार दिइरहेका छौँ, त्यसको प्रभाव पूरै समाज र राज्यमा परेको हुन्छ। नयाँ संसार निर्माणमा समानता र न्यायमा आधारित मूल्य निर्माण गर्न नयाँ पुरुष र नयाँ महिलाको आवश्यकता छ। नारीमाथिको पुरुषाधीन घरबाट सुरु भएको छ, र यसको अन्त्य घरबाट नै गर्न सकिन्छ। कसैको अधीन होइनन्, स्वतन्त्र मानव हुन् भन्ने कुरा आत्मसात् गर्न जरुरी छ। यो प्रवृत्तिलाई हटाउने कार्यको जिम्मेवारी आजको युवाको काँधमा रहेको छ, उनीहरूले पुरातनवादी, कुरीति, दूषित परम्परालाई अन्त्य गर्न संकल्प गर्न आवश्यक छ।








यसमा तपाईको मत

अन्य समाचार

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

एसबिएल डिबेन्चर नेप्सेमा सूचीकृत

सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्जबीच प्रतिकित्ता अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २५ लाख थान १०.२५...

Ncell Footer Ad