coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

धनगढी - घटना–१
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको व्यस्त बजारमा गत जेठ १३ गते मोटरसाइकलमा आएका दुई युवकले दिउँसै गोली हानेर नौ लाख रुपैयाँ लुटे। नजिकैको सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो अफिस आइएमई सेन्टरमा लगिरहेका बेला निर्मल कार्कीलाई उनीहरू गोली हानेर लुटपाट गरेका थिए। पक्राउ परेका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरीसहित घटनामा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २७ वर्षीय कल्लु राना तीनै जना लागुऔषध दुव्र्यसनी हुन्। घटनाको दुई सातापछि पक्राउ परेका तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्।

घटना–२
धनगढी प्रदेश कार्यालयनजिक होटल कलश रहेको भवन पछाडिबाट गत कात्तिक ३० गते राति ८ बजेतिर धनगढी–४ का २५ वर्षीय थापालाई रक्ताम्मे अवस्थामा घिसार्दै लगिरहेका बेला आशिष सेठी पक्राउ परे। लागुऔषध हेरोइन खाने विषयमा विवाद हुँदा सेठीले थापाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार त्यसदिन थापा र सेठी भवन पछाडिको सिँढीमा सँगै बसेर हेरोइन खाइरहेका थिए। हेरोइन थापासँग थियो। तीन पटकसम्म मागेर खाइसकेका सेठीले चौथोपटक पनि मागेपछि थापाले दिएनन्। त्यही रिसमा आफूले थापाको टाउको सिँढीमा ठोकाएर हत्या गरेको सेठीले बयान दिएको प्रहरीले जनाएको छ।

घटना–३
कैलालीको अत्तरियामा यही माघ ५ गते प्रादेशिक महोत्सव हेरेर घर फर्किरहेका चार युवकलाई व्यस्त सडकमा खुकुरी प्रहार भयो। खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का १९ वर्षीय अरुण भट्टको ज्यान गयो भने तीन जना घाइते भए।

मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षीय विनोद ऐरसहित घटनामा संलग्न सात जनालाई प्रहरीले दुई दिनपछि पक्राउ ग¥यो। यो समूह पनि लागुऔषध प्रयोगकर्ता रहेछ। फरार रहेका बेला समेत अभियुक्त ऐर लागुऔषध खान नपाएर भौतारिएको प्रहरीले पत्ता लगायो। प्रहरीका अनुसार उनले धनगढीको मिलन चोकमा एक जनासँग हेरोइन मागेको तर हत्या गरेर भागेको थाहा पाएपछि ती व्यक्तिले नदिएको अनुसन्धानबाट खुलेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।

भट्टसहित चार जनलाई खुकुरी प्रहार गर्नुको कारण पनि लागुऔषधसँगै जोडिएको प्रहरीको अनुमान छ। अहिले मुख्य अभियुक्त ऐरसँगै राजु कठायत, प्रमिश मगर, वीरेन्द्र शाहीलगायत घटनामा संलग्न सातै जना प्रहरीको हिरासतमा छन्। यी तीन प्रतिनिधि घटना मात्र हुन्। लागुऔषध दुव्र्यसनीका कारण चोरी, लुटपाटदेखि बलात्कार हत्यासम्मका जघन्य अपराधहरू डरलाग्दो किसिमले बढ्दै गएका छन्। लागुऔषधको लतमा फसेका युवाहरूले सानादेखि ठूलासम्म अपराध गर्ने गरेका छन्। ‘लागुऔषध खान दिनमा कम्तिमा पाँच सयदेखि १५ सयसम्म चाहिन्छ। यो पैसा जुटाउन पनि उनीहरूले चोरी, लुटपाट गर्नैपर्छ,’ लागुऔषध दुव्र्यसनी समूहको संगतमा रहेका एक युवकले भने, ‘विस्तारै उनीहरू ठूलठूला अपराधमा संलग्न हुँदै जाने गरेको देखिएको छ।’ धनगढीमा गोली हानेर साढे ९ लाख लुट्नेहरूले पनि लागुऔषध खरिद खर्च जुटाउनकै लागि यसो गरेको उनी बताउँछन्।

प्रहरी उपरीक्षक तिम्सिना पनि लागुऔषधमा संलग्नहरूबाट अपराध बढिरहेको बताउँछन्। ‘लागुऔषध दुव्र्यसनी ठूलो समस्या बनेको छ,’ उनी भन्छन्, ‘पछिल्ला ठूला अपराध लागुऔषधको लतमा फसेकाहरूबाटै भएको पाइएको छ।’ योजना बनाएर लागुऔषध नियन्त्रणको प्रयास प्रहरीले गरिरहेको उनको भनाई छ।

स्थानीयका अनुसार भारतको सीमासँग जोडिएको धनगढीको त्रिनगर नाकाबाट करिब एक किलोमिटर दुरीमा रहेको गौरीफन्टा बजारमा गुप्ता थरका एक भारतीय व्यवसायीले खुलमखुला लागुऔषध बिक्री गर्ने गरेका छन्। जसका कारण पनि स्थानीय युवा सजिलै लागुऔषधको लतमा फस्ने गरेका छन्। यसरी गौरीफन्टामा भइरहेको लागुऔषध कारोबार बन्द गराउने भारतीय सुरक्षा अधिकारीसँग समन्वयको प्रयास भइरहेको नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी सुरज केसी बताउँछन्।

लागुऔषधको प्रयोग व्यापक बढेको र यसले समाजमा विभिन्न समस्या एवं अपराध बढाइरहेको स्थानीय बासिन्दा बताउँछन्। ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट लागुऔषधको दुव्र्यसन बढ्नु समाजका लागि ठूलो चुनौती भएको बताउँछन्। ‘दुर्घटना, छाडापन, घरेलु हिंसादेखि ठूलठूला अपराधसम्म लागुऔषध प्रयोगकै कारण बढिरहेको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न कडा कदम चाल्नु आवश्यक भइसकेको छ।’ लागुऔषधविरुद्ध सचेतनामूलक कार्यक्रमका साथै कडा कानुन बनाएर यसलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

विद्यालय, क्याम्पसका विद्यार्थी ‘ड्रेस’मै एकान्त ठाउँमा लागुऔषध खाने गरेको पाइने स्थानीय बासिन्दा बताउँछन्। उनीहरूले विभिन्न ट्याब्लेट, ब्राउन सुगर लगायतका लागुऔषध लुकेर खाने गरेको स्थानीयको भनाइ छ। यसरी लागुऔषधका कारण एकातिर देश विकासका लागि आवश्यक युवा शक्ति बर्बाद भइरहेको तथा अर्कातिर समाजमा अपराध बढिरहेको बताउँछन्, नागरिक समाजका प्रमोद पाठक। यसैकारण राज्यले बेलेमै यसविरुद्ध अभियान थाल्नुपर्ने उनको सुझाव छ।

प्रकाशित: २१ माघ २०७५ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App