coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो : भेनेजुएलाबारे सरकारको धारणा अपरिपक्व

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भेनेजुएलाको राजनीतिक घटनाक्रममा सरकारको धारणा अपरिपक्व रहेको भन्दै आपत्ति जनाएको छ। आइतवार बसेको संसदीय दलको बैठकले सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहालका तर्फबाट भेनेजुएलाबारे सार्वजनिक धारणालाई असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदासिन भनेको हो। 

‘नेपालको कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष र सरकार स्वयंले दिएको विज्ञप्ति अपरिपक्व मात्र होइन, नेपालको राष्ट्रिय स्वार्थ विपरित छ’, बैठकपछि प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो असंवेदनशील, अपरिपक्व र राष्ट्रिय स्वार्थप्रति उदाशिन कार्यप्रति कांग्रेस आपत्ति प्रकट गर्दछ।’ 

कांग्रेसले नेपालको विकासका लागि झण्डै ६५ वर्षभन्दा समयदेखि लगातार आर्थिक सहयोग पु-याउँदै आएको एक पुरानो र भरपर्दो मित्र भन्दै अमेरिकाको प्रशंसा समेत गरेको छ। ‘आगामी दिनमा पनि नेपालको आर्थिक विकास, त्यसका लागि आवश्यक आर्थिक र कुटनीतिक सहयोगको क्षेत्रमा अमेरिकाको सकारात्मक भूमिका महत्वपूर्ण रहनेछ’, विज्ञप्तिमा अपेक्षा गरिएको छ।  

संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षा विधेयक सच्याउन पनि माग गरेको छ। ‘तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश अनुरुप नै वर्तमान सरकारले डा. गोविन्द केसीसँग सम्झौता गरेकोमा पछि तोडमोड गरी अध्यादेश र सम्झौता विपरित जबरजस्ती संसदबाट पास गरेको विधेयकलाई अध्यादेश एवं सम्झौता बमोजिम  सच्याउन कांग्रेस निरन्तर लागि रहनेछ’, विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: २० माघ २०७५ १०:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App