८ वैशाख २०८१ शनिबार
कला

‘मगन यात्रा’मा दीपक

काठमाडौं – गायक दीपक बज्राचार्य भक्तपुरमा आयोजना हुने वृहत एकल गायन कार्यक्रममा प्रस्तुत हुने भएका छन्। उनको पछिल्लो लोकप्रिय गीत ‘मन मगन’ लाई शीर्षक राखेर रश लाइट मिडियाले आयोजना गर्न लागेको ‘मन मगन यात्रा’ अन्तर्गत ‘मन मगन भक्तपुर–२०७५’मा उनले गीत गाउन लागेका हुन्।

संस्थाका अनुसार आगामी माघ २६ गते शनिबार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा कार्यक्रम हुनेछ। ‘कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा संगीत’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा गायक दीपकलाई उनको म्युजिकल ब्याण्ड रिदमले साथ दिनेछ।
संस्थाकी अध्यक्ष रमिता भण्डारीका अनुसार ‘मन मगन यात्रा’ भक्तपुरसँगै देशका प्रमुख सहरहरूमा समेत आयोजना गरिने छ। स्वदेशका प्रमुख सहरपछि कार्यक्रमलाई अमेरिका तथा क्यानडाका सहरमा समेत सञ्चालन गरिनेछ। अमेरिका र क्यानडाको सांगीतिक कार्यक्रममा पनि दीपक र रिदम ब्याण्डले आफ्नो प्रस्तुति दिनेछन्।
साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार दीपकका ‘काली काली हिस्सी परेकी’, ‘मायाको डोरीले’, ‘ओ अमिरा’, ‘फर्केर आउने छैन’लगायतका दर्जनौं गीत चर्चित छन्। दीपकको पछिल्लो गीत ‘मन मगन’मा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ। यो गीत विभिन्न भाषामा समेत छ।
कार्यक्रममा वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई अन्तर्राष्ट्रिय उपलब्धिका लागि नगद राशीसहित सम्मान गरिनेछ। त्यस्तै बालगायिका समिक्षा अधिकारी, रमिता भण्डारी, दाउत राई, अजय तुलाधर, राग रागा तथा कपिल कसपालले पनि प्रस्तुति दिनेछन्। कार्यक्रमको उत्तराद्र्धमा डिजे तामाले दर्शक नचाउनेछन्।
कार्यक्रममा कोरियोग्राफर तथा मोडल रमिता भण्डारीको कोरियोग्राफीमा व्यवसायिक मोडलहरूले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गर्नेछन्। फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरिने छ।

 

प्रकाशित: २० माघ २०७५ ०४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App