७ वैशाख २०८१ शुक्रबार
अर्थ

बैंकमा लकर अभाव

काठमाडौं- बैंकहरुमा लकरको अभाव भएको छ । घर तथा डेरामा बहुमूल्य वस्तु राखी दसैंमा टिका लगाउन उपत्यकाबाहिर जाँदा असुरक्षित हुने देखेर सर्वसाधारण नागरिक सुरक्षित हुन खोज्दा लकरको अभाव देखिएको हो।

दसैं–तिहार जस्ता चाडपर्वमा चोरी, डकैतीका घटनासँगै लकर लिनेको संख्या पनि बढेको हो । पछिल्लो समय विदेश जाने मानिसले समेत सामान राख्न लकर लिन थालेपछि अझै अभाव भएको बैंकरको भनाइ छ।  ठूला चाडपर्वमा चोरी हुने सम्भावना बढी हुने भएकाले बहुमूल्य वस्तु घरमा नराखी बैंकमा राख्न थालेपछि लकरको चरम अभाव भएको हो।

बैंकमा लकरको अभाव भएको नेपाल बैंकका नायब महाप्रबन्धक बेचन गिरीले मंगलबार नागरिकलाई बताए । ‘बैंकमा लकरको  स्कारसिटी (अभाव) छ,’ उनले भने, ‘लकरको माग बढेकोले अभाव भएको हो।’

नेपाल बैंक न्युरोड लगायत बैंक तथा वित्तीय संस्थामा अहिले लकरको समस्या छ । चाडपर्वमा चोरी हुने भयले लकर खोज्न आउने ग्राहक दिन प्रतिदिन बढ्दै गएका छन्।

२०७२ वैशाखमा गएको भूकम्पपछि लकरको माग अत्यधिक बढेको गिरीले बताए । ‘भूकम्पपछि लकरको माग बढ्यो,’ उनले भने, ‘त्यो अभावलाई बैंकहरुले अझै पूर्ति गर्न सकेका छैनन्।’

भूकम्पपछि बैंकमा लकर सेवा लिनेको संख्या बढ्दा अहिले अभाव भएको बैंकर बताउँछन् । सर्वसाधारणले भूकम्पपछि घरमा नगद, सुनका गरगहना र अन्य बहुमूल्य वस्तु राख्न असुरक्षित ठानेर बैंक लकरमा राख्न थालेपछि अभाव चर्किएको हो।

भूकम्प र त्यसपछिका परकम्पनबाट डराएका सर्वसाधारण घर वा डेरा छाडी अस्थायी टहरामा बस्न थाले। बहुमूल्य वस्तु घरमा छाडेर हिँड्दा वा साथमै राख्दा चोरी हुने वा हराउने भएकाले लकरमा राख्न उनीहरु बाध्य भए।

अहिले दसैं–तिहार, छठ लगायत पर्व नजिकिएकाले लकर लिनेको संख्या बढेको छ । एक बैंकरले भने, ‘चोरी र हराउने डरले भूकम्पपछि लकर लिने बढेका छन्।’

चाडपर्वमा चोरी हुने सम्भावना बढ्ने हुनाले पनि ग्राहकले आफूलाई पायक पर्ने शाखामा लकर सुविधा लिन थालेका हुन् । बैंकहरुले साना, मझौला र ठूला आकारका लकर उपलब्ध गराउँदै आएका छन् । ‘आवश्यकता अनुसार साना, ठूला लकर लिन सक्ने व्यवस्था छ,’ एक बैंकका कर्मचारीले भने, ‘सानो लिँदा थोरै र ठूलो लिँदा केही बढी शुल्क तिर्नुपर्छ।’

सबैभन्दा बढी लकर सुविधा नेपाल बैंक, इन्भेस्टमेन्ट बैंक, नबिल बैंक लगायतले दिएका छन् । लकरको माग बढेकोले आवश्यकता पूरा गर्न नसकिने अवस्था आएको नेपाल बैंकका एक कर्मचारीले बताए । ‘भूकम्पले बैंक रहेका भवनमा क्षति पु¥याएकाले लकर संख्या बढाउन सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘लकर राख्ने ठाउँको अभाव छ।’

विकासभन्दा वाणिज्य बैंकले लकरको बढी शुल्क लिन्छन् । नबिल बैंकले एउटा लकरको वार्षिक २ हजार २ सय ५० रुपैयाँ लिन्छ । यो सुविधा लिन १० हजार डिपोजिट गर्नुपर्छ ।

बहुमूल्य सामग्रीसँगै नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता महŒवपूर्ण कागजात पनि लकरमा राख्ने चलन बढेको बैंकर बताउँछन् । सुरक्षाको दृष्टिले भूकम्पपछि लकर लिने ग्राहक बढेको बैंकहरुको भनाइ छ।

नेपालमा ठूला दैवीप्रकोप वा चाडपर्वमा लकर सुविधा लिनेको संख्या बढ्ने जानकार बताउँछन् । असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले लकरका ग्राहक बढ्ने गरेको तथ्यांकले देखाउँछ ।

सुरक्षाका दृष्टिकोणले असुरक्षित हुन थालेपछि चल धनसम्पत्ति लकरमा राख्ने क्रम बढेको हो । लकरले ग्राहकको बहुमूल्य वस्तु सुरक्षित राख्न र बैंकको आम्दानी बढाउन मद्दत गरेको छ । अहिले लकर खोज्दै बैंक तथा वित्तीय संस्था धाउनेले पाएका छैनन् । ठूला चाडपर्व नजिकिँदै जाँदा लकरको अभाव भएको बैंकर बताउँछन् ।

विनाशकारी भूकम्पपछि लकर लिनेको संख्या ह्वात्तै बढेको बैंकरको भनाइ छ । ठूला चाडपर्वमा अझै धेरै लकरको माग हुने परेकोले पनि लकर समस्या झनै बढेको बैंकर बताउँछन्।

बैंकका सबै लकर प्याक भएको बैंकका कर्मचारी बताउँछन्। ‘भूकम्पपछि टूलो संख्यामा लकर थप गरिएको थियो,’ एक बैंकरले भने, ‘ती सबै सकिएकोले नयाँ ग्राहकलाई दिन सकिएको छैन।’ उपत्याकामा गाडी पार्किङ गर्न जति कठिन छ, त्यतिकै लकर पाउन कठिन हुन थालेको छ।

धेरैजसोले कमाइको ठूलो हिस्सा गहना किन्न खर्च गरेका हुन्छन् । दुःखले कमाएको गहनाको सुरक्षाका लागि चिन्ता गर्नु स्वाभाविक हो । बढ्दै गएको असुरक्षित वातावरणमा गहना राख्ने उपयुक्त थलो बैंक बन्न थालेको छ । तर, ठाउँको अभावमा त्यस्तै सुविधा प्रदान गर्न बैंकहरु सकेका छैनन् । 

कुल २८ वाणिज्य बैंक छन्। प्रायः सबैले लकर सुविधा दिएका छन्। त्यसको अलावा विकास बैंकहरुसँग पनि लकर सुविधा छन्। बैंकमा लकरको आकार अनुसार शुल्क तोक्ने गरिन्छ। घरका महत्वपूर्ण कागजात, गरगहना, सेयर, शैक्षिक प्रमाणपत्र जस्ता सरसामान राख्न लकर उपयुक्त ठाउँ हो।

लकर बैंकबाट ग्राहकको सामानका लागि प्रदान गरिने सुरक्षा हो। यसले सुरक्षाको निश्चिन्तता प्रदान गर्छ। तथापि बैंकले डकैती तथा प्राकृतिक आपत्तिका कारण लकरमा राखिएको सामान हराए जिम्मेवारी वहन गर्दैन ।

हरेक लकरका दुई साँचा हुन्छन् । एउटा साँचो ग्राहकसँग हुन्छ भने अर्को बैंकका कर्मचारीसँग हुन्छ । दुइटै साँचो प्रयोग नगरी लकर खुल्दैन । त्यसैले आफ्नो साँचो हराए झन्झट हुनुका साथै पैसा पनि खर्च गर्नुपर्छ ।साँचो हराएपछि सबै ताला बदल्नुपर्छ र त्यसको पूरा खर्च ग्राहकले नै बेहोर्नुपर्छ ।

लकर राख्ने व्यक्तिको मृत्यु भएको खण्डमा उसको उत्तराधिकारीले नियम पूरा गरी त्यहाँको सामान लिन सक्छ।

लकर सुविधा लिन धेरै रकम हुनुपर्छ भन्ने छैन । तथापि बैंकमा खाता भएको व्यक्ति भने हुनुपर्छ। यसका लागि १० हजार देखि २५ हजारसम्म डिपोजिट राख्नुपर्छ भने वार्षिक रूपमा १५ सयदेखि ७ हजारसम्म तिर्नुपर्छ। तिरिने रकम लकरको आकारमा निर्भर हुन्छ ।

बैंकको लकर घरभन्दा बढी सुरक्षित हुन्छ। बैंकको आफ्नो लकर अरूले खोल्न सक्दैनन्। यसलाई विशेष सुरक्षा व्यवस्थाअन्तर्गत राखिएको हुन्छ। आफूलाई आवश्यक परेको बेलामा सामान निकाल्न र राख्न सकिने तथा चोरी–डकैतीको सम्भावना कम हुने भएकाले बहुमूल्य सामग्रीहरू घरको तुलनामा बढी सुरक्षित हुन्छन्।

प्रकाशित: १९ आश्विन २०७३ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App