coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रभावकारी देखिएन वाग्मती सफाइ अभियान

काठमाडौं – वाग्मती सफाइ महाअभियान सुरु भएको आगामी शनिबार तीन सय साता पूरा हुन लाग्दा नदी किनारवासीले स्वच्छतामा त्यति धेरै परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन्। २०७० जेठ ५ गते सुरु भएको वाग्मती सफाइ महाभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ।

सफाइ अभियानले जागरण फैलाए पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले हालेको ढल फुटेर आवागमनमै बाधा पुगेको ललितपुर महानगरपालिका–२ स्थित कालोपुल वरपरका नागरिकको गुनासो छ। वडाध्यक्ष राजेश महर्जन सुन्दरीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा लगिएको ढल फुटेर पुलमुनिको क्षेत्रमा दुर्गन्ध फैलने, पानी परेका बेला नदी किनारको सडकमा पानी जमेर आवागमनमा समस्या आउने गरेको बताउँछन्।

‘माघे झरीले पुलमुनि दह जम्यो, सवारी आवतजावतमा समस्या भयो, वडाका तर्फबाट मैले पटकपटक अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुखलाई भनें, काम हुन सकेको छैन, महानगरपालिकाका प्रमुखले पनि यो समस्या समितिका अधिकारीसँग राखिसक्नु भएको छ, तर पनि अवस्थामा सुधार आउन सकेको छैन,’ उनले भने।

वाग्मती कोरिडोर वर्षौंदेखि कालोपत्र हुन नसक्दा पनि यस क्षेत्रका बासिन्दा हिउँदमा धूलो र वर्षामा हिलो खप्नु परेको छ। नदी किनारका दायाँबायाँ अहिले पनि फोहर र प्लाष्टिक थुप्रिएको देखिन्छ। पहिलेजस्तो नदी किनारमा दुर्गन्धले जान नसकिने अवस्था सफाइ अभियानका कारण नभए पनि अपेक्षा गरे जति सफा हुन नसकेको सृष्टि महिला समूहकी अध्यक्ष पार्वता डंगोलले बताइन्।

नदी किनारमा लगाइएको पर्खाल वर्षामा आउने बाढीको बहाव क्षेत्रभन्दा तल भएका कारण पनि थापाथली पुलमुनिको कुपण्डोलबाट बल्खु पुलसम्मै डुबानमा पर्ने गरेको छ। नदी किनारमा सडक बनाइएको छ तर चक्रपथ आयोजनाले बोलपत्र आह्वान गरेका चार वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन।

गुह्येश्वरीबाट प्रशोधन गरिएको फोहर पानी पशुपतिमुनि वाग्मतीमै हालिएको छ। त्यसलाई अन्यत्र व्यवस्थापन गर्न अधिकार सम्पन्न वाग्मतीले ठोस पहल गरेको छैन। सुन्दरीघाट क्षेत्रमा पनि ढल हाल्दा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको अभियानकर्मी चित्र सुनुवार बताउँछन्।

३६ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइबाट संकलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन्। स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन्।

वाग्मती सफाइ महाभियानको २ सय ९९ औं हप्तामा ललितपुरतिरको शंखमूल क्षेत्रको नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइमा पूर्वसचिव किशोर थापा, पूर्वराजदूत भिक्ट्रीशम्शेर राणा, वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशीष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत ३२ संस्थाका ५०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले बताए।

गुह्येश्वरीमाथिको नदी सफाइको २ सय ६० औं हप्तामा गोकर्णेश्वर नगरपालिका–६ र ८ को सीमास्थित माकालबारी पुल क्षेत्रअघिको नदी किनारमा सफाइ गरियो। दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए।

सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो। मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउनसमेत आह्वान गरेको छ। घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ।

विष्णुमती सफाइको २ सय २६ औं हप्तामा तारकेश्वर नगरपालिका–७ र टोखा नगरपालिका–३ को सीमास्थित धनेश्वर पुल क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जनाए। सुरक्षा निकाय, स्थानीयवासी र अभियानकर्मी गरी १०० को उपस्थिति रहेपनि जनप्रतिनिधिले यस क्षेत्रको सफाइमा बेवास्ता गरेको उहाँको गुनासो छ।

वाग्मतीको तिलगंगा क्षेत्रमा दुई सय हप्ताको सफाइ तिलगंगा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा भयो। तिलगंगा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जनाए। सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो।

सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १ सय ९ औं हप्ताको सफाइ गरियो। एक सयभन्दा बढी अभियानकर्मीको सक्रियतामा भएको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक चित्र सुनुवारले बताए।

माघ २६ गते वाग्मती सफाइ महाभियान सुरु भएको तीन सय हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ। विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनमा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ।

विशेष कार्यक्रमका लागि शहरी विकासमन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहने गरी मूल आयोजक समिति गठन गरिएको जनाइएको छ। संघीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइसम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको जनाइएको छ। (रासस)

प्रकाशित: २० माघ २०७५ ०३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App