७ वैशाख २०८१ शुक्रबार
खेल

मुस्ताङको हिउँमा स्की

स्कीमा उपाधि विजेता शनिबार सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः नागरिक

पोखरा – हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा दोस्रो संस्करणको राष्ट्रियस्तरको स्की प्रतियोगिता गरिएको छ। समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाइको मुक्तिनाथ क्षेत्रमा स्की एसोसिएसनले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो। राष्ट्रियस्तरको दोस्रो संस्करणमा विभिन्न पाँचवटा विधामा प्रतिस्पर्धा भएको थियो।

स्की एसोसिएसनका महासचिव विजय श्रेष्ठका अनुसार अल्पाइन जुनियर र सिनियरमा महिला तथा पुरुषतर्फका चारवटा विधामा प्रतिस्पर्धा भएको थियो। त्यस्तै स्नोबोर्ड विधामा पनि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। शनिबार भएको फाइनलमा स्की अल्पाइन सलालोम जुनियरमा पुरुषतर्फ दीपेश लामा, दिनेशकुमार बोहरा र आशिक गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भए। अल्पाइन सिनियर पुरषतर्फ छिरिङतेन्जिङ शेर्पा, कुङ्गा शेर्पा र शुकदेव थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए।

महिलातर्फ अल्पाइन जुनियरमा प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः लक्ष्मी राई, प्रियंका गुरुङ र पालिसा वज्राचार्यले ओगटेका छन्। त्यस्तै महिला सिनियरतर्फ गौरीमाया तामाङ, संगिता लामा र सजनी लामा प्रथम, द्वितीय र तृतीय भएका छन्। स्नोबोर्ड सलालोम इभेन्ट प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयमा क्रमशः रञ्जन केसी, विकेक तिवारी क्षेत्री र नवीन तामाङले स्थान ओगटेका थिए। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः स्वर्ण, रजत र कांस्य पदक पाएका थिए। श्रेष्ठका अनुसार प्रतिस्पर्धामा १६ पुरुष र १५ जना महिला खेलाडीले भाग लिएका थिए। विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

‘मुस्ताङमा पहिलो पटक यो प्रतियोगिता आयोजना गर्न सफल भएका छौं,’ श्रेष्ठले भने, ‘यो सफलता आयोजकका लागि मात्र नभई सिंगो मुस्ताङका लागि पनि हो। किनकि यसले मुस्ताङमा साहसिक खेल पर्यटक भित्रयाउन मद्दत पुर्‍याउँछ।’ हिउँमा खेल्ने स्की साहसिक खेल भएकोले पनि जहाँकहीं र जहिले पनि खेल्न नसकिने उनले बताए। ‘तीन वर्षको अवधिमा हामी बल्ल प्रतियोगिता गर्न सफल भयांै। हामीले नचाहेर बीचमा प्रतियोगिता नभएको होइन,’ उनले थपे, ‘खेल्न मिल्ने गरी हिमपात नभएपछि खेल हुन सकेन।’ एसोसिएसनले सन् २०१६ मा लाङटाङको केन्जेनमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो।

हिउँमा खेलिने यो खेलमा भाग लिने खेलाडीले हिउँमा चिप्लँदै विभिन्न गेट पार गरेर दूरी पूरा गर्नुपर्छ। मुक्तिनाथ क्षेत्रमा १ सय ५० मिटर दूरीमा खेलाडीले स्पर्धा गरेका थिए। गेट पार गर्दाको तरिकालाई पनि हेरेर निर्णायकले अंक दिने उनले बताए। ‘कम समयमा दूरी पूरा गर्नेले बढी अंक पाउने हुन,’ उनले भने। संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार न्यूनतम ३५० मिटर लामो दूरी हुनुपर्छ। तर स्थान अनुसार दूरीको मापदण्ड तय गरिएको उनको भनाइ थियो। उनका अनुसार स्की अल्पाइनमा विशेष गरी १९५ सेन्टिमिटरको स्केट प्रयोग गरिन्छ।
अघिल्लो शुक्रबारदेखि हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रमा निकै नै बाक्लो हिमपात भएको थियो। मुक्तिनाथ क्षेत्र पुग्ने पर्यटक लिएर गएका सवारी पार्किङ गर्ने ठाउँमा यो पटक स्की खेलाइएको थियो। केही समथर भाग भएकाले पनि स्की खेलाउन सम्भव भएको उनले बताए। ‘हामीलाई यहाँसम्म आउन निकै नै कठिन थियो। हिँडेर र घोडामा जसोतसो आएर खेल पूरा गरेका छौ,’  श्रेष्ठले भने, ‘हिउँ नपर्दा पनि प्रतियोगिता गर्न सम्भव हुँदैन।’

यो पटक बाक्लो हिमपात भएपछि तीनदिनको तयारीमा प्रतियोगिता गर्न टोली मुस्ताङ उक्लेको श्रेष्ठले बताए नेपालमा लाङटाङ बाहेक माथिल्लो मनाङ, मुस्ताङ र दोलखाको कालिन्चोकमा पनि स्की खेलाउन सकिन्छ।

प्रकाशित: २० माघ २०७५ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App